close

अन्तरनगर बुद्धिचाल प्रतियोगिता गर्दै भक्तपुर नगरपालिका 

अन्तरनगर बुद्धिचाल प्रतियोगिता गर्दै भक्तपुर नगरपालिका 

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको भक्तपुर नगरपालिकाले २९ फागुनदेखि ३ चैतसम्म अन्तरनगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । हरेक वर्ष खेल आयोजना गर्दै आएको नगरपालिकाले यो वर्ष २६ लाख रुपैयाँको बजेटमा बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो । 

 

सहिद दिवस अवसरमा अन्तरनगर बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने तयारी भएको शुक्रबार नगरपालिकाले आयोजना गरेको पत्रकार भेटघाटमा नगरप्रमुख सुनील प्रजापतिले बताए ।

 

‘बुद्धिचाल खेलमा भक्तपुर देशकै अग्रणी जिल्लामध्ये पर्दछ । देशका १० जना अन्तर्राष्ट्रिय आर्बिटरमध्ये भक्तपुरका २ जना छन् । राष्ट्रिय आर्बिटरको लाइसेन्स प्राप्त देशभरिका ५० जनामध्ये भक्तपुरका मात्र १० जना छन् । १९ वर्षमुनिको राष्ट्रिय उत्कृष्ट (राष्ट्रिय च्याम्पियन) खेलाडी पनि भक्तपुरकै छन् । भक्तपुरका खेलाडी १२ वर्षमुनिको, १६ वर्षमुनिको र १९ वर्षमुनिको समूहमा नेपाल च्याम्पियन भइसके,’ नगरप्रमुख प्रजापतिले भने ।

 

नगरप्रमुख प्रजापतिले भक्तपुरको मौलिक खेललाई जीवन्त तुल्याउन स्थानीय पाठ्यक्रममा समावेश गरी नयाँ पुस्ताका विद्यार्थीमाझ पठनपाठन गराइरहेको जानकारी दिए । सीमित ठाउँ भएका कारण खेलकुदका लागि खेलमैदान अभाव रहेको हुँदा बुद्धिचाल प्रतियोगिताका खेल भक्तपुरको महेश्वरी पार्टी प्यालेसमा सञ्चालन हुने उनले बताए ।

 

पत्रकार भेटमा भक्तपुरको वडा नम्बर १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समिति संयोजक श्यामकृष्ण खत्रीले नगरपालिकाको आयोजनामा हुने अन्तरनगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे जानकारी दिए ।

 

वडा नम्बर ७ का वडाध्यक्ष, वडा नम्बर २ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका सदस्यद्वय उकेश कवाँ र हरिप्रसाद वासुकलाले खेलकुदले व्यक्तित्व विकास हुने हुँदा खेलाडीलाई उत्साहित गर्न नगरपालिकाले सबै खेललाई प्राथमिकतामा राखी प्रतियोगिता आयोजना गर्दै आएको बताए ।

 

नगरपालिकाका अनुसार सो प्रतियोगितामा २२ वटा बढी नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रो हुने लाई ५० हजार रुपैयाँका साथै प्रत्येक बोर्डको उत्कृष्ट खेलाडीलाई प्रतिखेलाडी ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

नगरपालिकाले अन्तरनगर विद्यालय खेलकुद प्रतियोगिता पनि गर्ने भएको छ । १० वटा विधा १० वडा वडामा खेलाइने नगरपालिकाले जनाएको हो ।