close

शैक्षिक ऋणले उज्यालिएको खुसी

शैक्षिक ऋणले उज्यालिएको खुसी

Trulli
ADVERTISEMENT

भक्तपुर- उमेश द्योपाला पढाइमा अब्बल विद्यार्थी हुन् । कक्षामा टप नम्बर ल्याउन सफल उनी लिवालीस्थित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्दै छन् । कक्षा १२ मा राम्रो नम्बर आएसँगै उनमा इन्जिनियर बन्ने इच्छा पलायो । तर, परिवारमा आर्थिक अभाव । 

 

जसोतसो भर्ना त गरे तर पछि कलेजमा शुल्क तिर्न समस्या भयो । पढाइमा अब्बल भएकाले कलेजले छात्रवृत्तिको समेत व्यवस्था गरिदियो । तर, पैसा अपुग । दिउँसो आफू पढ्ने अनि बाँकी समय अरुलाई ट्युसन पढाउन थाले । त्यसले आर्थिक समस्यामा केही राहत मिल्यो तर पढाइलाई समय दिन गाह्रो ।

 

कलेजका प्राचार्य ई. सुनील दुवालले नगरपालिकाले उपलब्ध गराउने शैक्षिक कर्जाबारे जानकारी दिए । साथै, नगरपालिकाको विज्ञापन थाहा पाए । त्यसपछि व्यासीस्थित वडा कार्यालय गई शैक्षिक कर्जाका लागि आवेदन दिए । 

 

कर्जा पाउने-नपाउने अन्योलमा छन् । कर्जा पाए आफ्नो पढाइमा थप सुधार हुने उनको विश्वास छ । नगरपालिकाको शैक्षिक कर्जाले विद्यार्थीलाई पढ्न थप ऊर्जा मिलेको कलेजका प्राचार्य दुवाल बताउँछन् । 

 

‘शैक्षिक कर्जासँगै उमेशको पढाइमा सुधार भएको छ । आजभोलि उनी अरू काममा भन्दा पढाइमै ध्यान दिन्छन्,’ प्राचार्य दुवालले भने । 

 

पहिले पैसा नभएको कारण पढ्न नपाएका विद्यार्थी पनि थिए । शैक्षिक ऋण आएसँगै नगरभित्रका स्थानीयमा समस्या हटेपछि सबैले ढुक्कका साथ पढ्न सकेको उनको अनुभव छ । 

 

उमेशसँगै एलिस द्योपाला पनि शैक्षिक ऋण पाएसँगै दंग छन् । सोही कलेजमा स्नातक तहमा अध्ययनरत उनी जसोतसो ऋण खोजेर भर्ना भए । तर, बाकी रकम तिर्न समस्या । ‘कर्जाका लागि आवेदन दिएको छु । अब हेरुँ के हुन्छ,’ उनले भने, ‘परिहाल्यो भने पछि कमाएर जसरी भए पनि तिर्न सकिहाल्छु ।’

 

बैंकको तुलनामा सस्तो ब्याजदरमा ऋण लिएर पढ्न पाउने भएपछि उनीहरूजस्तै अरू स्थानीय पनि खुसी छन् । अब पैसा छैन भनी पढ्न नपाउने बाध्यतासमेत अन्त्य भएको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकारको प्रयोग गरी नगरपालिकाको चौथो नगरसभा २०७५ बाट शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ जारी गरेको हो । 

 

आर्थिक समस्याका कारण कुनै पनि जेहनेदार विद्यार्थीले उच्च शिक्षा हासिल हुनबाट वञ्चित हुन नपरोस् भनी उक्त व्यवस्था ल्याइएको नगरप्रमुख सुनील प्रजापतिले जानकारी दिए । ‘शैक्षिक ऋणले विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर मात्रै होइन, काम गर्न हौसलासमेत पाउनेछन्,’ उनले भने, ‘ऋणमा पर्दा विद्यार्थीमा जिम्मेवारी बोध हुनेछ । पढाइ सकेपछि सक्षम हुन कामको खोजीसमेत गर्नेछ ।’


के हो शैक्षिक कर्जा 


भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहनेदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजदरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययनका लागि नगरपालिकामार्फत दिइने सुविधालाई शैक्षिक ऋण वा कर्जा भनिन्छ ।

 

नगरपालिकाको चौथो नगरसभा २०७५ बाट भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ पारित भएसँगै उक्त निर्देशिका लागू भएको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नगरले उक्त व्यवस्था ल्याएको हो । 

 

यस्तो छ शैक्षिक ऋणसम्बन्धी व्यवस्था र प्रक्रिया

 

भक्तपुर नगरभित्र स्थायी रूपमा बसोबास गर्ने विपन्न विद्यार्थीले नगरपालिकामार्फत ५ लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । ऋण प्राप्त गर्ने विद्यार्थीले अध्ययन गर्ने विषय संकाय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा मान्यता प्राप्त हुनुपर्नेछ ।

 

शैक्षिक ऋणका लागि एसईई वा सो तहभन्दा माथिका शैक्षिक तहलाई मात्रै दिइनेछ । ऋण पाउन सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिनुपर्नेछ । सम्बन्धित वडा समितिले शैक्षिक ऋणका लागि नगरपालिकासमक्ष सिफारिस गर्नेछ ।

नगरपालिकामा निवेदन दिएपछि प्रमुखले ऋण स्वीकृति गर्नेछ भने आर्थिक प्रशासन शाखाबाट ऋण रकम उपलब्ध गराइनेछ । 

 

शैक्षिक ऋणका सीमा र सर्त 


प्रत्येक विद्यार्थीलाई नगरपालिकामार्फत ५ लाख रुपैयाँसम्म ऋण प्रदान गरिनेछ । वार्षिक ६ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने उक्त ऋण परिवारको १ सदस्यले मात्र प्राप्त गर्न सक्नेछन् ।

 

नगरका १० वटा वडाका प्रत्येक वडाबाट १० जना विद्यार्थीलाई शैक्षिक प्रदान हुने र रकम दुरुपयोग भएको अवस्थामा ऋण रोक्का राखी कारबाहीसमेत गर्ने व्यवस्था नगरपालिकाको कार्यविधिमा उल्लेख छ ।

 

तर, विद्यार्थीको खातामा नभई सम्बन्धित कलेजकै खातामा ऋण उपलब्ध गराइने हुँदा दुरुपयोगको सम्भावना नरहेको नगरपालिकाको विश्वास छ । 

 

सावाँ-ब्याज असुली प्रक्रिया

 

विद्यार्थीको शैक्षिक क्यालेन्डरको अन्तिम परीक्षा दिएको मितिले ऋण रकमको क्रमशः प्रथम वर्ष कुल ऋणको २५ प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत, तेस्रो वर्षमा ७५ प्रतिशत र चौथो वर्ष शतप्रतिशत रकम फिर्ता गर्नुपर्ने व्यवस्था छ । 

 

सो समयावधिमा ऋण चुक्ता गर्न नसकेको अवस्थामा सावाँ-ब्याजको ५ प्रतिशत हर्जना गरी विद्यार्थी र निजको साक्षी बसेका एकापरिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ । साथै, सरकारी बाँकीसरह बाँकी असुलउपर गरिनेछ ।