close

अन्नपूर्णको गाउँसभा: गाउँपालिका र वडा विभाजनको प्रस्ताव 

अन्नपूर्णको गाउँसभा: गाउँपालिका र वडा विभाजनको प्रस्ताव 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभामा पालिका र वडा विभाजन गर्ने प्रस्ताव पेस भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार भएको सभामा उपाध्यक्ष केशमाया मगरले पालिका र वडा विभाजनको प्रस्ताव पेस गरेकी हुन् ।

 

हिमाली जिल्लाको मापदण्डअनुसार नागरिकको सेवामा सहज पहुँच स्थापित र विकास निर्माणलाई प्रभावकारी बनाउन पालिका र वडा विभाजन गर्ने प्रस्ताव गरिएको अध्यक्ष डमबहादुर पुनले बताए । 

 

अन्नपूर्णको हालको वडा नम्बर ५ र ६ को केही भागसहित वडा नम्बर ७ र ८ लाई पुनहिल गाउँपालिका कायम गर्ने र हालको वडा नम्बर ५, ६ र ७ लाई विभाजन गरी २-२ वटा वडा बनाउन सिफारिस गर्ने प्रस्ताव गरिएको थियो । 

 

अन्नपूर्णको वडा नम्बर ५, ६, ७ र ८ मा क्रमशः साविक शिख, घार, हिस्तान र राम्चे गाविस पर्छन् । यसैगरी वडा नम्बर १, २, ३ र ४ लाई अन्नपूर्ण नै कायम गर्ने प्रस्ताव पेस गरिएको थियो ।

 

१ देखि ४ नम्बर वडा साविक दोवा, भुरुङ-तातोपानी, दाना र नारच्याङ गाविस पर्छन् । सभाका सदस्यहरूले पालिका र वडा विभाजन गर्ने प्रस्ताव सकारात्मक भए पनि बस्ती स्तरमा छलफल गरेर नागरिकको सुझावअनुसार निर्णय लिनुपर्ने मत राखेका थिए ।

 

सदस्यहरूको रायअनुसार अर्को सभाबाट निर्णय लिइने अध्यक्ष पुनले बताए । 

 

सभाले चालू आर्थिक वर्षको योजना तथा बजेट संशोधन, करका दर संशोधन, शिक्षा र वातावरणसम्बन्धी विधेयक पारित गरेको छ । भौतिक पूर्वाधार समिति संयोजक कृष्णप्रसाद बरुवालले चालू आर्थिक वर्षको योजना संशोधन र अल्या बजेट बाँडफाँटसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

 

१ करोड ६ लाख २३ हजार ५ सय रुपैयाँ बजेटका ३६ वटा योजना संशोधन भएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा खर्च हुन नसकेको २ करोड ४३ लाख १० हजार रुपैयाँ बजेट २८ वटा योजना तथा कार्यक्रममा विनियोजन भएको छ । 

 

सबैभन्दा बढी जनप्रतिनिधिको बैठक भत्ताका लागि ४० लाख विनियोजन भएको छ । सुनारी मोटरबाटो मर्मतमा १० लाख, कैलाश माविमा ग्याबिन तथा सुक्खा पर्खाल बनाउन १० लाख, ठूलोबगर–कटुञ्जे सडकलाई १० लाख, तातोपानी कुण्ड व्यवस्थापनमा ५ लाख, कृषि सामग्री तथा बोयर बोका खरिदमा ५ लाख, काभ्रे कृषि सडकलाई ८ लाख रुपैयाँ विनियोजन भएको छ । 

 

मनसुनजन्य विपद् प्रभावितको निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि साढे १० लाख, प्रभा माविको छात्रावास भवन निर्माणमा १० लाख, रुप्सेसंगम युवा क्लब काभ्रेको खेलमैदान निर्माणका लागि १२ लाख, ठाडोस्वाँरा टुलेन नदी किनारमा ग्याबिन जाली निर्माण गर्न १० लाख, नारच्याङ झरना जग सम्याउने तथा पार्किङ निर्माण गर्न १० लाख रुपैयाँ विनियोजन भएको छ । 

 

यस्तै, घारमा सभाहल निर्माण गर्न २० लाख, डोठे-रिमा सडकलाई १३ लाख, मथेनी-ठूलाखर्क सडकलाई ७ लाख, राम्चे खेलमैदानलाई १४ लाख, दोभान सडकलाई ६ लाख, पाउद्वार माविको पूर्वाधार निर्माणलाई साढे ८ लाख, स्वाँत पुल पहिरो नियन्त्रण योजनालाई ४ लाख ८४ हजार र शैक्षिक प्रोफाइल बनाउन ६ लाख रुपैयाँ विनियोजन भएको छ । 

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना र बजेट संशोधन गरेको गाउँसभाले आन्तरिक आम्दानीको दर संशोधन गरेको छ । कोरोनाका कारण तातोपानीका कुण्ड र पुनहिल प्रवेश शुल्कको आम्दानी प्रभावित भएपछि आम्दानीको दर संशोधन गर्ने प्रस्ताव पारित गरेको हो । 

 

तातोपानीको प्रवेश शुल्कबाट १५ लाख आम्दानी हुने अनुमान गरिएकामा संशोधन गरेर १ लाख रुपैयाँ, १५ लाख आम्दानी हुने अनुमान गरिएको घोरेपानी पुनहिल पर्यटक प्रवेश शुल्कबाट ५० हजार रुपैयाँ, डेढ लाख आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी कुण्डबाट १५ हजार रुपैयाँ आम्दानी हुने गरी करको दर कायम गरिएको छ ।

 

१ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको पाउद्वार तातोपानी कुण्डबाट २० हजार रुपैयाँ र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट ५ हजार रुपैयाँ आम्दानी हुने गरी करको दर कायम भएको छ । 

 

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीले पेस गरेको अन्नपूर्णको शिक्षा विधेयक र वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयक छलफलपछि पारित भएको छ । शिक्षा विधेयकमा आधारभूत र माध्यमिक तहसम्मका विद्यालय सञ्चालनसम्बन्धी व्यवस्था छ । 


वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विधेयकले पूर्वाधार आयोजना सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने र फोहोर व्यवस्थापनको विषयलाई समेटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए । 

 

छलफलमा गाउँसभा सदस्यहरू रवीन्द्र गर्बुजा, बुद्धि पुन, रामबहादुर खड्का, दिलीप गर्बुजा, ओमप्रकाश फगामी, टीका घताने, गमप्रसाद फगामीलगायत सहभागी थिए ।