close

अन्नपूर्णले बनायो शिख माविमा छात्रावास 

अन्नपूर्णले बनायो शिख माविमा छात्रावास 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थित शिख नमुना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन लक्ष्यभन्दा १ महिनाअघि नै सकिएको हो । 

 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको साझेदारीमा १० कोठे छात्रावास भवन निर्माण गर्न गत ५ असार २०७७ मा उत्तरगंगा निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । ५ फागुन २०७७ सम्म म्याद भए पनि २५ माघमै भवन निर्माण सकेर गाउँपालिकालाई हस्तान्तरण गरिएको उत्तरगंगा निर्माण सेवाका सञ्चालक कृष्ण बरुवालले बताए । 

 

‘कोरोनाका कारण सबै आयोजनाको ठेक्का सम्झौताको म्याद ६ महिना थपिए पनि शिख माविको भवन निर्धारित समयअघि नै सकेर हस्तान्तरण गरेका छौँ’, उनले भने, ‘कोरोनाको जोखिम, लकडाउन, बाढीपहिरोको असहज अवस्थाको बाबजुद पर्याप्त मजदुर, उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर भवन निर्माण गरेका हौँ ।’

 

१ तले भवनमा १० वटा कोठा र ७ वटा शौचालय तथा शयनकक्ष छन् । १ करोड १० लाख लागत अनुमान गरिएको भवन बनाउन ८१ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । दोस्रो चरणमा अर्को छात्रावास भवन बनाउन १ करोड ९२ लाख रुपैयाँ लागत अनुमान गरेर आह्वान गरिएको ठेक्का ३०.०२ प्रतिशत घटेर ढोरपाटन निर्माण सेवाले पाएको छ ।

 

गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले ३ तले र ३० कोठे भवन बनाउन लागिएको बताए । कम कबोलेको ढोरपाटन निर्माण सेवालाई ठेक्का सम्झौताका लागि बोलाइएको गाउँपालिकाले जनाएको छ । २०७७ असार मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 


विकट क्षेत्रका बालबालिकालाई विद्यालयमै खानेबस्ने सविधासहित अध्ययनको व्यवस्था मिलाउने सामाजिक विकास मन्त्रालयको अवधारणाअनुसार आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गत वर्ष ६० लाख पठाएको मन्त्रालयले आवासीय विद्यालयको छात्रावास बनाउन यस वर्ष २ करोड रुपैयाँ पठाएको थियो । छात्रावासमा घर टाढा भएका विद्यार्थीलाई खानेबस्ने सुविधा हुनेछ । कक्षा १२ सम्मको पठनपाठन हुने शिख माविमा हाल १८९ जना विद्यार्थी छन् । 

 

आवास सुविधापछि घर टाढा भएका विद्यार्थीलाई सुविधा पुग्नुका साथै कम विद्यार्थी संख्या भएका विद्यालय गाभ्न सकिने प्रधानाध्यापक केदार कार्कीले बताए । नयाँ छात्रावास भवन केही दिनमै प्रयोगमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।