close

५ करोड खर्चिएर बनाएको सडक ३ दिनमै चिरा पर्‍यो

ठेकेदार भन्छन्: टिपर चलाएपछि किन नउप्कियोस् पिच ?

५ करोड खर्चिएर बनाएको सडक ३ दिनमै चिरा पर्‍यो

ठेकेदार भन्छन्: टिपर चलाएपछि किन नउप्कियोस् पिच ?

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुरको ताथली नाला सडकमा गरिएको कालोपत्रे ३ दिनमै चिरा परेको छ । ब्राइट तेज स्लेट जेभीले ठेक्का पाएको उक्त सडक कालोपत्रे गरेको ३ दिनमै चिरा परेको हो ।

 

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ९ मा पर्ने उक्त सडक खण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहँदै आएको छ ।च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि चोकन्तिला सडक खण्डका ठाउँ–ठाउँमा गरिएको पिच बिग्रन थालेको हो ।

 

२०१५ मा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उक्त सडकको शिलान्यास गरेका थिए । ५ दशकसम्म कच्ची बाटोको रूपमा रहेको सडकलाई ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना क्षेत्र विकास योजना भक्तपुरले एसियाली विकास बैंक, ओएफआइडी, ओपेक र नेपाल सरकारको संयुक्त लगानीमा पुनर्निर्माण गरेको थियो ।

 

करिब ५ किमि ८ सय मिटरको यो सडक सन् २०१२ मा ६ करोड ३७ लाख ९४ हजार ४ सय ९१ रुपैयाँमा दातृ निकायको सहयोगबाट निर्माण सकिएको थियो ।

 

स्तरोन्नतिपूर्व करिब ११ फिट चौडाइ रहेको कच्ची सडकलाई साढे ५ मिटर चौडाइमा विस्तार गरी कालोपत्रे गरिएको थियो । नालीसहित २२ फिट चौडाइको यो सडक निर्माण सकिएको ३ महिनामै कालोपत्रे उप्किन थालेपछि विवाद भएको थियो । 

 

भक्तपुरको च्याम्हासिंहबाट ताथली हुँदै नाला पुग्ने सडकका अधिकांश खण्ड जीर्ण भएपछि डिभिजन सडकले बर्सेनि खाल्डाखुल्डी टाल्ने काम गर्दै आएको थियो । 

 

सडकमा अत्यधिक धुलो उड्न थालेपछि निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले सडक अवरुद्धसमेत गरेका थिए । स्थानीयको दबाबको केही दिनमै निर्माण कम्पनीले सडक निर्माण थालेको थियो ।

 

तर, सडक कालोपत्रे गरेको ३ दिनमै पुनः उप्किन थालेको छ । ठेकेदार कम्पनीको बदमासीले सडक बनाएको केही दिनमै बिग्रिएको स्थानीय बताउँछन् ।

 

‘स्थानीयको दबाबपछि सडक स्तरोन्नतिको काम अघि बढाएको ठेकेदारले सडक कालोपत्रेअन्तर्गत गरेको प्रिमिक्स पिच गतिलो नहुँदा ३ दिन पनि टिक्न सकेन,’ स्थानीय केशरी प्रजापतिले भनिन्, ‘मंगलबार मात्र गरिएको पिच अहिले यस्तो भएको छ । ठेकेदारले देखाउन मात्र काम गरेको देखियो ।’ 

 

पिचअन्नतर्गत चोकन्तिलाबाट ताथली आउने क्रममा साखः मेटल इन्डस्ट्रिजसँगैको मोड चिरा–चिरा पर्न थालेको छ । ३ दिनअघि मात्र गरिएको पिचमा ३ वटा औँला छिर्ने चिरा परिसकेको छ ।

 

यसैगरी सोही सडक खण्डअन्तर्गतको पाँगो खानीमा पनि चिरा–चिरा देखिन थालेको छ । पाँगो खानीको सडकको भागमा चिरा देखिन थालेपछि ठेकेदार कम्पनीले हतारहतार सो पिचलाई उप्काएर टालटुलको काम थालेको छ ।


कालोपत्रे चिरा पर्न थालेपछि आरोप– प्रत्यारोप

 

कालोपत्रेमा निर्माण कम्पनीको लापरबाहीका कारण सडक बिग्रिएको स्थानीय बताउँछन् । ठेकेदारले काम गरिरहँदा निगरानीका लागि डिभिजन सडक कार्यालयका प्राविधिक पनि रहनुपर्नेमा कहिलेकाहीँ मात्र झुल्किने गरेको उनीहरूले बताए ।

 

ठेकेदार कम्पनीका साइट सुपरभाइजर जीवन श्रेष्ठले स्थानीयकै कारण पिचमा चिरा परेको बताए । उनले भने, ‘हिजो भर्खर मात्र पिच गरिएको हो । यो साता दिनमा मात्रै सेट हुने हो । गाडी गुडेको छ । बेलुका टिपर चल्छन् । अनि कसरी पिच नउप्कियोस् ?’  सडक चिरा पर्नुको कारण टिपर नै रहेको दाबी उनको छ । चिरा परेको भागलाई मिलाउने काम भइरहेको उनले बताए ।

 

ठेकेदार कम्पनीका अविनाश केसीले काम गर्ने समयमा सडक डिभिजन कार्यालयका प्राविधिक, वडा समितिका प्रतिनीधि हुनुपर्ने पनि बताए । ‘गुणस्तर हेर्न पनि सडकका प्राविधिक हुनु जरुरी छ । ठेकेदारको जिम्मामा मात्र छाडेर हुन्न । काम हेर्न सडक डिभिजनको मान्छे १ जना हुनैपर्छ ।’

 

५ करोड बालुवामा पानी 

 

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार सडकको स्तरोन्नतिका लागि ५ करोड रुपैयाँ गत वर्ष नै विनियोजन भइसकेको छ । ठेकेदारमार्फत उक्त सडकको स्तरोउन्नति हुँदै आएको थियो ।

 

डिभिजन कार्यालयका इञ्जिनियर आश्मा न्यौपानेले बिग्रेको भाग कोतर्ने, ठाउँ–ठाउँमा टालटुल गरी नयाँ पिच गर्ने, आवश्यक ठाउँमा ढलान गर्ने काम हुने जानकारी दिइन् ।

 

३ दिन नबित्दै सडकमा चिरा परेपछि त्यसको विस्तृत अध्ययन गर्ने ठेकेदार कम्पनीका केसीले बताए । उनले भने, तापक्रम नपुग्दा पनि त्यस्तो भएको हुन सक्छ । रोलरले पेलेको नमिल्दा पनि हुन सक्छ । पेल्ने समय भार परेपछि नमिलेको पनि हुन सक्छ । कुनै ठाउँमा जमिनअनुसार पनि हुने गर्छ ।’


सडक चिरा पर्दै गएको भए बनाइदिने र जिम्मा आफूहरूको उनको भनाइ छ । त्यसका लागि माटो हेरेपछि प्राविधिकसँग सल्लाह गरी समाधान निकालिने उनले दाबी गरे ।