close

हलेसीमा भत्ता, वडाअध्यक्ष हटाउन यस्तो चर्चा (भिडियो खबर)

हलेसीमा भत्ता, वडाअध्यक्ष हटाउन यस्तो चर्चा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाद्वारा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु, २ हजार ९४५ लाभग्राहीले भत्ता पाउने  । 

 

२) स्याङ्जाको भीरकोट नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न, कार्यक्रममा नगरबासीको गुनासो नै गुनासो । 

 

३) गोरखाको धार्चे गाउँपालिकाले भेडा÷भेडी गोठालालाई दियो रेडियो उपहार, रेडियो वितरणका लागि पालिकाद्वारा २ लाख रूपैयाँ बजेट बिनियोजन ।

 

४) महोत्तरीको गौशाला नगरपालिकाको एक विद्यालयमा कार्यरत शिक्षकलाई वडा नम्बर ९ का वडा सचिव उमाकान्त महतोले हातपातको प्रयास गरेपछि शिक्षक आन्दोलित, नगरभरका विद्यालयमा पठनपाठन ठप्प । 

 

५) जुम्लाको तिला गाउँपालिका–९ का आगलागी पीडितलाई राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयद्वारा पालिकाका अध्यक्ष रतननाथ योगीलाई पाल हस्तान्तरण, अग्नि पीडितलाई बस्न र सामान राख्न मद्दत मिल्ने ।

 

६) बाँकेको राप्ती सोनारी गाउँपालिकाको आयोजनामा महिला जनप्रतिनिधिका लागि महिलासँग सम्बन्धित परिवर्तित कानूनबारे अन्तरक्रिया सम्पन्न, तालिममा ९ वटै वडाका महिला जनप्रतिनिधिको सहभागिता ।

 

७) काभ्रेको पनौती नगरपालिकाद्वारा ठाडोबाटो नागी सडक ढलान कार्यको खर्च विवरण सार्वजनिक, सडक निर्माणमा पालिकाको प्राथमिकता ।


८) बैतडीको सिगास गाउँपालिकाका विभिन्न विद्यालयमा निजी स्रोतमा कार्यरत स्वयंसेवक शिक्षकलाई पालिकाले गत साउनदेखि तलब दिएन, शिक्षकद्वारा आन्दोलन चर्काउने चेतावनी ।


९) कोरोना संक्रमणको दोस्रो लहर आएसँगै नगरबासी र गाउँबासीमा स्वास्थ्य मापदण्ड पालना गर्न देशभरका स्थानीयतहद्वारा आग्रह, बालबालिका उच्च जोखिममा ।


१०) रूपन्देहीको सैनामैना नगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड तथा चौथो नगर स्तरीय खेलकुद प्रतियोगिता जारी, प्रतियोगिता ३१ चैतसम्म चल्ने ।


११) एमाले प्रवेश गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष सुरेशकुमार थापामाथि माओवादी केन्द्रले सोध्यो २४ घन्टे स्पष्टीकरण, पार्टीमा फिर्ता नभए पदमुक्त भएको जानकारी निर्वाचन आयोगलाई गराइने चेतावनी  । 


१२) लमजुङको बेँसीसहर नगरपालिका वडा नम्बर १ उदीपुरका सबै घरधुरीमा पुग्यो खानेपानीको सुविधा, ६ सय २३ घरधुरीमा खानेपानी छ्यालब्याल । 

 

१३)अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाद्वारा तरकारी पकेट विकास कार्यक्रम अन्र्तगत तरकारी खेती प्रविधि तालिम सम्पन्न, तालिममा कृषि सहकारी सस्थाका सदस्यहरुको सहभागिता । 


१४) स्याङ्जाको वालिङ नगरपालिका र डडेलधुराको अमरगढी नगरपालिकाका जनप्रतिनिधिबीच डडेलधुरामा भेटघाट, जनप्रतिनिधिबीच दुई पालिकाले गरेका असल अध्यासका बारेमा जानकारी ।

 

१५) रुकुमपूर्वको सिस्ने गाउँपालिकाको वडा नम्बर २ ले नागरिकलाई घरघरमा पुगेर दिन थाल्यो सेवा,  स्थानीय दंग ।
 


१६) सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ का विद्यालयमा वडा कार्यालयद्वारा खेलकुदका सामग्री वितरण,  सामग्री पाउँदा विद्यार्थी हर्षित।


१७) खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले दियो स्थायी शिक्षकलाई क्षमता विकास सम्वन्धि तालिम, तालिम ३० चैतमा सकिने । 


१८) पर्वतको महाशिला गाँउपालिकाको आयोजनामा शिक्षकलाई बालकक्षा व्यवस्थापनका विषयमा दुईदिने तालिम सुरु, तालिममा शिक्षक सहित अन्य सरोकारवालाको सहभागिता  ।


१९) सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई बैंकमा खाता खोल्न ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आग्रह, वैशाख मसान्तसम्ममा पनि खाता नखोले भत्ता फिर्ता पठाउने पालिकाको चेतावनी ।

 

२०) धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि भएको २ दिने पुनतार्जगी तालिम सम्पन्न ।