close

बुटवल उपमहानगरका विद्यालय: थर्मलगन, मास्क र स्यानिटाइजर अनिवार्य

बुटवल उपमहानगरका विद्यालय: थर्मलगन, मास्क र स्यानिटाइजर अनिवार्य

Trulli
ADVERTISEMENT

रूपन्देही- केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरले जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ ।

 

कोरोनाको पुरानै र नयाँ प्रजातिको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो ।

 

जोखिममा रहेको समुदायलाई पहिल्यै सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर निर्देशन गरिएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

 

बालबालिकालाई जोगाउने र उनीहरूलाई परिवार हुँदै समुदायमा सन्देशवाहकका रूपमा परिचालन गर्ने गरी योजना बनाइएको प्रमुख सुवेदीले बताए ।

 

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालय, शिक्षक र अभिभावकसमेतलाई अलग-अलग मापदण्ड बनाएर निर्देशन जारी गरिएको जानकारी दिए ।

 

उपमहानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा लागू हुने गरी मापदण्ड बनाइएको उनको भनाइ छ । विद्यालय प्रवेश र बसमा चढ्नुअघि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, सकेसम्म बालबालिकालाई बसमा नचढाई अभिभावकले विद्यालय पुर्‍याउने र विद्यालय परिसरमा साबुनपानीको व्यवस्था मिलाउनुपर्नेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न निर्देश गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

 

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिए पिसिआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै, कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाए सम्बन्धित वडा कार्यालयमार्फत समन्वय गर्ने गरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ ।

 

उपमहानगरले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिबर क्लिनिकदेखि कोरोना विशेष अस्पताल नै सञ्चालन गरेको छ ।

 

बुटवलमा निर्माण भएको आईसियुसहितको कोरोना विशेष अस्पताल मुलुककै व्यवस्थित र नमुना मानिएको थियो । छोटो अवधिमै अस्पताल निर्माण, सबै वडामा संयन्त्र गठन गरेर कोरोनाविरोधी अभियान सञ्चालन गर्नेमा बुटवल पहिलो पालिका बनेको थियो । 

 

पहिलाकै संयन्त्र र संस्थालाई अभियानमा जोड्ने गरी नयाँ मापदण्ड बनाइएको उपमहानगर उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बताइन् ।

 

बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजापानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातर कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छाड्न आग्रह गरिएको छ ।

 

त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा ३० सम्म विद्यार्थी र एउटा बेञ्चमा २ जना मात्र विद्यार्थी राख्न उपमहानगरले आग्रह गरेको छ ।

 

जेठमा तोकिएको वार्षिक परीक्षा जुनसुकै बेला गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन निर्देश गरेको छ । यो समय शैक्षिक भ्रमणलगायत कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।

 

संक्रमितलाई घरदैलोमा भेट्दै नगर प्रमुख 

 

बुटवलबाट सुरु भएको कोरोना संक्रमितको मनोबल बढाउने अभियान मुलुकमै नमुना हो । यसैअन्तर्गत बुटवल वडा नम्बर १२ मा रहेको ग्लोबल पिसपार्कमा आयुर्वेद ओखती र स्वास्थ्यलाभ कामना-पत्र लिएर उपमहानगर प्रमुख शिवराज सुवेदी पुगेका छन् । 

 

उनी कोरोना संक्रमितको घर-घर स्वास्थ्यलाभको कार्ड र आयुर्वेद औषधी लिएर हिँडेका हुन् । सुवेदीसँगै वडाध्यक्ष दुर्गा सुवेदी र बुटवलका शिक्षा, जनसंख्या एवं स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल र स्वास्थ्यकर्मी सहभागी छन् । 

 

बुटवल वडा नम्बर १२ मा अवस्थित पिसपार्कमा ६ जना संक्रमित आइसोलेसनमा रहेको उपमहानगरले जनाएको छ ।