close

स्थानीय तहले शिक्षक दरबन्दी मिलान गर्नैपर्ने परिपत्र

स्थानीय तहले शिक्षक दरबन्दी मिलान गर्नैपर्ने परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी मिलानको कार्य सम्पन्न नभए खुद पुल दरबन्दीका शिक्षको तलबभत्ता सम्बन्धित स्थानीय तहले नै बेहोर्नुपर्ने परिपत्र गरेको छ ।

 

देशभरका सबै स्थानीय तहलाई परिपत्र गर्दै केन्द्रले दरबन्दी मिलानको कार्य सम्पन्न गर्न स्थानीय तहको ढिलाइप्रति संकेत गर्दै मिलानको कार्य सम्पन्न नभए खुद पुल दरबन्दीका शिक्षकको तलबभत्ता सम्बन्धित स्थानीय तहले बेहोर्नुपर्ने अवस्था सम्झाएको छ ।


केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई एकसाथ परिपत्र गर्दै स्थानीय तहले अझै पनि दरबन्दी मिलान पूरा नगरेको भन्दै खुद पुल दरबन्दी रहेका स्थानीय तहमा खुद पुल दरबन्दी बराबरको संख्यामा शिक्षक तलबभत्ता निकासा नगरिएकोसमेत जनाएका छन् । 


उनले त्यही कारण दरबन्दी मिलान कार्य यथाशक्य सम्पन्न गर्न र नभए खुल पुल दरबन्दीका शिक्षकहरूको तलबभत्ता आफैं व्यवस्था गर्नेतर्फ अग्रसर हुन स्थानीय तहलाई अनुरोध गरेका छन् । दरबन्दीमा नरहेका तर जनशक्ति व्यवस्थापनका क्रममा सम्बन्धित विद्यालयमा खटाइएका शिक्षकको दरबन्दी अवस्थालाई खुल पुल दरबन्दी भनिन्छ ।

 

पुल दरबन्दीमा माथिल्लो तहको अध्यापन हुने विद्यालयमा शिक्षक नपुग भए माथिल्लो तहमा गणना हुने दरबन्दी कट्टा गरी बचत हुन आउने दरबन्दीलाई कुल पुल दरबन्दीको रूपमा बुझ्न सकिन्छ । 

 

स्थानीय तहले आफ्नो तहका लागि यकिन भएको दरबन्दी आफ्नो क्षेत्रको एक विद्यालयबाट अर्को विद्यालयमा मिलान गर्नुपर्नेछ । यसरी मिलान गर्दा अपांगता भएका र महिला शिक्षकलाई सम्भव भएसम्म पायक पर्ने गरी मिलान गनुपर्ने शिक्षक दरबन्दी (मिलान तथा व्यवस्थमापन) कार्यविधि, २०७६ ले व्यवस्था गरेको छ ।