close

टोल विकास संस्थालाई पुरस्कृत गर्दै सिरिजंघा

टोल विकास संस्थालाई पुरस्कृत गर्दै सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले उत्कृष्ट र सिर्जनात्मक कार्य सम्पादन गर्ने ३ वटा टोल विकास संस्थालाई पुरस्कृत गर्ने भएको छ । 

 

टोल विकास संस्थाले सम्पादन गरेका क्रियाकलाप एवं सोको प्रतिवेदनका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने टोल विकास संस्थालाई पुरस्कृत गरिन लागेको हो । 

 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पहिलो हुनेले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँका साथ प्रमाणपत्र पाउनेछन् ।

 

त्यसका लागि गाउँपालिकाले टोल विकास संस्थाले संस्था गठन भएयता गरेका क्रियाकलापबारे प्रतिवेदन पठाउन टोल विकास संस्थाहरूलाई पत्राचार गरेको छ ।

 

सम्बन्धित वडामार्फत वडाभरी रहेका टोल विकास संस्थालाइ आफूले गरेका उत्कृष्ट र सिर्जनात्मक कामको अभिलेख र त्यसलाई पुष्टि गर्ने प्रमाण कागजसहित प्रतिवेदन पेस गर्न पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

 

गाउँ कार्यपालिका एवं वडा कार्यपालिकाले टोल विकास संस्थाले गरेका क्रियाकलाप र कार्य सम्पादनको यसअघि सूक्ष्म अनुगमनसमेत गरेको छ ।

 

सोही अनुगमनका क्रममा पाइएका तथ्यलाई गाउँ कार्यपालिकाले टोल विकास संस्थाले पठाएको प्रतिवेदन मापनमा सन्तुलनका रूपमा उपयोगसमेत गर्ने भएको छ । गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालन ऐन, २०७६ ल्याएर पालिकाभरि ७२ वटा टोल विकास संस्था गठन गरेको छ ।

 

सो ऐनको दफा २० मा टोल विकास संस्थाले सम्पादन गरेका क्रियाकलाप एवं सोको प्रतिवेदनका आधारमा उत्कृष्ट र सिर्जनात्मक कार्य सम्पादन गर्ने ३ वटा संस्थालाई बर्सेनि पुरस्कृत गर्ने उल्लेख गरिएको छ ।

 

८ वटा वडा रहेको सिरिजंघा गाउँपालिमामा प्रत्येक वडामा ९ वटाका दरले ७२ वटा टोल विकास संस्था गठन भएका छन् । साविकका ८ वटा गाविस मिलेर बनेको गाउँपालिकामा साविकका पुराना वडालाई नै टोल विकास संस्थाको क्षेत्र मानेर साविकका ७२ वटा वडा क्षेत्र अहिले प्रत्येक एउटा टोल विकास संस्थाको कार्यक्षेत्रमा समेटिएका छन् ।

 

गाउँपालिकाले १० लाखभन्दा तल बजेट रहेका योजनाको कार्यान्वयन नै ३ वटै टोल विकास विकास संस्थामार्फत कार्यान्वयन गर्ने योजना बनाएको छ ।