close

रूपन्देहीको भलवारीमा पाँचतारे होटलकाे शिलान्यास

रूपन्देहीको भलवारीमा पाँचतारे होटलकाे शिलान्यास

Trulli
ADVERTISEMENT

रूपन्देही- भारतीय पर्यटकलाई लक्षित गरेर रूपन्देहीको भलवारीमा ‘पाँचतारे’ मापदण्डको होटल शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी जहदामा होटल ‘फाउन्टेन फन’ को पूर्वमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले शनिबार शिलान्यास गरे । 

 

उनले लगानीका पर्याप्त सम्भावना र अवसर भए पनि सरकारले लगानीमैत्री वातावरण नबनाएका कारण लगानीकर्ता खुम्चिएको बताए । खाँडले रूपन्देहीको तिलोत्तमामा जमिनका कारणले पनि लगानीको अझै बढी सम्भावना भएको हुँदा उद्योग तथा व्यापार व्यवसायलाई सहज वातावरण बनाउन स्थानीय सरकारलाई आग्रह गरे । होटल समयमै पूर्वाधार निर्माण गरी सञ्चालनको व्यवस्था मिलाउनसमेत खाँडले सुझाए ।

 

युवा व्यवसायी नारायण बञ्जाडेको एकल लगानीमा निर्माण गर्न लागिएको पाँचतारे होटल ‘फाउन्टेन फन’ अबको २ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आफ्नै स्वामित्वको ५ बिघा जग्गामा बन्न लागेको उक्त होटलको पूर्वाधार निर्माणमा २ अर्ब रुपैयाँ बढी लगानी अनुमान गरिएको सञ्चालक बञ्जाडेले बताए । 

 

क्यासिनोसहित निर्माण गर्न लागिएको उक्त होटलमा १०१ वटा कोठा हुनेछन् भने स्तरीय बैंक्विट हल, स्विमिङ पुल, हेली प्याडलगायत पाँचतारे मापदण्डअनुसारका पूर्वाधार निर्माण गरिनेछ । 


‘हाम्रो बजार भनेको भारत नै हो । नेपालमा पर्यटकीय क्षेत्रको विकास र त्यसको प्रवर्द्धन गर्न सके बहुसंख्यक भारतीय नागरिकलाई यहाँ ल्याउन सकिन्छ,’ उनले भने, ‘नेपालको अर्थतन्त्र सुधारका लागि पनि पर्यटन उद्योग बलियो आधार बन्न सक्छ ।’ 

 

भैरहवामा निर्माण पूरा हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल, नेपालकै अग्रस्थामा रहेको सुनौली नाका, बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल तथा पूर्व-पश्चिम र उत्तर दक्षिणको संगमलगायत हरेक दृष्टिले सम्भावना देखेरै लगानी गर्न लागेको बञ्जाडेले बताए ।