रुकुम पूर्व- कोरोना सन्त्रासकै बीच रुकुम पूर्वका विद्यालयमा परीक्षा सञ्चालन गरिएको छ । सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारबाट कक्षा १० को ल्याकत (टेस्ट) परीक्षा सुरु गरिएको हो ।
सिस्नेभेरीका कक्षा १० का ९ वटा सामुदायिक र संस्थागत गरी १० वटा विद्यालयमा टेस्ट परीक्षा सुरु गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको प्रमुख बुढाले बताए । यस्तै, गाउँपालिकाभर कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आउँदो २२ वैशाखबाट सुरु गरिने सिस्ने गाउँ शिक्षा समितिले निर्णय गरेको छ ।
भूमे गाउँपालिकाले पनि १९ वैशाखबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा ८ बाहेक १ देखि १० कक्षासम्मको परीक्षा १९ वैशाखबाट सुरु गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख कौशलकुमार तिवारीले जानकारी दिए ।
गाउँ शिक्षा समितिका एवं भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरको अध्यक्षतामा बसेको प्रधानाध्यापकको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । भूमेभित्रका विद्यालयमा कक्षा ८ को परीक्षा भने २२ वैशाखबाट सुरु गरिने शिक्षा शाखा प्रमुख तिवारीले बताए ।
यसैगरी पुथाउत्तरगंगा गाउँपालिकाले आउँदो २० वैशाखबाट वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा र कक्षा १० को टेस्ट परीक्षा २० वैशाखबाट सुरु गर्ने वडा नम्बर १२ का वडाध्यक्ष गंगाबहादुर पुन मगरले जानकारी दिए । ।
हालसम्म रुकुम पूर्वमा कोरोना भए-नभएको कुनै परीक्षण गरिएको छैन । आन्तरिक तथा बाह्य आउजाउलाई भने प्रशासनले कडाइ गरेको छ । यदि कोरोना परीक्षण गर्दा संक्रमित देखापरे थप कडाइ गर्ने जिल्ला प्रशासनले बताएको छ ।
भौतिक पठनपाठन बन्द
रुकुम पूर्वका विद्यालयमा भौतिक रूपमा हुने पठनपाठन बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा भौतिक रूपमा पठनपाठन बन्द गर्ने निर्णय जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले गरेको हो ।
कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सरकारी कर्मचारीलाई अन्तरजिल्ला आउजाउमा कडाइ गर्ने, बेलुकी ७ बजेपछि बिहान ६ बजेसम्म यात्रुवाहक गाडीलाई जिल्ला प्रवेशमा निषेध गरिएको डिसिसिएमसीका सदस्य तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेबहादुर श्रेष्ठले बताए ।
अत्यावश्यक र खाद्यान्न, निर्माण सामग्रीका सवारी साधनलाई भने जिल्ला भित्रिन दिइने डीएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्ला भित्रिने सीमानाका खोपीचार, धपे, लुकुम, महत र चुनबाङमा हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको छ ।