close

काभ्रेमा आइसोलेसन निर्माण धमाधम

काभ्रेमा आइसोलेसन निर्माण धमाधम

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेमा पछिल्लो २४ घन्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ४१ संक्रमित थिए । तथ्यांकअनुसार काभ्रेमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना संक्रमित देखिए । हाल काभ्रेमा ५५५ संक्रमितमध्ये बनेपा नगरपालिकामा १७७, पनौतीमा १३२, धुलिखेलमा १२९, पाँचखालमा ४७, नमोबुद्धमा २१, मण्डनदेउपुरमा १६ जना रहेका छन् ।

 

यस्तै, रोशी गाउँपालिकामा ७, चौँरीदेउरालीमा ३, तेमालमा ४, भुम्लुमा ६, खानीखोलामा २, बेथानचोकमा ८ र महाभारत गाउँपालिकामा ३ जना सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी बनेपा नगरमा ३१ दशमलव ८९ प्रतिशत संक्रमित रहेका छन् । 

 

हालसम्म काभ्रेमा ५० जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्थित कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी) ले जनाएको छ ।


‘संक्रमण समुदायमा फैलिएकाले दिनानुदिन संख्या बढ्ने आकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए । ‘कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

 

केही दिनदेखि संक्रमण दर दोब्बर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख सहरलगायत दुई राष्ट्रिय राजमार्गमा सीमांकन गरी सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारको कोरोना ‘रेड जोन’ का २२ जिल्लामध्ये काभ्रे पनि हो ।

 

यसैबीच कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका ४ वटा स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेसन व्यवस्थित गर्दै छन् ।

 

केन्द्रले साताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेसनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्त रूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुन्डेमा २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

 

बनेपाले भने ५० मध्ये ४ शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिइन् । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेसन सञ्चालनमा ल्याउने जनाइएको छ ।

 

दोस्रो लहरको संक्रमणको ३ साता बितिसक्दा काभ्रेमा ९ वटा स्थानीय तहले आइसोलेसन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने साताअघि नै आइसोलेसन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।

 

सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आइसोलेसन व्यवस्थित गर्नुपर्नेमा संक्रमित संख्या न्यून रहेको जनाउँदै ८ वटा तहले बेवास्ता गरेका छन् । ‘२ जना संक्रमित छन्, आइसोलेसन बनाउँदै जाउँला’, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने ।

 

गत वर्ष काभ्रेका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टाइन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले ७, पनौतीले ६ र नमोबुद्ध नगरले ६ शय्याको आइसोलेसन कक्ष व्यवस्थित गरेका थिए ।