close

पर्वतका सबै स्थानीय तहका नियमित सेवा बन्द: सदरमुकाममा निषेधाज्ञा

पर्वतका सबै स्थानीय तहका नियमित सेवा बन्द: सदरमुकाममा निषेधाज्ञा

Trulli
ADVERTISEMENT

पर्वत- समुदाय स्तरमा कोरोना भाइरसको दोस्रो लहर फैलिन थालेपछि पर्वतका सबै स्थानीय तहले नियमित सेवा बन्द गरेका छन् । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाका नियमित सेवा बन्द गरिएका हुन् ।

 

दैनिकजसो नागरिकको भीडभाड हुँदा संक्रमण झनै फैलिने भएकाले अत्यावश्यक सेवाबाहेक नियमित हुने कामकाज बन्द गरिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

 

कुश्मा नगरपालिकामा ९८ वैशाखदेखि नै नियमित सेवा बन्द छन् भने मोदीले १ सातादेखि सेवा बन्द गरेको छ । सदरमुकाम कुश्मा बजारमा भने बन्दाबन्दी जारी छ । सोही कारण सदरमुकाम १ सातादेखि सुनसान रहेको छ । 

 

यसैगरी फलेवास नगरपालिकाले पनि २० वैशाखदेखि नै नियमित सेवा बन्द गरेको छ भने विद्यालयसमेत ठप्प छन् । जलजला, महाशिला र विहादी गाउँपालिकामा पनि समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएपछि वैशाख मसान्तसम्म गाउँपालिका र वडा कार्यालयका सेवा ठप्प पारिएको छ ।

 

जलजलाले मंगलबारदेखि र विहादी र महाशिलाले बुधबारदेखि मसान्तसम्म सेवा बन्द गरिएको सूचना निकालेर जानकारी दिएका छन् । 

 

दक्षिण पर्वतको पैंयु गाउँपालिकाले पनि विद्यालय पूर्ण रूपमा बन्द गरेको छ भने कार्यालयका सेवासमेत भीडभाड नहुने गरी सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए । 

 

उनका अनुसार अत्यावश्यक सेवा नरोकिने तथा नियमित सेवा पनि भीडभाड नहुने गरी सञ्चालन गरिएको छ । महाशिलामा मंगलबार एकै पटक ६ जना समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि गाउँपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ । 

 

एम्बुलेन्स, खाद्यान्न, तरकारी, ग्यास, दूधलगायत सवारी साधनबाहेक अन्यको आवतजावतमा कडाइ गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले बताए । 


विहादी गाउँपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले प्रत्येक घरधुरीमा एक एक वटा आइसोलेसन बेड तयार गर्ने, प्रत्येक वडामा १-१ वटा सामुदायिक क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

 

त्यसैगरी विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरी होम आइसोलेसनमा बस्न लगाउने, गाउँपालिकाभित्रका पसल तथा व्यावसाय बिहान ६ देखि ९ र बेलुका ५ देखि ७ बजेसम्म खोल्न दिने निर्णय भएको अध्यक्ष कमल भुसालले जानकारी दिए ।

 

त्यसैगरी गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य चौकी, प्रहरी चौकीलगायत सरकारी कार्यालयमा आवश्यक मास्क र स्यानिटाइजर गाउँपालिकाले व्यवस्था गर्ने र पालिकामा रहेको कोभिड अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र अक्सिजन अविलम्ब व्यवस्थापन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

 

यस्तै, जलजला गाउँपालिकामा पनि अत्यावश्यकबाहेक अन्य नियमित सेवा बन्द भएका छन् । कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण समुदायमा फैलिन थालेपछि जलजलाको कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

 

सोमबार बसेको संकट व्यवस्थापन समितिको बैठकले जलजलाको प्रशासनिक सेवा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो । गाउँपालिकाको स्वास्थ्य सेवा, दैनिक आवश्यक वस्तु तथा खाद्यान्न ढुवान, तरकारी, दूध, डेरी उद्योग, माछा, मासु, पानी आपूर्तिलगायत सेवा भने सुचारु हुनेछन् ।

 

गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले विज्ञप्ति प्रकाशित गरी जलजलामा निषेधाज्ञाको शैलीमा कार्यालयको सेवासहित अन्य क्षेत्रमा चहलपहल हुने क्षेत्रका गतिविधि बन्द गरिएको बताए ।