close

रुकुम पूर्वका स्थानीय तहमा आइसोलेसन निर्माण धमाधम

रुकुम पूर्वका स्थानीय तहमा आइसोलेसन निर्माण धमाधम

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- कोरोना भाइरस संक्रमितको संख्या रुकुम पूर्वमा पनि बढिरहेको छ । एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा जिल्लामा दिनहुँ कोरोना पुष्टि भइरहेकाले संक्रमितको संख्या बढिरहेको हो । 

 

१६ वैशाखबाट रुकुम पूर्वमा ज्वरोका लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई कोरोना परीक्षण गर्दा हालसम्म २४ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

संक्रमितमध्येका ४ जनालाई रुकुम पूर्व अस्पतालमा भर्ना गरेर अक्सिजनसहितको उपचार गराइरहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए । बाँकी कोरोना पुष्टि भएकाको अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेको उनले बताए । रुकुम पूर्व अस्पतालमा अक्सिजनसहितको आइसोलेसन ५ बेडको मात्र छ । 

 

रुकुम पूर्वका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन निर्माणमा जुटेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाले वडा नम्बर १२ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कोलमा हालै अक्सिजनसहितको १० बेडको आइसोलेसन तयार गरेको स्वास्थ्य संयोजक समिर गिरीले बताए ।

 

१० वटा अक्सिजन सिलिन्डर आउनासाथ वडा नम्बर १० को गाउँपालिकाको सभाहलमा अक्सिजनसहितको १० बेडको आइसोलेसन तयार गरिने उनले जानकारी दिए । 

 

यस्तै, भूमे गाउँपालिकाले वडा नम्बर २ स्वास्थ्य चौकी काँक्रीमा ५० बेडको अस्थायी कोरोना अस्पताल तयार गरेको छ । यसमा हाल अक्सिजनसहितको ६ बेड तयार रहेको र तत्काललाई १५ वटा अक्सिजन सिलिन्डर मगाइएको स्वास्थ्य संयोजक उपेन्द्र यादवले बताए । 

 

सिस्ने गाउँपालिकाले पनि १० वटा अक्सिजन सिलिन्डरसहित १० बेडको आइसोलेसन तयारी अवस्थामा राखेको स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिए । १० वटा अक्सिजन सिलिन्डर पनि आउन लागेको उनको भनाइ छ ।