close

संक्रमित भेटिएपछि खाेटाङकाे हलेसी र साकेला सिल 

संक्रमित भेटिएपछि खाेटाङकाे हलेसी र साकेला सिल 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकाका ३ वटा वडामा कोभिड-१९ बाट संक्रमित भेटिएपछि पालिकालाई सिल गरिएको छ । साथै हलेसी तुवाचुङ नगरपालिकामा पनि संक्रमितकाे संख्या बढेपछि पालिकालाई  नै सिल गरिएकाे छ । 

 

काठमाडौं र चितवनबाट घर आएका वडा नम्बर १ बाँझेच्यानडाँडाका २ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको पिसिआर परीक्षण गरिएको थियो । 

 

उनीहरूको परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएसँगै कोभिड संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले साताव्यापी गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । 

 

कोभिड संकट व्यवस्थापन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका प्रवेशमा कडाइ गर्ने, अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, सीमा तथा नाकामा स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गर्ने, औषधी, खाद्यान्न र इन्धन पसलबाहेकका किराना पसल, होटललगायत व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । 

 

गाउँपालिकाभित्रका खाद्यान्न तथा इन्धन पसल दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुलाउने निर्णय गरिएको छ । यस्तै, वडा नम्बर २ रतन्छामा रहेको अस्थायी कोभिड अस्पतालमा बनाइएको २० शय्याको आइसोलेसन सेन्टरलाई ५० बेडको बनाउने निर्णय गरिएको छ ।

 

गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकाबासीले सम्बन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेस गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होम आइसोलेसनमा बस्नुपर्ने, पालिकाभित्र निर्माणाधीन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउनुपरे पिसिआर परीक्षण गरेर मात्र कामदार भित्र्याउन पाउने व्यवस्था गरिएको छ ।

 

यस्तै, बढीमा १० जनाको उपस्थितिमा मात्र विवाह, ब्रतबन्ध, पास्नी, देवालीजस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने÷गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनैपरे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउन निमन्त्रणा गर्ने-गराउने निर्णय गरेको जनाएको छ ।

 

गाउँपालिकाका सीमा नाकामा स्थापना गरिने हेल्थ डेस्कमा १ जना स्वास्थ्यकर्मी र १ जना शिक्षकलाई खटाउने तयारी छ । महामारीका बेला शिक्षकलाई कोभिड–१९ सम्बन्धी सूचना संकलन र अपडेट गराउने स्रोत व्यक्तिको भूमिका दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।

 

संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र प्रत्यक्ष सम्पर्कमा पुगेका ६० जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएकामा शुक्रबार साकेला गाउँपालिका वडा नम्बर ५ मात्तिमकी ५२ वर्षीया महिला, वडा नम्बर १ बाँझेच्यानडाँडाकी २० वर्षीया महिला, १७ वर्षीया अर्की महिला, ३५ वर्षीय पुरुष, वडा नम्बर २ रतन्छाका १९ वर्षीय युवक र अर्की २५ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको थियो । 

 

दिक्तेल रुपाकोटमा वडा सिल 


कोभिड-१९ संक्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ खाल्लेलाई सिल गरिएको छ । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएका दम्पतीसहित ३ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि २२ वैशाख राती १२ बजेदेखि साताव्यापी वडालाई सिल गरिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए ।

 

हाल वडा क्षेत्रभित्रको एक टोलबाट अर्को टोलमा आउजाउ गर्न, अत्यावश्यकबाहेकका काममा हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, निर्माणका काममा पनि साता दिनका लागि रोक लगाइएको वडाअध्यक्ष चाम्लिङले बताए ।
 
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ नुनथलामा पनि सिल गरिएको छ ।

 

कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको एन्टिजेन परीक्षण नसकिएसम्म खाद्यान्न पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्ने, होटल, खाजा पसल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष भीम राईले जानकारी दिए ।

 

वडा कार्यालयले नुनथलामा सुरक्षा जाँचका लागिबाहेक कुनै पनि सवारी साधन पार्किङ गर्न नदिने, अन्यत्रबाट आएका व्यक्तिलाई अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा राख्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा १५ जनाभन्दा बढि भेला हुन नपाइनेलगायतका सूचना जारी गरेको छ ।

 

संक्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ बुइपामा पनि कडाइ गरिएको छ । वडाबासीलाई आ-आफ्नो घरमै सुरक्षित साथ बस्न र अति आवश्यक काम परेर घर बाहिर निस्कनुपरे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको वडाध्यक्ष दिनेश राईले बताए ।