close

अक्सिजन सहज बनाउन तिलोत्तमाले बनायो समिति

अक्सिजन सहज बनाउन तिलोत्तमाले बनायो समिति

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डर व्यवस्था मिलाउन अक्सिजन सिलिन्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

 

नगर स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यावसायिक संघ-संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

 

समितिका सदस्यमा मोहन चापागाईं, हरिलाल पाण्डेय, लक्ष्मण खनाल, गुणानिधि भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, केशव भट्टराई र माधवप्रसाद पोखरेल रहेका छन् । 

 

नगरप्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ-संगठनलाई आग्रह गर्ने निर्णय गरेको छ ।

 

यस्तै, बैठकले कोरोना संक्रमण समुदाय स्तरमा फैलिरहेको अवस्थामा विवाह, ब्रतवन्ध, पूजाआजा, भोजभतेरजस्ता क्रियाकलापबाट जोखिम उच्च हुने हुँदा यस्ता क्रियाकलाप नगर्न-नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

 

नगरभित्र कोरोनाको जोखिममा रहेकाको परीक्षणलाई छिटोछरितो गराउन नगरपालिकाबाट एन्टिजेन र भिटिएस खरिद गर्ने, नगरमा निषेधाज्ञालाई प्रभावकारी बनाउन थप सुरक्षाकर्मी परिचालनका लागि जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

 

बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि प्रकोप व्यवस्थापन कोषमा स्वेच्छिक आर्थिक सहयोग गर्न संघ-संस्था, उद्योगी, व्यवसायीलगायत सबैमा अनुरोध गरेको छ ।

 

तिलोत्तमामा झन्डै १४ सय जना सक्रिय कोरोना संक्रमित छन् भने ११३ जनाले कोरोना जितेका छन् । नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नम्बर ९ को केवलानीमा थप ६० बेडको आइसोलेसन सेन्टर बनाउने तयारी छ ।