close

संस्थागत क्षमता स्वमूल्यांकनमा बेँसीसहर पहिलो

संस्थागत क्षमता स्वमूल्यांकनमा बेँसीसहर पहिलो

Trulli
ADVERTISEMENT

लमजुङ– चालू आर्थिक वर्ष २०७७/०७८ मा गरिएको संस्थागत क्षमता स्वमूल्यांकनमा बेँसीसहर नगरपालिकाले ६५ दशमलव २५ प्रतिशत अंकप्राप्त गरेको छ । लोकल गभर्मेन्ट इन्स्टिच्युसनल क्यापासिटी सेल्फ–एसिस्मेन्ट (लिजा) को गरेको मूल्यांकनमा नगरपालिका प्रथम श्रेणी हासिल गर्न सफल भएको हो ।

 

गत २ वर्षमा गरिएको कामको आधारमा चालू आवमा गरिएको स्वमूल्यांकनअनुसार समग्र अवस्थामा ७२ दशमलव ६२ प्रतिशत, प्रक्रियागत स्थितिमा ६७ दशमलव ६५ र परिणात्मक स्थितिमा ६० प्रतिशत अंक प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलावल्लभ न्यौपानेले बताए ।

 

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तहको संस्थागत अवस्थाबारे गत चैत तेस्रो साता स्वमूल्यांकन कार्यविधिका आधारमा नगरपालिकाले स्वमूल्यांकन गरेको हो ।

 

नगरपालिकाको १० वटा विषयका आधारमा स्वमूल्यांकन गरिएको थियो । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका आधारमा स्वमूल्यांकन गरिएको नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोखरेलले बताए ।

 

उक्त स्वमूल्यांकनको नतिजालाई नगर कार्यपालिकाको ६८ औँ बैठकले अनुमोदन गरेको छ । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले गत वर्ष कोरोना कहरका बीच पनि स्वमूल्यांकनमा प्रथम श्रेणी प्राप्त हुनु उपलब्धिपूर्ण रहेको बताए ।


मुख्य काम गर्ने समय कोरोनाका कारण बन्दाबन्दी भोग्नुपरे पनि कामको आधारमा उपलब्धि हासिल गर्न सफल भएको उनले जानकारी दिए ।

 

नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले कोरोना र बन्दाबन्दी नभएको भए अहिलेको प्राप्त अंकभन्दा अझ धेरै नम्बर ल्याउने अवस्थामा नगरपालिका रहेको बताइन् ।

 

कार्यपालिका बैठकले कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा बेँसीसहर नगरपालिकामा जोखिम नियन्त्रण, रोकथाम तथा उपचारका लागि कोभिड कोषमा २० लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको छ ।

 

२० लाखबाट जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयको आधारमा जिल्ला कोभिड कोषमा जम्मा गर्नेसमेत बैठकले निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।