close

जुम्लाकाे पातारासीमा विकासकाे लहर, गाउँमै पुग्याे सडक, सञ्चार, शिक्षा र स्वास्थ्य

जुम्लाकाे पातारासीमा विकासकाे लहर, गाउँमै पुग्याे सडक, सञ्चार, शिक्षा र स्वास्थ्य

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको पातारासी गाउँपालिकाले पालिकाभित्र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विकास आयोजनाहरू अगाडि बढाएको छ ।


शिक्षा, स्वास्थ्य र विकासको पूर्वाधारबाट पछि परेको गाउँपालिकाले सडक, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकास गर्न लागेको हो । गाउँपालिका अहिले राष्ट्रिय सडक सञ्जालसँग जोडिसकेको छ । 


यहाँको उर्थुचौतारास्थित जवा नदीमाथि पक्की पुल बनेपछि दुई वर्ष अघिदेखि राष्ट्रिय सडक सञ्जाल कर्णाली राजमार्गसँग जोडिएको हो । विश्वको अल्लो (२८५० मिटर) छुमचौर ज्युलो यही भूभागमा पर्दछ, जहाँ मार्सी धानको खेती  गरिन्छ । 


७ वडामा विभाजित पातारासी गाउँपालिका अध्यक्ष लक्ष्मण बोहरा भन्छन्, ‘खानेपानी र बिजुलीको पनि राम्रो व्यवस्थापन गरेका छौं । वडावडामा साना माइक्रो हाइड्रो निर्माण गरेपछि बिजुलीको समस्या छैन । अझै केही वडामा बिजुली विस्तार गर्न बाँकी छ । बर्सेनि २०-२५ करोड विकास निर्माणमा बजेट विनियोजन गरेका छौं ।’


विनियोजित बजेटबाट आवश्यक पूर्वाधार थप्दै गएको उनको भनाइ छ । यो क्षेत्र अन्नबाली र जडीबुटीका लागि उर्बर मानिन्छ । यहाँ बढी मकै, आलु, सिमी, धान, कोदो, स्याउ उत्पादन हुन्छ । गाउँपालिका सडक सञ्जालमा जोडिएकाले बिक्री वितरण गर्न बजार लैजान सहज भएको स्थानीय मुनवीर बुढा बताउँछन् । 


‘गाउँपालिकाकै लगानीमा एम्बुलेन्स व्यवस्था गरेका छौं’,  प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले भने, ‘यहाँका नागरिकलाई निःशुल्क सेवा दिने गरेका छौं ।’


गाउँपालिकाभित्र ४ वटा स्वास्थ्य संस्था छन् । छुमचौर र पटमारा स्वास्थ्य संस्थामार्फत ल्याब सेवाको पनि व्यवस्थापन गरिएको छ । १ जना एमबीबीएस चिकित्सक र १ जना नर्सको पदपूर्तिका लागि विज्ञापन भइसकेको उनले बताए । स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा पनि सुचारु गर्ने तयारी छ ।

 

शिक्षा क्षेत्रमा पछि परेको गाउँपालिकाको शिक्षा क्षेत्र सुधार गर्न चिकित्सक, प्राविधिकतर्फ र लोकसेवा तयारी कक्षामा पनि छात्रावृत्तिका कार्यक्रम सञ्चालन गरिएको छ । ‘गाउँपालिकाको शिक्षामा सुधार ल्याउन जोड दिएका छौं,’ गाउँपालिका अध्यक्ष बोहराले भने, ‘विद्यालय सुधारका कार्यक्रम पनि अघि सारेका छौं ।’ 


यो क्षेत्र पर्यटकीय हब भएकाले पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिएको छ । पातारासी हिमाल, विश्व प्रसिद्ध मार्सी धान फल्ने छुमचौर ज्युलो, तातोपानीलगायतका पर्यटकीय स्थल यहाँ छन् । यिनै पर्यटकीय स्थललाई विश्वमा चिनाउन पर्यटन पदमार्गदेखि पर्यटन क्षेत्रको संरक्षण सम्वद्र्धन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष बोहराले बताए । 


स्थानीय स्तरकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि दिसापिसाब, रगत र खकार परीक्षण गर्न सहज भएको छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज लोकबहादुर रावल सुनाउँछन् । 


उनले भने, ‘ल्याब परीक्षणबाट आएका रिपोर्टअनुसार यहीँबाटै रोगको उपचार गर्ने गरिएको छ । तर, अलि जटिल रोगको उपचार गर्नु परे  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिफारिस गर्ने गरिएको छ ।’


यस्तै, पटमारा स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए । स्थानीय स्तरमै ल्याब सेवा सञ्चालन भएपछि सेवाग्राहीलाई सहज भएको छ ।