close

आर्थिक वर्षकाे अन्त्यमा विकास निर्माणको चटारो

बजेट फ्रिज हुने भएपछि योजना निर्माणमा कस्सिए जनप्रतिनिधि, कर्मचारी र ठेकेदार

आर्थिक वर्षकाे अन्त्यमा विकास निर्माणको चटारो

बजेट फ्रिज हुने भएपछि योजना निर्माणमा कस्सिए जनप्रतिनिधि, कर्मचारी र ठेकेदार

Trulli
ADVERTISEMENT

बझाङ- विकास निर्माणका काममा आर्थिक वर्षको अन्त्यमा ठूलो रकम खर्च गर्ने प्रवृत्ति यो वर्ष पनि बझाङमा रोकिएन । बझाङका स्थानीय तहमा असारभित्रमा बजेट सक्न भ्याई-नभ्याई भइरहेको छ । विकास निर्माणका लागि छुट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन जनप्रतिनिधि, कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा चासो देखाउन थालेका हुन् ।


स्थानीय तहले गरेको असारे विकास पुरानो विकासभन्दा फरक नभएको नागरिक बताउँछन् । असार नजिकिँदै गर्दा गाउँमा योजनाका काम तीव्र गतिमा अघि बढेको उनीहरूको भनाइ छ । बझाङका कुनै स्थानीय तहले आफ्नै डोजर प्रयोग गरेर सडक खन्ने काम गरिरहेका छन् भने कुनैले आफू निकटका व्यक्तिको डोजर प्रयोग गरी आर्थिक वर्ष सकिनै लाग्दा काम अघि बढाएका हुन् ।

 

‘स्थानीय तहले आएको रकम फ्रिज जाने डरले पनि जथाभावी रूपमा डोजर प्रयोग गरेका छन्,’ जयपृथ्वी नगरपालिका वडा नम्बर १ का हिक्मत सिंहले भने, ‘असार मसान्त नजिकिनै लाग्दा गरिएको विकासले क्षणिक रूपमा विकास भएजस्तो देखिए पनि दिगोपना र गुणस्तरमा ध्यान दिएको पाइँदैन ।’

 

हरेक स्थानीय तहले सबै वडालाई यातायातको सुविधा पुर्‍याउने उद्देश्य लिए पनि जथाभावी सडक खनिँदा बाढीपहिरोको जोखिम भने बढ्दै गएको उनले बताए । जयपृथ्वी नगरपालिकामा चालू आर्थिक वर्षका केही योजना मात्रै सम्पन्न हुन बाँकी रहेको नगरप्रमुख वीरेन्द्र खड्काले जानकारी दिए ।

 

‘हाम्रा केही योजना सम्पन्न हुन बाँकी छन् । धेरै योजना सकिए,’ उनले भने, ‘प्रदेश सरकारले जथाभावी योजना दिइरहेको छ । कहाँबाट कसरी योजना ल्याउँछन् थाहा छैन । आर्थिक वर्ष सकिने बेला मात्रै नगरमा प्रदेशका योजना आएको थाहा हुन्छ ।’