close

सुदूरपश्चिमका ३ जिल्लामा जहाज सरर...

सुदूरपश्चिमका ३ जिल्लामा जहाज सरर...

Trulli
ADVERTISEMENT

बैतडी-  ‘जे बोल्छन उनी त्यही गर्छन् काम, जान्दैनन् बाहना, पाटन एयरपोर्टलाई सञ्चालन गर्ने दामोदरको चाहना ।’ यो बैतडीका संघीय सांसद दामोदर भण्डारीको चुनावी गीत हो ।

२०७४ मा भण्डारीले चुनाव लड्दा तत्कालीन नेकपा एमालेका नेता कार्यकर्ताले खुबै प्रचार गरे । पाटनमा हवाईजहाज चल्ने कुरामा कसैलाई विश्वास थिएन । वर्षौं पहिलादेखि बन्द रहेको पाटन एयरपोर्ट अहिले सञ्चालनमा आउँदा बैतडीबासीको सपना पूरा भएको छ ।
 
शनिबार बैतडीको पाटन विमानस्थलमै जहाज देख्न पाउँदा बुढापाकाहरुको आँखामा हर्षको आँसु खसे । सांसद भण्डारीसमेत भावुक भए ।

विमानस्थल उद्घाटन अवसरमा  सांसद भण्डारीले पाटनमा नियमित जहाज उडान भए बैतडीसहित दार्चुला र डडेल्धुराबासीलाई समेत सहज हुने बताए ।

विमानस्थल उद्घाटन गर्न बैतडी पुगेका संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सांसद भण्डारीले जिल्लामा धार्मिक तथा सास्ंकृतिक पर्यटनको प्रचुर सम्भावना रहेकोले विकासका लागि ध्यानाकर्षण गराए ।

मन्त्री भट्टराईले बैतडीमा रहेका धार्मिक तथा सास्कृतिक धरोहर संरक्षणका लागि गुरुयोजना तयार गरी यस क्षेत्रलाई पर्यटकीय थलो  बनाउन संघीय सरकार लागिपर्ने आश्वासन दिए ।

मन्त्री भट्टराईले पहाडी र हिमाली जिल्लाका कच्ची विमानस्थललाई कालोपत्रे गरी जहाज उडानयोग्य बनाउने तयारी भइरहेको जानकारी दिए ।

शनिबार बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि परीक्षण उडान भएको छ । समिट एयरले शनिबार धनगढीबाट बैतडी, डोटी र बझाङमा परीक्षण उडान गरेको हो ।

बैतडीको पाटन, बझाङको चैनपुर, डोटीको दिपायल विमानस्थल निर्माण सकिएकाले परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए  ।

वर्षाैंदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलको पुनर्निर्माण काम सकिएसँगै परीक्षण उडान भएपछि प्रदेशमा उत्साह बढेको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विमानस्थलको निरीक्षणसमेत गरेका छन् ।