close

अरु हावा कुरा गर्छन्, निस्दी हावाबाट बिजुली बाल्छ (भिडियो वार्ता)

अरु हावा कुरा गर्छन्, निस्दी हावाबाट बिजुली बाल्छ (भिडियो वार्ता)

Trulli
ADVERTISEMENT

पाल्पाको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलाई पालिका खबरवुटेटिनको पालिका टकका लागि करिष्मा कार्कीले सोधिन्ः के गर्दै हुनुहुन्छ अध्यक्षज्यू ? उनको उत्तरले भन्छः दुनियाँ हावादरी गफमै रमाइरहेको बेला हामीले चै हावाबाटै बिजुली उत्पादन गर्यौं । अरु के गर्यो त पालिकाले ?

 

कोरोनाको दोस्रो लहरमा पनि पालिकाभित्र एक जनाले पनि संक्रमणका कारण ज्यान गुमाउनु परेन । महामारी नियन्त्रणमा तपाईले कस्तो मोडालिटी अपनाउनु भयो र मानवीय क्षति हुन पाएन ? 

यो गाउँपालिका भनेको पाल्पाको सबैभन्दा पिछडिएको पालिका हो । यहाँका किसान विशेष गरी बढी मिहिनेत गर्छन् । कोही अझै पनि चप्पल लाउँदैनन् । उहाँहरूलाई कोरोनाबारे जानकारी गराउन खोज्यौँ, जनचेतना दियौँ । त्यसले गर्दा भाग्यवश कसैको पनि मृत्यु हुन पाएन । २ सय ६० जना कोरोना संक्रमित थिए । तर, ति संख्या अहिले घटिरहेको छ । अहिले १ सय ४७ जनामा मात्रै संक्रमण देखिएको छ । २ जना चिकित्सकको रेखदेमा ४८ जना क्वारेन्टिन र आइसोलेसनमा छन् । होम आइसोलेसनमा रहेकाको स्वास्थ्य अवस्था पनि सामान्य छ । 

 

यसपटक तपाईंले ल्याउने बजेट कार्यकालको अन्तिम बजेट पनि हो । चुनावी घोषणापत्रका थुप्रै वाचा पूरा भएनन् भन्ने गुनासो छ । यसपटक बजेटबाट जनताले के अपेक्षा गर्ने त ? 

यो पालिकामा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुगेको छैन । गत वर्षदेखि मात्रै हामीले सामूहिक विद्युतमार्फत केही वडामा बत्ती बाल्न सफल भयौँ । यो विषम परिस्थितिमा पनि हामीले सबै वडामा बिजुली बत्ती बाल्ने काम गर्न कामदार खटाएका छौँ । हाम्रै कार्यकालमा नागरिकले राष्ट्रिय प्रशारण लाइनको विद्युत देख्न पाउनेछन् । आगामी वर्षभित्र हामीले थप विद्युत विस्तार गर्ने, १० भन्दा बढी पालिकामा लिफ्टिङ खानेपानी सुविधा विस्तार गर्ने तयारी गरेका छौँ । ‘एक घर एक धारा’को योजना पूरा गर्ने र खरको छाना हटाउने तयारी पनि हाम्रो छ । 

 

युवा लक्षित के कार्यक्रम ल्याउने सोच बनाउनुभएको छ  त ? 

यो वर्ष हामीले युवा लक्षित केही कार्यक्रम राखेका थियौँ । तर, कोरोना भाइरसले गर्दा कतिपय युवाहरूको  व्यक्तिगत र सामूहिक व्यावसाय गर्ने सोच पूरा हुन सकेन । आगामी वर्षका लागि बन्ने कार्यक्रममा पनि हामीले युवालाई प्राथमिकतामा राखेका छौँ ।  हामीले युवाहरूका लागि मनोरञ्जन, कृषि क्षेत्र लक्षित कार्यक्रम ल्याउने तयारी गरेका छौँ । 

 

सदरमुकाबाट टाढाको पालिका भएकाले ठूला अस्पतालको सेवाको पहुँच पालिकावासीमा छैन । यस्तो अवस्थामा पालिकामै स्वास्थ्यसेवा दिन तपाईका योजना के छन् ? 

स्वास्थ्य सुविधाका लागि हामीले गत वर्ष नै स्वास्थ्य भवन शिलान्यास गर्‍यौ । टेन्डर आह्वान गरेर सम्झौता गरेर अहिले भवन निर्माण सुरु भएको छ । नजिकै रहेको रामपुर नगरपालिकाको सरकारी अस्पतालसँग समन्वय गरेका छौँ । त्यहाँ बर्थिङ सेन्टर, ल्याब सबै सञ्चालनमा छ । त्यसबाट पनि नागरिकलाई सुविधा दिइरहेका छौँ । 

 

तपाईंको चुनावी घोषणपत्रको आकर्षक नारा थियो ‘एक घर एक धारा’ । के पालिकाभरी धारा बनिसकेका हुन् ? 

गाउँपालिकाको दुई तीन टोलमा मात्रै यो नारा सफल भएको छ । र, पनि गाउँमा पानी जाने क्रम सुरु भइसकेको छ । पानी नपुगेको ठाउँमा मिटरको पनि व्यवस्था गर्ने तयारी गरेका छौँ । र, छिटै सबै ठाउँमा ‘एक घर, एक धारा’ योजना सफल बनाउने छौँ । 

 

हावाबाट बिजुली निकाल्न गाउँपालिकाले रुक्सेभञ्ज्याङमा बिजुली उत्पादनको प्रक्रिया सुरु गरेको छ । निस्दीबासीले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न कहिलेबाट पाउँछन् ?

यहाँ २५ किलोवाटको हावाबाट बिजुली उत्पादन भएको छ । त्यसबाट ८ सरकारी संस्थामा विद्युत सेवा पुर्‍याएका छौँ । १ सय ५२ घरलाई पनि यो सुविधा उपलब्ध छ । उपभोक्ताले बिजुली उपभोग गरिरहेका छन् ।