close

यस्तो छ प्रदेश १ का स्थानीय तहको बजेट 

यस्तो छ प्रदेश १ का स्थानीय तहको बजेट 

Trulli
ADVERTISEMENT

भद्रपुरले ल्यायो ८३ करोडको बजेट 

प्रदेश १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ८३ करोड १३ लाख २ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

 

नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगरको दिगोपना एवं स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, पर्यटन, उद्योग, लापोन्मुख आदिवासी जनजातिको संरक्षणलाई बजेटमा प्राथमिकता दिएको छ ।

 

बुधबार झापा उद्योग संघको सभाहलमा सुरु भएको आठौँ नगरसभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन् ।

 

नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गरेको नगरसभामा प्रस्तुत बजेटअनुसार पूर्वाधार विकास कार्यक्रमतर्फ ३४ करोड ३२ लाख, संस्थागत विकास, सेवा प्रवाह, सूचना प्रविधि तथा कार्यालय सञ्चालनतर्फ १४ करोड २३ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।

 

यस्तै, आर्थिक विकास कार्यक्रमतर्फ ३ करोड ५४ लाख, सामाजिक विकास कार्यक्रमतर्फ २९ करोड ८० लाख ३० हजार र वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमतर्फ १ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

नगरका गौरवका आयोजना र प्रदेशकै पहिलो साइन्ससिटी, कमलधाम पर्यटकीय स्थलजस्ता महत्त्वाकांक्षी योजनालाई विशेष प्राथमिकता दिइएको छ ।


नगरप्रमुख श्रेष्ठले नगरसभामा जनप्रतिनिधिले नेतृत्व सम्हालेपछिका ४ वर्षमा भएका उपलब्धि नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरे ।


बिर्तामोडको बजेट १ अर्ब ३० करोड

झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।


बिहीबार सुरु भएको सातौँ नगरसभा बैठकमा नगरपालिका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त बजेट प्रस्ताव गरेकी हुन् । 


नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्की सहभागी नगरसभा बैठकमा उपप्रमुखले उक्त आयव्यय प्रस्तुत गरेकी हुन् ।


नगरसभामा प्रस्तुत बजेटमा चालू खर्चतर्फ ४४ करोड ३५ लाख १४ हजार र पुँजीगत खर्चतर्फ ६६ करोड ४२ लाख ६५ हजार ५०० रुपैयाँ अनुमान गरिएको छ भने सामाजिक सुरक्षाबापत २० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।


प्रस्तावित बजेटमा आन्तरिक स्रोतबाट १५ करोड, घरजग्गा रजिस्ट्रेसन बाँडफाँटबाट १० करोड, लागत सहभागितामा १ करोड, संघीय सरकारबाट वित्तीय समानीकरणअन्तर्गत प्राप्त हुने २२ करोड ४९ लाख रुपैयाँ अनुमान गरिएको छ ।


राजस्व बाँडफाँटबाट ११ करोड ९ लाख ४६ हजार, ससर्त अनुदान ४२ करोड ८४ लाख, विशेष अनुदान १ करोड ९९ लाख, समपुरक अनुदान २ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

 

बिर्तामोडले आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट वित्तीय समानीकरणअन्तर्गत १ करोड ३३ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । 


राजस्व बाँडफाँटबाट १ करोड १७ लाख ११ हजार ५००, ससर्त अनुदान ५० हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षाबापत २० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

 

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख महतरा प्रसाईंले खर्चतर्फ पूर्वाधार विकासमा ५६ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।


आर्थिक विकासतर्फ २८ करोड २७ लाख, सामाजिक विकासतर्फ ३८ करोड २ लाख १४ हजार ५००, वातावरण तथा विपद् व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासका लागि ३२ करोड ९८ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

इलाम नगरपालिकाको बजेट १ अर्ब २१ करोड

इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब २१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभाबाट आगामी वर्ष कार्यान्वयन हुने १ अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित भएको हो । नगरपालिकाले कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ १२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 


निःसर्त अनुदानतर्फ आर्थिक विकासमा २ करोड ७१ लाख ५० हजार, सामाजिक विकासमा ३ करोड ९८ लाख, पूर्वाधार विकासमा ३३ करोड ८३ लाख ३३ हजार १ सय ६० र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ५ करोड ३३ लाख १२ हजार ७ सय ४० रुपैयाँ विनियोजन गरेको छ ।


ससर्त अनुदानबाट आर्थिक विकासमा ४ करोड ६८ लाख, सामाजिक विकासमा ३० करोड ४७ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ७२ लाख र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।


नगरपालिकाले आम्दानीतर्फ आन्तरिक राजस्वबाट १२ करोड ७५ लाख, मालपोत रजिस्ट्रेसनबाट २ करोड, उपभोक्ताको लागत सहभागिताबाट ४ करोड ३३ हजार १ सय ६०, सार्वजनिक/निजी साझेदारीमा १ करोड १० लाख बजेट विनियोजन भएको छ ।
यस्तै, गत वर्षको अल्याबाट ५ करोड, नगर विकास कोषबाट २ करोड ऋण लिइने, अन्य संस्थाबाट साझेदार गरी ५० लाख र आन्तरिक ऋण ३ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।


त्यस्तै, संघीय सरकारबाट समानीकरण अनुदानबाट १५ करोड ८८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । ससर्त अनुदानमा ३९ करोड ६९ लाख, समपुरक अनुदानमा २ करोड ८ लाख, विशेष अनुदानमा ४ करोड १५ लाख र सामाजिक सुरक्षामा १४ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।


प्रदेश सरकारबाट समानीकरण अनुदान ९२ लाख ९३ हजार, ससर्त अनुदानमा २ करोड ७ लाख ४ हजार, समपुरक अनुदान १ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले राजस्व बाँडफाँटमार्फत संघीय सरकारबाट ९ करोड ९९ लाख ९३ हजार र प्रदेश सरकारबाट १ करोड १९ लाख ७६ हजार ८ सय ४० रुपैयाँ आम्दानी हुने अनुमान छ ।

 

महालक्ष्मी नगरपालिकाको बजेट ६४ करोड

धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालू आर्थिक वर्षभन्दा बजेट वृद्धि गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँको बजेट विनियोजन गरेको हो ।


चालू आर्थिक वर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँको बजेट ल्याएको थियो । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बजेट बढेको हो । नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा बुधबार आयोजित सातौँ नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले बजेट प्रस्तुत गरिन् ।


बजेटमा आर्थिक विकासका लागि ५ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड ५० लाख, पूर्वाधार विकासमा ८ करोड ५० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २ करोड रुपैयाँ बजेट बाँडफाँट गरिएको छ । बजेट सार्वजनिक गर्नुअघि नगरप्रमुख नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


नगरसभामा प्रदेश सांसद इन्द्रमणि पराजुली र जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले महालक्ष्मी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट बजेट ल्याएको भन्दै प्रशंसा गरे । नगरसभाले नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको छ । महालक्ष्मी नगरले यसअघि नगरको बेल्लै लोगो सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ । 

 

छथर जोरपाटीको बजेट साढे ४३ करोड बराबर प्रस्ताव

धनकुटाको छथर जोरपाटी धनकुटाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गरेको छ । पालिकाको जारी नवौँ गाउँ-सभाको तेस्रो बैठकमार्फत ४३ करोड ६७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।


पालिकाले ६ असारमा सुरु गरेको सभामा प्रस्तावित नीति तथा कार्यक्रमलाई ९ असारमा पारित गरेर बिहीबार बजेट सार्वजनिक गरेको हो । पालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बसेको गाउँसभामा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठले बजेट प्रस्तुत गरेकी थिइन् ।


श्रेष्ठले चालूतर्फ २९ करोड ७३ लाख २७ हजार र पुँजीगततर्फ १३ करोड २७ लाख ४० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् । बजेटमा आन्तरिक आयबाट ९७ लाख, सरकारबाट प्राप्त वित्तीय समानीकरणतर्फ ९ करोड १० लाख, राजस्व बाँडफाँटबाट ६ करोड २१ लाख ८९ हजार रुपैयाँ समावेश गरिनेछ ।


त्यस्तै, संघीय सरकारबाट ससर्त अनुदानतर्फ २० करोड २३ लाख, विशेष अनुदान ८३ लाख र समपुरक अनुदानबाट प्राप्त हुने अनुमानित १ करोड ३९ लाख रुपैयाँ बजेट निर्माणमा समावेश गरिएको छ । 


त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ५१ लाख १५ हजार, राजस्व बाँडफाँटबाट ३० लाख ६१ हजार, समपुरक अनुदान १ करोड, ससर्त अनुदान १ करोड २१ लाख ३३ हजार रुपैयाँ समावेश गरिएको छ ।


अल्या १ करोड ३ लाख ५४ हजार र करुना फाउन्डेसनबाट २० लाख १५ हजार बजेटको स्रोतको रूपमा समावेश गरिएको छ । सामाजिक सुरक्षा भत्ता, अन्य कार्यक्रम र संघीय अन्तरसरकारी हस्तान्तरण कार्यक्रम सिग्यासबाट भुक्तानी गर्नुपर्ने रकम यो बजेट अंकमा समावेश नगरिएको पालिका उपाध्यक्षले जानकारी दिइन् ।


सभामा उपाध्यक्ष श्रेष्ठले आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ निर्णयार्थ पेस गरेकी थिइन् । चालू आव २०७७/७८ को प्रस्तावित बजेट ३८ करोड ३६ लाख ६२ हजार रहेकामा नेपाल सरकारबाट प्राप्त थप बजेटसहित पालिकाको बजेट कुल ४९ करोड ३४ लाख रुपैयाँ थियो ।


आठराई त्रिवेणीको बजेट ४४ करोड बढी 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष मञ्जु पौडेल भट्टराईले गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, ससर्त, समपुरक र राजस्व बाँडफाँट तथा आन्तरिक स्रोत र आन्तरिक स्रोतअन्तर्गत नगद मौज्दात (अल्या) लाई आधार मानेर बजेट तयार गरेको जानकारी दिइन् ।


पालिकालाई संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वित्तीय समानीकरण अनुदानबापत प्राप्त ११ करोड ५० लाख, ससर्त अनुदानबापत १७ करोड ६३ लाख, समपुरक अनुदानबापत ४ करोड ६० लाख र राजस्व बाँडफाँटबापत ५ करोड ६२ लाख ९७ हजार गरी कुल ३८ करोड ४६ लाख ९७ हजार रुपैयाँको बजेट सिलिङ आएको छ । 


यस्तै, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड, वित्तीय समानीकरण अनुदान ६४ लाख १९ हजार, राजस्व बाँडफाँटतर्फबाट २१ लाख ५४ हजार ९ सय ८० र ससर्त अनुदानबाट ५ लाख ५४ हजार गरी कुल १ करोड ९१ लाख २७ हजार ९ सय ८० रुपैयाँको बजेट सिलिङ आएको थियो ।


यस्तै, पालिकाले आगामी आर्थिक वर्षमा ४१ लाख ५० हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएर बजेट बनाएको छ भने चालू आर्थिक वर्षबाट अल्या रकम (नगद मौज्दात) ३ करोड ५१ लाख १९ हजार रुपैयाँ अनुमान गरेको छ ।
यी सबै स्रोतलाई आधार मानेर पालिकाले बजेट तयार गरेको प्रमुख प्रशासकीय अधिकृत विजय इङ्नामले जानकारी दिए । 

 

कक्षा १२ सम्म निःशुल्क, डाक्टर पढ्न ५० प्रतिशत अनुदान

गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममार्फत आठराई त्रिवेणीले पालिकाभर कक्षा ११ र १२ अध्ययन निःशुल्क बनाउने घोषणा गरेको छ । 

 

पालिकाभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको अध्ययन शुल्क पालिकाले बेहोर्नेछ । यस्तै, प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई अनुदान उपलब्ध गराउने नीतिसमेत पालिकाले सार्वजनिक गरेको छ ।


एबीबीएस अध्ययन गर्न योग्य विद्यार्थीलाई पालिकाले अध्ययन शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ भने केन्द्रीय नीतिअनुरूप बालविकास शिक्षक र कर्मचारीलाई मासिक ७ हजार रुपैयाँ पालिकाले थप्ने भएको छ । 

 

पालिकाले एक वडा, एक कृषि पाठशाला स्थापना गर्ने नीति लिएको छ । बाल विवाहविरुद्ध सचेतना कार्यक्रम, अपांगता भएका व्यक्तिलाई जीवन निर्वाहको माध्यमका रूपमा सीप विकास तालिम, पशुपालक किसानलाई प्रोत्साहन, महिला सचेतना र उद्यमी प्रोत्साहन कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान र ज्येष्ठ नागरिक संरक्षण अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पालिकाको नीति छ । 


साकेला गाउँपालिकाले ल्यायो ३२ करोड ९० हजारको बजेट 

खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३२ करोड रुपैयाँ बढीको अनुमानित बजेट ल्याएको छ । बिहीबार सम्पन्न गाउँसभाले संघीय, प्रदेश सरकारबाट प्राप्त हुने रकम र पालिकाको आन्तरिक राजस्वको प्रक्षेपण रकम गरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित ३२ करोड ९० लाख ७३० रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

 

गाउँपालिकाका आर्थिक विकास संयोजक मिलन चाहारले प्रस्तुत गरेको बजेट भाषणमा कुल बजेटको ससर्त अनुदान, विशेष अनुदान, समपुरकबाहेकका बजेटबाट प्रशासनिक खर्च (चालू) तर्फ ५ करोड ६ लाख ५ हजार ७३० रुपैयाँ विनियोजन गरेपछि बाँकी ८ करोड ३४ लाख ६ हजार रुपैयाँको सीमांकनमा रहेर बजेट बनाएको उल्लेख छ ।


५ वटा वडा रहेको गाउँपालिकाले यो वर्ष वडामा सिलिङ नपठाई मागका आधारमा बजेट पठाएको जनाएको छ ।  बजेटका विषयमा असहमति जनाउँदै गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा नम्बर–१ बाँझेच्यानडाँडाका वडाध्यक्ष विजय गुरुङ, वडा नम्बर ४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलगायत कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा वहिष्कार गरेपछि आर्थिक विकास संयोजक चाहारले बजेट पेस गरेका थिए ।


वहिष्कारका बाबजुद चाहारले पेस गरेको नीति, कार्यक्रम तथा बजेटलाई गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बहुमतले अनुमोदन गरेका छन् । 

 

साकेला गाउँपालिकाका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ७ करोड ५० लाख, राजस्व बाँडफाँटअन्तर्गत ५ करोड ६ लाख १४ हजार र ससर्त अनुदानतर्फ १६ करोड ८४ लाख गरी २९ करोड ४० लाख १४ हजार रुपैयाँ प्राप्त हुनेछ ।

 

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानअन्तर्गत ४० लाख ८६ हजार, सवारी बाँडफाँटबाट २६ लाख ९१ हजार ७३०, समपुरक अनुदानबापत १ करोड र ससर्त अनुदानतर्फ ९९ लाख ७९ हजार गरी २ करोड ६७ लाख ५६ हजार ७३० रुपैयाँको सीमाभित्र रहेर बजेट ल्याइएको हो । गाउँपालिकाबाट १६ लाख २० हजार रुपैयाँ राजस्व रकम जम्मा हुने प्रक्षेपण गरिएको छ । 

 

सुनसरीका सबै स्थानीय तहको बजेट सार्वजनिक

सुनसरीका विभिन्न नगरपालिका तथा गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति, कार्यक्रम तथा बजेटसहितको खर्च विवरण बिहीबार सार्वजनिक गरेका छन् ।


स्थानीय निकाय पुनर्संरचनापछि जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम वर्ष अधिकांश स्थानीय निकायले महत्त्वाकांक्षी योजनासमेत सार्वजनिक गर्दै अगामी स्थानीय तहको निर्वाचनमा आ-आफ्नो उपस्थिति मजबुत बनाउने कामसमेत गरेका छन् ।

 

बिहीबार एकैसाथ सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, बर्जु, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकालगायत पालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरे ।

 

भोक्राहा नरसिंहको बजेट ४९ करोड

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको १०औँ गाउँसभामा कार्यवाहक अध्यक्ष पुनमकुमारी मेहताले आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुतिमार्फत बजेट सार्वजनिक गरिन् ।

 

गाउँपालिकाले चालूतर्फ २६ करोड ८९ लाख ४५ हजार २३९ र पुँजीगत खर्चतर्फ २२ करोड ५३ लाख ४३ हजार २३७ रुपैयाँसहित ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँको आयव्यय ल्याएको छ ।

 

आम्दानीतर्फ सरकारबाट ३९ करोड ७९ लाख ५१ हजार, प्रदेश सरकारबाट २ करोड ४६ लाख १० हजार ३ सय ४०, करुण फाउन्डेसनबाट १ करोड १८ लाख ५९ हजार, आन्तरिक स्रोतबाट ६ करोड ९५ लाख ९ हजार ७ सय ३३ र पिएलजी एसपीको ३ लाख ५८ हजार ४ सय ३ गरी ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो ।


१ देखि ८ नम्बर वडासम्मका वडा कार्यालय भवन निर्माण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषितर्फ विभिन्न कार्यक्रमका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको छ भने महिला स्वयंसेविकालाई अवलोकण भ्रमणसहित औषधी खरिद गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

त्यसैगरी शिक्षातर्फ कार्यक्रम खर्च गर्न मात्रै १९ शीर्षकमा ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले क्षमता विकासका लागि अभिमुखीकरण तालिम गोष्ठीसहितका कार्यक्रमसमेत गर्ने गरी बजेट विनियोजन गरेको छ ।

 

गाउँपालिकामा ससर्ततर्फको कार्यक्रमका लागि रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ २१ लाख, दलित घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा १९ लाख, सबैका लागि शिक्षाअन्तर्गत आधारभूत तहमा ५ करोड २५ लाख, माध्यमिक तहमा ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


त्यसैगरी युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४८ लाख, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणतर्फ १६ लाख, प्रधानमन्त्री रोजगारतर्फ ४० लाख, लघु उद्यम कार्यक्रमतर्फ ३२ लाख, खेलकुदतर्फ १ लाख, प्रधानमन्त्री कृषि आधुनीकरण कार्यक्रमतर्फ ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

 

इनरुवाको अनुमानित बजेट करिब ७० करोड

इनरुवा नगरपालिकाले आठौँ नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट नीति तथा कार्यक्रम पेस गरेको छ । उपप्रमुख जमुना गौतम पोखरेलले बजेट नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।

 

पोखरेलले नगरपालिकाको अनुमानित आयव्यय रकम ६९ करोड ९५ लाख ५२ हजार ४ सय २० रुपैयाँको बजेट पेस गरिन् । संघीय सरकारको वित्तीय समानीकरण १८ करोड ४४ लाख, राजस्व बाँडफाँट १० करोड २८ लाख ८९ हजार र ससर्त अनुदान २७ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

 

प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ८ लाख ८९ हजार, सवारी साधनको राजस्व बाँडफाँटतर्फ ८६ लाख ३३ हजार ४ सय २०, समपुरक अनुदान १ करोड र ससर्त अनुदान ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

 

यस्तै, आन्तरिक स्रोत मालपोत, लागत सहभागितासहित आव २०७७/०७८ को ससर्ततर्फको निकासा फिर्ता कुल १० करोड रुपैयाँ अनुमानित रकम बजेटमा समावेश गरिएको छ । नगरप्रमुख राजन मेहताले समृद्ध नगरको परिकल्पनाअनुरूपको नीति तथा कार्यक्रममार्फत बजेटमा समेटिएको बताए ।

 

त्यसैगरी इटहरी उपमहानगरपालिकाले २ अर्ब १७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने धरान उपमहानरले २ अर्ब रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । बराहक्षेत्र नगरपालिकाले १ अर्ब ५ करोड ५८ लाख ३२ हजार ५ सय रुपैयाँ बराबरको बजेट नगरसभाबाट सार्वजनिक गरेको छ ।

 

त्यस्तै, भोक्राहा नरसिंह गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड ४२ लाख ८८ हजार ४ सय ७६ रुपैयाँ बराबरको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै गाउँसभा सम्पन्न गरेको छ । यसैगरी देवानगञ्ज गाउँपालिकाले ५३ करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

 

रामधुनी नगरपालिकाको बजेट ७१ करोड, अनुमोदनमा रोक

सुनसरीको रामधुनी नगरपालिकाले ल्याउन लागेको ७१ करोड ५१ लाख ३७ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्न रोक लागेको छ । स्थानीय तहले १० असारभित्र आफ्नो गाउँ तथा नगरसभामा आगामी आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि रामधुनी नगरपालिकाको बजेट अनुमोदन हुनबाट रोकिएको हो । 

 

बजेटमा छलफल नभएको भन्दै नगरपालिका सदस्यले असहमति जनाएपछि नवौँ नगरसभाबाट ल्याउन खोजिएको ७१ करोड ५१ लाख ३७ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम अनुमोदन हुनबाट रोकिएको हो । नगरप्रमुख तथा नवाैँ नगरसभापति जयप्रकाश चौधरीले आइतबारसम्म नगरसभा स्थगित गरेका छन् ।


वडामा भौतिक पूर्वाधार, आर्थिक, सामाजिकलगायत लक्षित बजेटको अंकका विषयमा कार्यपालिकामा छलफल नभएकाले पुनर्विचार गर्नुपर्ने भन्दै हस्ताक्षर नगरी जनप्रतिनिधि नगरसभाबाट बाहिरिएपछि बजेट ल्याइन नसकेको हो । वडा नम्बर ३ का वडा सदस्य नारायण श्रेष्ठले छलफलबिना नगरसभामा पेस भएको बजेटबारे अन्योल रहेको बताए ।


वडा नम्बर १ वडाध्यक्ष महेश चौधरीले डुमैरिया-सैनीमैनी सडकअन्तर्गत २० लाख रुपैयाँ विनियोजन गर्ने नगरप्रमुखको आश्वासन भए पनि १० लाख दिइएको भन्दै आपत्ति जनाए ।  यस विषयमा नगरप्रमुख र वडाध्यक्ष चौधरीबीच चर्काचर्कीसमेत भएको थियो । 


यसैगरी वडा सदस्य कमल कार्की, योगेन्द्र खड्काले बजेटका विषयमा पुनः छलफल हुनुपर्ने माग राखेका थिए । 

(पालिका खबरदाताहरुकाे सहयाेगमा)