close

काम भएन भनेर मात्र हुन्छ, राजश्व बाँडफाँटको रकम खै ? (भिडियो वार्ता)

काम भएन भनेर मात्र हुन्छ, राजश्व बाँडफाँटको रकम खै ? (भिडियो वार्ता)

ADVERTISEMENT

सुर्खेत जिल्लाको चौकुने गाउँपालिकाका अध्यक्ष हुन् धीरबहादुर शाही । संघीय सरकारले राजश्व बाँडफाँटको सिलिङ अनुसारको बजेट गाउँपालिकालाई नदिएको गुनासो शाहीको छ । उनै शाहीसाँग पालिकाले ल्याएको बजेटको समीक्षा, चालु वर्षको बजेट कार्यान्वयनको अवस्था, कृषि र शिक्षामा पालिकाले गरेको योगदानलगायतका विषयमा पालिका खबरका लागि कारिस्मा कार्कीले गरेको कुराकानी :

 

२१ करोड हाराहारीको बजेट ल्याउनु भएको छ । जसले विकासका आयोजनादेखि गाउँगाउँमा हसाउने क्लवसमेत स्थापना गर्ने भन्नुभएको छ । रकम बाँडफाँट कसरी गर्नुभयो ? 

हामीले विगतका अपूरा योजनालाई पूरा गर्ने गरी बजेट बाँडफाँट गरेका छौँ । केही नया योजना ल्याएका छौँ । सबै क्षेत्रलाई समेटेर बजेट व्यवस्थापन गरेका हौँ । 


चालु वर्षकै बजेट खर्च गर्न सक्नुभएन । कोरोनालाई दोष दिने कि खर्च गर्ने क्षमता नभएको हो ? 

कोरोना र खर्च गर्ने क्षमता दुवैलाई हामी दोष दिदैनौँ । संघीय सरकारले हामीलाई ९ करोड ९९ लाखको राजश्व बाँडफाँटको सिलिङ दिएको थियो । तर, अहिलेसम्म ६ करोड बजेट प्राप्त भएको छ । बाँकी रकम नआएपछि हामीले केही गर्न सकेनौँ । त्यसपछि त्यो रकम अहिलेको बजेटमा सरेर आयो । गत आर्थिक वर्षमा पनि हामीले चार करोड ४५ लाख रकम पाएनौँ । यो वर्ष पनि ३ करोड ९९ लाख रकम पाएनौँ । माथिबाट आउने सिलिङका आधारमा हामीले बजेट विनियोजन गर्ने हो । त्यही अनुसार टेन्डर गर्नुपर्छ । तर, भुक्तानी गर्ने बेला रकम नआएपछि अर्को वर्षको बजेटमार्फत व्यवस्थापन गर्ने गरेका छौँ । गत वर्ष पनि हामीले त्यसरी नै व्यवस्थापन गरेका थियौँ । 


आगामी वर्षको बजेट र कार्यक्रममा हरेक महिनाको १५ गते श्रम दिवस मनाउने कुरो रहेछ, गाउँमै उद्यमशीलता विकास गर्ने पनि भनियो , तर बजेट चै साह्रै थोरै छ । कसरी कार्यान्वयन हुन्छन् यस्ता योजना ? 

२१ करोडमा ६ करोड हामीले चालुमै छुट्याएका छौँ । बाँकी रकममध्ये चार करोड वडामा जान्छ । बाँकी १० देखि ११ करोडबाट अन्य योजना सबै पूरा गर्नुपर्ने हुन्छ । तमाम काम गर्नुपर्ने स्थिति छ । रकमको भोलुम सानो हुने रकम नहुने हुँदा ठूलो बजेटका केही योजना पूरा गर्न सक्दैनौँ । हामी मर्कामा छौँ । जे जति गर्न सकिन्छ हामीले मितव्ययी पालना गरेर अघि बढेका छौँ । 


कृषि र शिक्षामा पर्याप्त लगानी भए मात्र पालिका समृद्ध बन्ने भिजन छ तपाईहरुको तर यसका लागि आहा ! भन्न लायक कार्यक्रम त देखिएनन् ? मौजुदा कार्यक्रमबाट यो उद्धेश्य हासिल होला र ? 

हरेक वर्ष पालिकाले केही नयाँ लक्ष्य लिने गर्दछ । तर, हाम्रो पालिकाको बजेटले मात्रै सम्भव छैन । त्यसका लागि हामीले आधारशीला मात्रै बनाएका हौँ । हामीले प्रदेश र संघीय सरकारसँग यस विषयमा लविङ गरिरहेका छौँ । लगानी गर्न हामीले अनुरोध गरिरहेका छौँ । हाम्रो बजेटले मात्रै लक्ष्य पूरा हुने अवस्था भने छैन । त्यसैले हामीले बाहिरी सहयोगको आह्वान गर्नुपर्ने नै हुन्छ । यो हाम्रो बाध्यता हो । 


अन्त्यमा, तपाईहरुको कार्यकालको अन्तिम बजेट हो । अव विस्तारै चुनावी माहोल बन्दैछ । यस्तो बेला तपाईले ल्याएको बजेट र नीति कार्यान्वयनका कस्ता रणनीति बनाउनु भएको छ ? 

बजेट कार्यान्वयमा समस्या छैन । हामीले प्रत्येक वर्षको चैतमै योजना भ्याउने गरेका छौँ । भुक्तानी दिन समय लाग्ने हो । नागरिक हामीसँग सन्तुष्ट पनि छन् । हामी हुन्जेलसम्म योजना कार्यान्वयन द्रुत गतिमा अघि बढाउँछौँ ।