रुकुमपूर्व- पछिल्लो समय रुकुमपूर्व सिस्ने गाउँपालिका- २ मा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनमा अग्रसर भएका हुन् ।
सिस्ने- २ नायगाडका खड्कबहादुर केसीले १०० बाख्रा पालिरहेका छन् । खरी, अजम्मरी, जमुनापारि र स्थानीय जातका बाह्रै महिना १०० वटा बाख्रापालनबाट केसीले वार्षिक साढे २ लाख रुपैयाँ आम्दानी लिँदै आएको बताउँछन् । स्नातक उत्तीर्ण केसीले एक वर्ष निजी विद्यालयमा अध्यापन गरे तर उक्त अध्यापनको कमाइले घरखर्च चल्न नसकेपछि बाख्रापालन व्यवसायमा हात हाले ।
२०७२ सालदेखि सानोभेरी बाख्रा फार्म दर्ता गरी ५० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले वर्षमा २५ देखि ३५ वटा खसी/बोका र साना पाठापाठी बिक्री गरेर मनग्य आम्दानी गर्दै आएको बताए ।
‘सरकारी जागिर गर्ने रुचि थियो तर पूरा नभएपछि विदेसिनुभन्दा गाउँमै बाख्रापालन सहज हुने देखेर व्यवसाय सुरु गरेको हुँ', केसी खुसी हुँदै भन्छन् । केसीको गाउँ नायगाडमा तीन जनाले बाख्रा फार्म दर्ता गरी बाख्रापालन गरिरहेका छन् ।
केसीले गाउँमै बाख्रापालनबाट कमाएको आम्दानीबाट लोभिएर नायगाडकै कृष्ण बोहराले सात वर्ष विदेशको बसाइ टुंग्याएर २०७५ बाट देवकोटा बाख्रा फार्म दर्ता गरी बाख्रापालनबाट वार्षिक डेढ लाख आम्दानी गर्दै आएका छन् ।
‘६०-६५ वटा बाख्रामध्ये वार्षिक २०-२५ वटा खसीबोका बेचेर वार्षिक डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको छ’, बोहराले भने । बाख्रापालनले घरव्यवहार चलाउन, छोराछोरीलाई निजी बोर्डिङमा पढाउन र केही आम्दानी बचत गर्नसमेत सकिएको उनी बताउँछन् ।
सरकारले बोयर जातको बोको अनुदानमा दिए बाख्रापालन व्यवसायलाई दीर्घकालसम्म लैजाने सोचमा उनीहरू छन् ।
रुकुमपूर्वका तीनवटै स्थानीय तहमा भेडा, बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ ।भेडा, बाख्राका लागि चरन क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । गर्मी समयमा भेडा, बाख्रा चरिचनका लागि उच्च लेक तथा बुकी पाटनमा लग्ने गरिन्छ भने जाडोको बेला औलो तथा बेँसीतर्फ झारिने गरेको छ ।
यहाँका खसीबोका डोल्पा, रुकुम पश्चिमसँगै अरू छिमेकी जिल्लामा खरिद हुने गरेको छ । खसीबोकाको माग भएअनुसार पूर्ति गर्न अझै नसकिएको बाख्रापालन व्यवसायी बताउँछन् ।