close

जुम्लामा १ अर्ब बढी लागतको धौलीगाड खानेपानी आयोजना निर्माण हुँदै

९ हजार १०८ घरधुरीका आँगनमै छेलोखेलो पानी 

जुम्लामा १ अर्ब बढी लागतको धौलीगाड खानेपानी आयोजना निर्माण हुँदै

९ हजार १०८ घरधुरीका आँगनमै छेलोखेलो पानी 

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण हुने भएको छ ।

 

पहिलो चरणको टेन्डर भएको आयोजना निर्माणको लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ । लामो प्रयासपछि आयोजना निर्माण गर्न विद्युतीय खरिद प्रणालीमार्फत टेन्डर भएको हो ।

 

जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको रोहबरमा टेन्डर गरिएको संघीय खानेपानी आयोजनाले जानकारी दिएको छ ।

 

आयोजना प्रमुख महेश न्यौपानेका अनुसार १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ लागतको बहुवर्षीय आयोजनाको पहिलो चरणको टेन्डर भएपछि आयोजनाले मूर्त रूप पाएको छ ।

 

स्थानीय सरकारको रोहबरमा विद्युतीय खरिद प्रणालीबाट हिमाली क्षेत्रको सबैभन्दा ठूलो ८ हजार २९२ धारा निर्माण हुने खानेपानी आयोजना टेन्डरमा गएको हो ।

 

जुम्ला सदरमुकाममा खानेपानी अभाव भइरहेको समय चन्दननाथसहित ३ वटा स्थानीय तहका ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुनेछन् । 

 

करिब १२ वर्षपछि आयोजना टेन्डर भएको हो । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेन्डरमा गएपछि ठूलो फाइदा भएको बताए । यो आयोजनालाई मूर्त रूप दिन सहयोग गर्ने स्थानीय सरकारसहित सबैलाई धन्यवाद दिए ।

 

आयोजनाको १ प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय ३ वटै तहले १ करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट पहिलै बैंक धरौटी राखेका छन् ।

 

यसैगरी ३ वटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । विभिन्न बाधा÷अड्चनबीच राष्ट्रिय योजना आयोगले फाइल अगाडि बढाएपछि आयोजनाको टेन्डर जारी गर्न सफल भएको छ । आयोजनाको ७० किलोमिटर पाइप लाइनबाट खानेपानी ल्याइने योजना छ ।

 

२०६६ मा स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समितिको पहल र जनप्रतिनिधि, सरकार र सरोकारवाला निकायको सहयोगले आयोजना टेन्डरमा जान सफल भएको हो ।

 

आयोजना निर्माणका लागि कर्णाली सरकारका जलस्रोत तथा ऊर्जामन्त्री दीनबन्धु श्रेष्ठ, पूर्वमन्त्री नरेश भण्डारी, पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धीरेन्द्रराज गिरी, पूर्वखानेपानीमन्त्री प्रेमहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री, स्थानीय प्रशासनलगायतले पहल गरेको समन्वय उपप्रमुख बुढाले जानकारी दिए ।

 

आयोजना करिब ४ हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने स्थानमा मूल भएकाले सुरक्षित ल्याउन आधुनिक प्रविधिका सामग्री प्रयोग गरिनेछ ।