मुसीकोटमा उद्यमी खोजी अभियान

को बन्ला नगरपालिकामा उत्कृष्ट उद्यमी ?


  • change font
  • change font
  • change font

गुल्मी- पहाडी जिल्लाको समृद्धिको पहिलो आधार कृषि, पशुपालन र पर्यटन हो । यो क्षेत्रलाई तीन वटै सरकारले प्राथमिकता दिएका छन् । तर, अझै पनि कृषि र पशुपालनप्रतिको दृष्टिकोण परिवर्तन भएको छैन । सोही कारण बजेट खर्च भएअनुसारको प्रतिफल प्राप्त भएको छैन । कृषकका सोच र कृषि प्रणालीनै परम्परागत नै छन् ।


अनुदानले कृषकलाई परनिर्भर बढी बनाएको छ । स्थानीय सरकारसँग बजेटका सीमा छन् । तर, मुसीकोटमा सञ्चालित ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले थोरै बजेटमा पनि धेरै काम गर्न सकिने गतिलो उदाहरण प्रस्तुत गरेको छ ।


कृषकका बिरलै स्पर्धा हुन्छन् । यो कार्यक्रमले सोही स्पर्धाको माध्यबाट कृषकको पहिचान, व्यावसायिक सोच र सबलीकरणमा टेवा पुर्याइरहेको छ । ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रममार्फत मुसीकोट नगरपालिकाका १ सय २८ जना उद्यमीको पहिचान भएको छ । १ सय २८ मध्ये स्पर्धाबाट ४० र २० हुँदै १० छानिएका छन् । उनीहरूले अगामी १४ साउनमा उत्कृष्ट २ को लागि स्पर्धा गर्दैछन् । 


उत्कृष्ट २ ले कार्यक्रमको तर्फबाट जनही १/१ लाख र उत्कृष्ट १० ले जनही ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने मुसीकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिए । १४ साउनमा १० उत्कृष्टले आफ्नो उद्यम यात्रा र आगामी तीन वर्षको व्यावसायिक योजना प्रस्तुत गर्नेछन् । यसको आधारमा मूल्यांकन गरेर उत्कृष्ट २ घोषणा गरिने घिमिरेले बताए । 

 

परदेश बिर्सिएर कृषि कर्ममा

मुसीकोट नगरपालिका वडा नम्बर १ का ३० वर्षीय देवबहादुर घर्ती । मुसीकोटका उत्कृष्ट १० उद्यमीमध्येका एक हुन् । उनले ४ वर्षदेखि व्यावसायिक रूपमा कुखुरा र माछापालन गरेका छन् ।


कुखुरा र माछासँगै फ्रेस हाउस र होटल पनि सञ्चालन गरेकाले राम्रो आम्दानी गरेका छन् ।  उनले ११ वर्ष मलेसिया र कतारमा बिताए । गल्फमै भए पनि घर्तीले कमाइ राम्रै गरेका थिए । तर, गाउँमै केही गर्ने सोच पलाएपछि परदेश फर्किए ।


अहिले ७ सय कुखुरासँगै ४ हजार भुरा माछापालन गरेका छन् । आफैंले माछा र कुखुरापालन गरेकाले फ्रेस हाउस र होटल पनि राम्रै चलेको छ । सोही व्यवसायमा घर्तीले करिब २४ लाख रुपैयाँ लगानी गरेका छन् । खर्च कटाएर मासिक ४०/४५ हजार रुपैयाँ घरमै आम्दानी भएपछि परिवारकै बीचमा खुसी र सन्तुष्टि मिलेको उनी सुनाउँछन् । 


घर्ती मुसिकोटका १० उत्कृष्ट उद्यमीमध्येका हुन् । उनी दायित्व अभियान र मुसीकोट नगरपालिकाको सहकार्यमा सञ्चालित ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रममा १ सय २५ कृषक उछिन्दै १० उत्कृष्टमा परेका छन् ।


यो कार्यक्रमले व्यावसायिक ज्ञान, सीप र मनोबल थपेको घर्तीको भनाई छ । ‘कार्यक्रममार्फत आफ्नो पहिचानसहित व्यावसायिक योजना र दृष्टिकोणमा परिवर्तन भयो,’ उनले भने ,‘परियोजन सकिए पनि आफ्नै खुट्टामा जिउन सिकेको छु ।’ घर्तीले उत्कृष्ट १० मै पनि सन्तुष्टि मिलेकाले एक नम्बर बन्ने आशा र दाबी नभएको बताए ।

 

राजधानीको कलेज छाडेर गाउँ

मुसीकोट नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय कृष्ण चालिसे पनि नगरका १० उत्कृष्ट उद्यमीमध्येका एक हुन् । उनले झन्डै एक दशक काठमाडाैंका कलेजमा पढाए । भूकम्प र नाकाबन्दीको संकटका बेला काठमाडौंमा पाएको सास्तीले गाउँ फर्कायो । फर्किएर २०७५ बाट केरा, कफी र कागतीको व्यावसायिक उत्पादन थाले ।


उनी आफू मात्रै गाउँ फर्किएनन्, बाँझा जमिन बगैँचा बनाए । चालिसेले परम्परागत खेती गरिँदै आएको १० रोपनी जग्गामा २ सय कफी र १ हजार केराका बोट रोपे । बाँकी १० रोपनी जमिनमा ५ सय कागती रोपेका छन् । केराले उत्पादन दिन थालेको २ वर्ष भयो । आउँदो वर्षबाट कागतीले पनि उत्पादन दिने उनी बताउँछन् ।


उनकहाँ कफी, केरा र कागतीसँगै १५ बटा बाख्रा पनि छन् । चालिसेले मौरीको व्यावसायिक उत्पादन गर्ने सोच बनाएका छन् । उनले ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले आँखा खोलिदिएको प्रतिक्रिया दिए ।


मुसीकोटमा कृषककै रूपमा रहेर काम गरिरहेको अवस्थामा दायित्वले १ सय २८ मध्येबाट उत्कृष्ट १० को पहिचान दिएकामा उनले खुसी व्यक्त गरे ।  ‘दायित्वले मलाई सीपसँगै र मनोबल मात्रै थपेन, नामजस्तै थप दायित्व बोकाएको छ,’ उनले भने, ‘कृषि र कृषकलाई हेर्ने नगरबासीको सोचमा पनि परिवर्तन ल्याएको छ ।’


उनले उद्यमीहरूबीच अहिलेसम्मको स्पर्धा स्वच्छ भएकाले एक नम्बर जो भए पनि उद्यमी नै हुने बताए । 

 

खोरभरि बाख्रा, मनभरि आँट 

मुसीकोट नगरपालिका वडा नम्बर ४ का सुदर्शन सिंह पनि १० उत्कृष्ट उद्यमीमध्येका हुन् । सिंह गाउँकै पुराना कृषक हुन । उनका बाउबाजेले कृषि र पशुपालननै गरे । पहिलेको कृषि कर्म परिवारको जोहोकै लागि हुन्थे । गोठका छेउमा बाख्रा बान्थे । चौर र जंगलको भरमा पशुपालन हुन्थे ।


सुदर्शनले पनि पहिले थोरै-धेरै बाख्रा पाल्थे । त्यतिबेला परम्परागत सीप र सोचले व्यावसायिक बाख्रापालन गर्न सकेनन् । २०७३ बाट व्यावसायिक रूपमा बाख्रा पाल्न थालेका छन् । अहिले सिंह परिवासँग खोरभरि बाख्रा, बारीभरि घाँस र मनभरि आँट छ । ४८ वटा बाख्रासहित उन्नत जातका भुइँ र डाले घाँसको नर्सरी सिंह परिवारले गरेको छ ।


उनले यसमा करिब १८ लाख रुपैयाँ लगानी गरेका छन् । वार्षिक साढे २ देखि ३ लाख रुपैयाँ आम्दानी पनि भइरहेको छ । 


सिंह पनि दायित्वमार्फत आधुनिक व्यावसायिक कृषि सोच पाएकामा खुसी छन् । उनले हरेक क्षेत्रमा योजनाअनुसारको लक्ष्य महत्त्वपूर्ण भएकाले ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले उद्यमीहरूबीच निष्पक्ष स्पर्धा र व्यावसायिक योजना निर्माणका विषयमा प्राप्त गरेको सीप अविस्मरणीय भएको बताए ।

 

नयाँ अभ्यास: रचनात्मक काम

मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रम नयाँ अभ्यास भएकाले थुप्रै कुरा सिक्ने मौका मिलेको बताए ।

 

पछिल्लो समय कृषकमा अनुदानले परनिर्भरता सिर्जना गरेकाले दायित्वले आफ्नै खुट्टामा अभिएर व्यवसाय सञ्चालनमा दिएको दृष्टिकोण धेरै महत्वपूर्ण भएको भुसालको प्रतिक्रिया छ । नगरपालिकामा सञ्चालन भएको उद्यमी स्पर्धाले उनीहरूको पहिचानसँगै उत्साह भरेको उनले बताए ।


प्रत्यक्ष रूपमै कृषक र तिनको उद्यम अवलोकन गरेर स्पर्धाको माध्यमबाट व्यवसाय सबलीकरणमा परियोजनाले खेलेको भूमिका उदाहरणीय रहेको भुसालको भनाइ छ । परियोजनाले समयमै काम सम्पन्न गरे पनि गत वर्षदेखि कोभिडले स्पर्धालाई अन्तिम गर्न नसकिएको उनले जानकारी दिए । 

 

उद्यमीको मनोबल मर्दैन 

मुसीकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले कृषकसँग नगरपालिकाको नयाँ सम्बन्ध स्थापित भएको सुनाए । सापकोटाले ठूलो बजेटबिनै नगरपालिकाभित्रका उद्यमीको पहिचान, उद्यमशीलता विकाससँगै उनीहरूको मनोबलमा आएको परिवर्तन नै कार्यक्रमको प्रमुख उपलब्धि भएको उनले बताए ।


परियोजन समाप्त भएकाले पहिचान र स्पर्धामा आएका उद्यमीहरूलाई निरन्तर सहयोग गरेर तिनको मनोबल जोगाइराख्नु नै आफूहरूको प्रमुख दायित्व भएको सापकोटाले जानकारी दिए । उद्यमीहरूको नगरपालिका, बैंक तथा वित्तीय संस्था, व्यवसायी र स्थानीयसँग नयाँ सम्बन्ध जोडिएकाले पुँजी र बजारको अभावका कारण कर्म विचलित नहुने उनको दाबी छ ।


‘थोरै बजेटबाट धेरै रचनात्मक काम गर्न सकिने उदाहरण ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले प्रस्तुत गर्‍यो,’ उनले भने, ‘स्थानीय तहले पनि नयाँ अभ्यास गर्न सकिन्छ ।’

 

उद्यमशील नेपाल निर्माणको अभियान

कार्यक्रम २०६९ बाट उद्यमशील नेपाल निर्माणमा लागेको छ । पौने दशकदेखि युवा रोजगारी, नेतृत्व विकास, ग्रामीण उद्यमशीलता प्रवद्र्धन र नीतिगत अनुसन्धानको क्षेत्रमा नवीनतम काम गर्दै आएको छ ।


उद्यममार्फत आर्थिक वृद्धिलाई बढावा दिने, उद्यम केन्द्रित सुशासन प्रणालीको सुदृढीकरण गर्ने र समुदाय परिचालनमार्फत मर्यादित रोजगारीलाई बढावा दिने प्रमुख उद्देश्य रहेको दायित्व अभियान लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक सञ्जय पोख्रेलले बताए ।


ग्रामीण उद्यम विकास कार्यक्रम, तथ्यमा आधारित अनुसन्धान र नीतिगत पैरवीसँगै नेपाल जनप्रशासन सेवा फेलोसिप कार्यक्रममार्फत उद्यमसँग सम्बन्धित नीति निर्माण र कार्यान्वयनमा टेवा पुर्याइरहेको पोख्रेलले सुनाए ।


‘यो कार्यक्रमले तालिम दिएर मात्रै छाड्दैन । उद्यमीलाई उद्यम परितन्त्रसन्त्रसँग जोडेको हुन्छ,’ उनले भने, ‘व्यावसायिक सोचसँगै सीप प्रदान गर्छ ।’