close

कन्काईमा धमाधम बन्दैछ कभर्ड हल (भिडियो खबर)

कन्काईमा धमाधम बन्दैछ कभर्ड हल (भिडियो खबर)

ADVERTISEMENT

झापा- कोरोनाका कारण देशमा निषेधाज्ञा जारी हुँदा अधिकांश मानिस फुर्सदिला बने । यो बेला इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग अत्याधिक बढ्यो । त्यति मात्र होइन खेलकुदका क्रियाकलाप पनि भौतिक रूपमा हुन सकेन । बालबालिका पनि शारिरिक रूपमा खेलिने खेल भन्दा मोबाइल वा कम्प्युटरमा खेलिने खेलमा अभ्यस्त भएका छन् ।

 

खेल मानव जीवनको एक महत्वपूर्ण अंग हो । खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भुमिका खेलेको हुन्छ भन्ने बुझेर पछिल्लो समय स्थानीय सरकारले यसको विकासका लागि काम गरिरहेको छ । यसकै उदाहरण हो, झापाको कन्काई नगरपालिकामा निर्माण भएको कभर्ड हल । 


झापाको कन्काई नगरपालिका ९ मा स्थानीय युवाको पहलमा कभर्ड हल निर्माण भइरहेको छ । मानव स्वास्थ्यका लागि खेलकुद अनिवार्य छ । यसको विकास गरिनुपर्छ भन्ने अभिप्रायमा नगरपालिकाले हलको निर्माण सुरु गरेको हो । करिव ५२ लाखको लागतमा निर्माणको अन्तिम चरणमा पुगेको हल घैलाडुब्बा कभर्ड हल निर्माण उपभोक्ता समितिले बनाएको हो । बाहिर खुला वातावरणमा खेलकुदका कार्यक्रम गर्दा वर्षाले खेल्न नै मुस्किल हुने हुँदा कभर्ड हल बनेसँगै युवा खुसी भएका छन् । 

 

झापामा खेलकुदको विकासका लागि आवश्यकता महसुस गरेर स्थानीय घैलाडुब्बा युवा क्लबको पहलमा कभर्ड हलको निर्माण गरिएको हो । क्लवले प्रदेश सांसददेखि स्थानीय जनप्रतिनिधिसम्मलाई घच्घच्याउँदा बल्ल यो हल निर्माणको अन्तिम चरणमा पुगेको छ । सांसद विकास कोषको १२ लाख रुपैयाँबाट निर्माण सुरु भएको काममा नगरपालिका र स्थानीय श्रमदान गरि करिव ५५ लाख रुपैयाँ खर्च भइसकेको छ । निर्माणको अन्तिम चरणमा पूगेको हलमा शौचालय निर्माणसँगै बिजुली बत्तीकाे काम बाँकी छ । जसका लागि स्थानीय तहले पहल गरिदिए दुई महिना भित्रमै खेलकुदका कार्यक्रम सुरु हुने छन् । 


हल निर्माणका लागि स्थानीय श्री आदर्श विद्या मन्दिर प्राविधिक माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएको छ । बाहिरी खेलकुदका गतिविधिसँगै विद्यालयका आन्तरिक खेल र कार्यक्रमको सहजताका लागि जग्गा निःशुल्क दिएको विद्यालय प्रशासनले जनाएको छ । स्थानीय स्तरबाटै विभिन्न खेलकुदका गतिविधिलाई चलायमान बनाउन र स्थानीय तहहरुले खेलकुदका गतिवधि गर्नका लागि भौतिक पूर्वाधार निर्माणमा कन्काइ नगरपालिकाले जोड दिएको हो ।

 

खेलकुदका लागि सुविधा समपन्न कभर्ड हल निर्माणले कन्काइ नगरपालिका मात्र नभइ जिल्ला हुँदै सिंगो देशलाई नै फाइदा पुग्ने नगरको विश्वास छ । शारीरिक व्यायाम मानिसका लागि अनिवार्य सर्तका रुपमा जोडिनु पर्दछ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस् नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक देखिन्छ । खेलकुदको माध्यमबाट विश्वमा जोडिने हुँदा र देशको गौरव बढाउने हुँदा अब राज्य त्यसतर्फ गम्भीर बन्नु नै पर्दछ ।