close

नमोबुद्धको वडा नम्बर २ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

नमोबुद्धको वडा नम्बर २ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माणसँगै अब स्थानीयलाई सेवा प्रवाह थप सहज हुनेछ ।

 

नमोबुद्धको वडा नम्बर २ रातमाटामा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्रको बुधबार नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन
गरे । २०७४ को स्थानीय निर्वाचनपछि निर्माण भएर उद्घाटन भएको वडा नम्बर २ को कार्यालय दोस्रो हो । 

 

यसअघि ४ साउनमा वडा नम्बर ११ को वडा कार्यालयको सुविधासम्पन्न भवन उद्घाटन गरिएको थियो । नमोबुद्ध नगरपालिकाले नगरबासीलाई सहज रूपमा सेवा प्रदान गर्न वडा कार्यालय तथा स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो ।

 

सोहीअनुसार पहिलो चरणमा वडा नम्बर ११ सहित वडा ३ र ६ को वडा कार्यालय निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो चरणमा थालिएको वडा नम्बर २ को भवन निर्माण सम्पन्नपछि उद्घाटन गरिएको छ भने वडा नम्बर ७, ८, ९ र ११ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

यसै आर्थिक वर्षमा वडा नम्बर १, ४ र ५ को कार्यालय निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । नगरपालिकाले नगरको प्रमुख प्रशासकीय भवन निर्माणको कामसमेत सकिइसकेको छ ।

 

वडा नम्बर २ को भवन निर्माणका लगि ४० लाख ७४ हजार ५ सय ७१ रुपैयाँमा सिद्धिविनायक निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले सबै वडाको सुविधासम्पन्न कार्यालय भवन निर्माण गर्ने जिल्लाको पहिलो पालिकाको रूपमा नमोबुद्ध रहने बताए ।

 

बाँकी वडा कार्यालयको भवन निर्माण यही आर्थिक वर्षमा सम्पन्न हुने तथा सबै वडाको स्वास्थ्य संस्थाको भवनसमेत निर्माण सकिने उनले जानकारी दिए । चुनावी प्रतिबद्धताअनुसार नगरको समग्र विकासका लागि लागिरहेको त्यसैको परिणामस्वरूप भौतिक पूर्वाधारदेखि सामाजिक विकाससम्मका कार्य अघि बढिरहेको उनको भनाइ छ ।

 

नमोबुद्ध बृहत् खानेपानी आयोजना, मेथिनकोट अस्पतालको स्तरोन्नति, मुख्य सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य जनप्रतिनिधि आएपछि भएको उनले बताए ।स्वास्थ्य क्षेत्रका लागि विशेष योजनासहित अघि बढेको र सोहीअनुसार जिल्लाकै नमुना आइसोलेसन केन्द्र सञ्चालन गरिएको, मेथिनकोट अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्थापन गर्न लागिएको तिमल्सिनाले जानकारी दिए ।

 

महिला, युवा, किसान तथा अन्य लक्षित वर्गका लागि चालू आर्थिक वर्षमा पनि विशेष कार्यक्रम र योजना तय गरिएको उनको भनाइ छ । निर्वाचित भएदेखि नै सुरु गरिएको एक घर एक धाराको अभियान तीव्र रूपमा सञ्चालन भइरहेको तिमल्सिनाले बताए ।

 

यस्तै, नगरपालिका उपप्रमुख रामदेवी तामाङले समग्र नगरको विकासमा आफूहरू लागिपरेको बताउँदै यसमा प्रत्यक्ष साथ र सहभागिताका लागि नगरबासीलाई आग्रह गरिन् ।

 

पलब्ध पूर्वाधारको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पूर्वाधार विकासलाई नगरले प्राथमिकताका साथ अघि बढाएको बताइन् । कोरोना महामारीका कारण सोचे जसरी काम गर्न नसकिए भए पनि चुनावी प्रतिबद्धता पूरा गर्न निरन्तर क्रियाशील भइरहेको तामाङको भनाइ थियो ।

 

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नगरबासीलाई सेवा प्रवाहमा थप सहजता आओस् भन्ने ध्येयले सबै वडामा कार्यालय भवन निर्माण भइरहेको जानकारी दिए । नगरबासीको सुविधाकै लागि अनलाइन र मोबाइल एपमार्फत राजस्व भुक्तानी व्यवस्था गरिएको उनले बताए ।

 

अहिले नगरपालिकाले विकासको मार्गचित्र र आधारशिला खडा गरेको र आगामी दिनमा त्यसैको आधारमा समग्र नगरको विकास र उन्नतिका योजना निरन्तर अघि बढ्ने पौडेलको धारणा छ । गाउँ–गाउँमा सिंहदरबार नारालाई व्यवहारमै कार्यान्वयन गर्न नगरपालिका तल्लीन भएको उनको भनाइ छ ।

 

वडा नम्बर २ का वडाध्यक्ष सञ्जीव ढकालले चुनावी प्रतिबद्धताअनुसार वडाबासीको विकासलाई सधैँ प्राथमिकतामा राखेर काम हुँदै आएको सुनाए । यो वर्षको अन्त्यसम्म चुनावी प्रतिबद्धताअनुसारका धेरैजसो काम सम्पन्न हुने उनको दाबी छ ।

 

वडाबासी, राजनीतिक दललगायत सरोकारवालाको सहयोगका कारण भौतिक एवं सामाजिक विकासका कार्य भइरहेको ढकालले बताए । खानेपानी सडक, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा विगतमा भन्दा धेरै परिवर्तन आइसकेको उनको भनाइ छ ।

 

वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले जनतालाई सेवा प्रवाहमा सहजीकरण होस् भन्ने उद्देश्यसहित जनप्रतिनिधि लागिपरेको बताए ।

 

वडा सचिव सञ्जु गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा कार्यालयका लागि जग्गा उपलब्ध गराउने माथे ओस, नगर उद्योग वाणिज्य संघ नमोबुद्धका अध्यक्ष वसुनारायण श्रेष्ठ, जनकल्याण माविकी प्रधानाध्यापक लक्ष्मी अधिकारी, समाजसेवी कुमार दाहाल, नगर कार्यपालिका सदस्य अमृता अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा उपलब्ध गराउने सीता माथे ओस दम्पती, जग्गाका लागि सहजीकरण गरिदिने स्थानीय समाजसेवी गोविन्द घिमिरे तथा निर्माण कम्पनी सिद्धिविनायक निर्माण सेवाका निर्मल लामालाई सम्मान गरिएको थियो ।