close

आहा ! जुम्ला ढिमकोटको यो विद्यालय

आहा ! जुम्ला ढिमकोटको यो विद्यालय

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिकाले वडा- ५ को ढिमकोटमा डेढ करोड रुपैयाँको लगानीमा भौतिक संरचनासहितको भवन निर्माण गरेको छ । विकास साझेदार यूएनडीपी, किडार्क नेपाल जुम्ला र गाउँपालिकाको संयुक्त लगानीमा उक्त विद्यालय भवन निर्माण भएको हो ।


भवन निर्माणमा यूएनडीपीको ८५ लाख २६ हजार ४०० र तिला गाउँपालिकाको ५५ लाख गरी एक करोड ५५ लाख ८४ हजार रुपैयाँ भन्दा बढीको लागत रहेको छ । दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि सामुदायिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण गरिएको हो ।


विद्यालयको पहुँच बाहिर रहेका किशोरीलाई अध्ययनमा ल्याउन मैत्रीपूर्ण शौचालयदेखि पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको छुट्टै बैठक हल, कक्षाकोठा र डेस्क-बेन्चसहितको दुई तल्लाको आठ कोठे पक्की नमुना भवन निर्माण भएको छ । निर्माण गरिएको विद्यालय भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको किडार्क नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए ।

 

किडार्क नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त भवन जिल्लाकै नमुना र सुविधायुक्त छ । भवन निर्माणमा संलग्न प्राविधिक अजित थापाले भने, ‘अपांगमैत्री शौचालय, किशोरीका लागि बटन थिच्दा अटो स्यानिटरी प्याड आउने मेसिन, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिको बैठक कक्ष, कार्यालय कोठा र १० कक्षासम्मका कक्षा कोठा छन् ।’


महिनावारी भएका बेला विद्यालयमा नआउने किशोरीलाई विद्यालयको पहुँचमा ल्याउन स्यानिटरी प्याडदेखि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्द शाहीले जानकारी दिए ।


उनले भने, ‘अहिले पनि कर्णालीमा किशोरी शिक्षाको दूरवस्था छ । विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा देवता रिसाउने र विद्या नष्ट हुने डरले विद्यालय छाड्ने किशोरीको संख्या बढी छ । तर, नमुना सुविधायुक्त भवन निर्माणले तिलाका सयौँ किशोरीलाई विद्यालयमा ल्याउन मद्दत गर्ने विश्वास छ ।’


तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले दिगो विकास लक्ष्यको अवधारणाअनुसार नै शिक्षा क्षेत्रको लगानीमा जोड दिइएको बताए ।  ‘जिल्लाकै नमुना भवन निर्माण भए पनि भवन जस्तै नमुना र गुणस्तरीय शिक्षा दिने चुनौती थपिएकाले योजनाबद्ध ढंगबाट शिक्षा क्षेत्रको सुधारमा अघि बढ्छौँ’, उनले भने । 


विभिन्न योजना अनुगमनका क्रममा जुम्ला पुगेका कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दक्ष जनशक्ति उत्पादन गर्न, स्वावलम्बी नागरिक बनाउन शिक्षा क्षेत्र पहिलो जग भएको बताए । उनले भने, ‘विद्यालयको पूर्वाधार नमुनायोग्य बनेको छ । अब पूर्वाधार जस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने र शैक्षिक गुणस्तर कायम गर्ने सवालमा पालिका गम्भीर हुनुपर्छ ।’


पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा आर्थिक विकासका लागि प्रदेश सरकारले आवश्यक लगानी गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।