close

चौरपाटीलाई हरियाली बनाउन ४१८ वटा रिचार्ज पोखरी निर्माण

चौरपाटीलाई हरियाली बनाउन ४१८ वटा रिचार्ज पोखरी निर्माण

Trulli
ADVERTISEMENT

अछाम- अछामको चौरपाटी गाउँपालिका पानीको मुहान र वातावरण संरक्षणका लागि रिचार्ज पोखरी निर्माणमा जुटेको छ । ‘३६४ दिन आफ्नो कामका लागि उठौँ, एक दिन वातावरण संरक्षणका लागि जुटाैँ’ अभियानअन्तर्गत चौरपाटीका ७ वटै वडाका स्थानीय, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल वातावरण जोगाउन सक्रिय भएका हुन् ।


हात–हातमा, फाउरा कोदालो, हँसिया, गैटी, सब्बल लिएर २९ साउनदेखि पालिकाले संरक्षण अभियान थालेको हो । अभियानअन्तर्गत कर्मचारीलगायत करिब तीन हजार स्थानीयको सहभागितामा चौरपाटी गाउँपालिकाका ७ वटै वडामा तीन फिटसम्मका ४१८ वटा रिचार्ज पोखरी निर्माण गरिएका छन् ।


७ वटै वडाका २ हजार ७ सय जनाले गाउँपालिकाको रिचार्ज पोखरी निर्माण अभियानमा श्रमदान गरेको चौरपाटी गाउँपालिका अध्यक्ष हर्क साउदले जानकारी दिए । वातावरण संरक्षण अभियानअन्तर्गत चौरपाटी गाउँपालिकामा सानाठूला गरी करिब साढे ७ हजार रिचार्ज पोखरी निर्माण भएका छन् ।


प्राकृतिक सम्पदा जल, जंगल, जमिन, जंगली जनावर, वस्तुभाउ र चराचुरीको संरक्षण अभियान सुरु गरिएको अभियानमा साढे ३ हजार बढी ३ फिटसम्मका रिचार्ज पोखरी निर्माण गरिएको अध्यक्ष साउदको भनाइ छ ।


यो वर्ष चौरपाटी गाउँपालिकाको वडा नम्बर १ सिउडीमा ६६ वटा, वडा नम्बर २ सोकटमा ५५ वटा, वडा नम्बर ३ गगुडा ४४ वटा, वडा नम्बर ४ पायलमा १३ वटा, वडा नम्बर ५ लुंग्रामा ६५, वडा नम्बर ६ दुनीमा ३८ र वडा नम्बर ७ मार्कुमा १ सय ३७ वटा ठूला पोखरी निर्माण भएका छन् ।


यो वर्ष सबैभन्दा कम वडा नम्बर ४ पायलका १३ वटा पोखरी र सबैभन्दा बढी वडा नम्बर ७ मार्कुमा १३७ वटा पोखरी निर्माण भएका छन् । यस्तै, पुराना ४४५ वटा रिचार्ज पोखरी पुनर्निर्माण गरिएका छन् ।  रिचार्ज पोखरी निर्माण सुरु भएपछि केही ठाउँमा सुक्खापन र पानीका मुहान सुक्ने समस्या अन्त्य भएको स्थानीय देवबहादुर शाहले बताए ।


चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडाका वडा सदस्य वीरेन्द्र साउदले वडाका डाँडाकाँडामा रिचार्ज पोखरी निर्माण भएपछि भैँसीलाई आहाल बसाउन र पशु चौपायालाई खानेपानीका लागि सजिलो भएको जानकारी दिए । पशु चौपायालाई खानेपानीका लागि डेढ घन्टा टाढा जानुपर्ने अवस्था केही वर्षयता हटेको वडा सदस्य साउदको भनाइ छ ।


मुख्यगरी पानीको मुहानमाथि पोखरी निर्माण गरे खानेपानीका मुहान संरक्षण हुने, सुक्खा डाँडामा पोखरी निर्माणले बोटबिरुवा हरियाली हुने, जंगली जनावरलाई खानेपानी अभाव नहुने, पशुपक्षीको आहार जंगलमै भेटिने भएकाले पनि खेतीपाती संरक्षणमा टेवा पुग्ने अध्यक्ष साउदले दाबी गरे ।