close

बन्ने भयो बडिगाड गाउँपालिकाको प्रशासनिक भवन

बन्ने भयो बडिगाड गाउँपालिकाको प्रशासनिक भवन

Trulli
ADVERTISEMENT

बागलुङ- बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे ।

 

सो अवसरमा मन्त्री गुरुङले स्थानीय तहले विकास खर्च बढाउनुपर्ने बताए । उनले  समृद्ध नेपालका लागि राज्य र नागरिक एकअर्काप्रति जवाफदेही बन्नुपर्ने धारणा राखे । 'करको दायरा बढाउँदै सोहीअनुसार राज्यले नागरिकका सबै सेवा, सुविधाको जिम्मा लिनुपर्छ', मन्त्री गुरुङले भने । प्रशासनिक भवनका लागि प्रदेश सरकारले दुई करोड र गाउँपालिकाले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

 

आउँदो आवमा पनि थप बजेट छुट्याउने मन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले पाँच करोड १८ लाख ५४ हजार रुपैयाँमा भवनको ठेक्का सम्झौता भएको बताए । काठमाडौंको माउण्ट संयुक्त निर्माण कम्पनीले भवन बनाउने जिम्मा पाएको छ ।

 

५४ कोठासहितको तीन तल्ले भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । बडिगाड- ५ खार बजारमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र बस्ने भएपछि स्थानीयवासीले निःशुल्क जग्गा दिएका थिए ।

 

‘गाउँपालिकाको भवन नहुँदा भाडाको घरमा बस्नुपर्ने बाध्यता अब हट्नेछ, भवन निर्धारित समयमै बनाइछाड्छौँ', गाउँपालिका अध्यक्ष पाइजाले भने । शिलान्यास समारोहमा प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’, इन्द्रलाल सापकोटालगायत जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए ।