close

‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत् प्राधिकरण

‘उज्यालो र सफाइ सहर अभियान’ चलाउँदै विद्युत् प्राधिकरण

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्य बढाउन ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ ।

 

उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिनेछ । 

 

यसबाट सहरको सौन्दर्य वृद्धि हुने, विद्युत् माग बढ्ने र रातीको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

 

सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तार हटाउने, तारलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

 

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशैभर सञ्चालन गरिनेछ । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत  वितरण लाइन तथा सबस्टेसनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिइन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको
हो । 

 

‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोल जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौँ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ । सहरलाई कुरुप बनाएका विभिन्न सेवाप्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ’, घिसिङले
भने ।

 

हाल भइरहेको जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

 

प्राधिकरणले अहिले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । 

 

दोस्रो चरणमा काठमाडौंका बाँकी रहेका ठाउँ, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ ।

 

विद्युत् तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवाप्रदायकले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । 

 

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो 

 

प्राधिकरणले स्थानीय तहसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृति, विश्व सम्पदामा सूचीकृत स्थान र सडकलाई राती उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियानै चलाउनेछ ।

 

ललितपुर महानगरपालिकाको सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेलधुराको अमरगढी नगरपालिकाको मुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले बताएको छ । 

 

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाडौं, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा छ ।

 

उज्यालो सहर अभियानअन्तर्गत काठमाडौंको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलंकी सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रक्रिया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए । 

 

हाल देशभरबाट थप माग आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलार्ई कार्यान्वयनमा लैजाने तयारी छ । यसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटांैडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैंचा, धनुषाको जनकपुर, काठमाडौंको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको विदुरलगायत नगरपालिका छन् ।

 

प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकासँग प्रस्ताव माग गरेको छ । नगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुनेछन् ।

 

लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्नेछ । नगरपालिका आफैंले शत्प्रतिशत लगानी गरेर बोलपत्र गरे प्राधिकरणले बोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

 

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा स्थानीय नगरपालिकासँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिनेछन् ।सडकका मुख्य चोकमा बढी उज्यालो दिने ठूलो बत्ती (लाइटिङ मास्ट) राखिनेछ । 

 

‘उज्यालो नहुदा हाम्रा ऐतिहासिक धरोहर र पर्यटकीय स्थल राती अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारो हुन्छ । त्यसैले त्यस्ता ठाउँमा स्थानीय तहको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौँ,’ घिसिङले भने ।

 

यसबाट एकातर्फ यातायात व्यवस्थापन, शान्ति–सुरक्षा कायम गर्न सहयोग पुग्नेछ भने अर्कोतर्फ सहरी सौन्दर्य वृद्धि हुने उनको अपेक्षा छ ।