close

चन्द्रागिरिको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

चन्द्रागिरिको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

काठमाडौँ– चन्द्रागिरि नगरपालिकका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । 

 

यसैगरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल) सञ्चालनमा ल्याइएकामा  २५ श्यया बनाइने भएको छ । २०७४ जेठ १० मा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विकास निर्माणले गति लिएको हो । 

 

कोरोना सङ्क्रमण फैलिँदै गएकाले तीन स्थानमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको र अशक्त बिरामीलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल पठाउने गरिएको  प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । 

 

भूकम्पले क्षति गरेको २४सामुदायिक विद्यालय पुनःनिर्माण गरिएको र  चन्द्रागिरिको चिनारी झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणमा गर्न लागिएको छ । वडा  १२ गुर्जुधारामा झण्डै  २५ करोडको लागतमा नगरपालिकाको भवन निर्माण गर्न लागिएको  छ । पन्ध्रमध्ये ११ वटा वडा भवन निर्माण भइसकेको र दुई वटाका लागि बोलपत्र आह्वान भइसकेको र दुईको काम बाँकी रहेको नगरप्रमुख घनश्याम गिरीले बताए । 

 

पिप्लामोडदेखि नागढुङ्गा, थानकोट हुँदै कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा र सडक बत्ती जडान, बीच बाटोमा बिरुवा रोपण, सडकमा रङ्रोगन र डिभाइडर राख्ने काम गरिएको छ  । एम्बुलेन्स र दमकल खरिद गरिएको छ । नगरप्रहरी राख्नका लागि विभिन्न वर्षमा बजेट विनियोजन गरिएकामा ऐन निर्माण नभएकाले ढिलाई भएको नगरप्रमुख गिरीको बताए । 

 

चालिस हजार घरधुरी रहेको नगरमा एक वडा एक उद्यान निर्माण गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारीमा छ । 

 

सुरुङमार्गले झण्डै ३०० रोपनी जग्गा र ४० घरलाई असर पार्ने भएकाले पीडितलाई मुआब्जा वितरणका लागि सहजीकरण गरिएको र वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको मठमन्दिर पुनःनिर्माण गरिएको नगरप्रमुख गिरीले बताए ।  झण्डै २ लाख जनसंख्या रहेको नगरपालिकाले अझैसम्म  फोहरमैला व्यवस्थापन गर्न  सकेको छैन ।  यसैगरी बल्खुखोला करिडोर निर्माण, प्रविधियुक्त नगरपालिका निर्माण गर्न पनि बाँकी रहेको नगरप्रमुख गिरीले बताए ।