close

मेलौलीका विद्यालय एक महिनामै बन्द

मेलौलीका विद्यालय एक महिनामै बन्द

Trulli
ADVERTISEMENT

बैतडी– कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बैतडीको मेलौली नगरपालिकाका विद्यालय एक महिनामै बन्द भएको छ । गत साउन १० गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गरेको नगरपालिकाले अर्को सूचना नभए सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

 

नगरपालिकाका केही व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नफैलियोस् भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश भट्टले जानकारी दिए । संक्रमणको जोखिम बढ्दै गएकाले अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थितिमै सञ्चालनमा रहेका विद्यालय बन्द गरिएका छन् । 

 

चाडपर्वको समय नजिक आएको, विदेशबाट घर फर्किने नागरिकको संख्या पनि बढ्दै गएकाले संक्रमणको जोखिम बढ्दै गएको नगरपालिकले जनाएको छ । 


यस्तै नगरपालिकाले वैकल्पिक शिक्षणका उपायद्वारा शिक्षण सिकाइलाई अगाडि बढाउन आग्रह गरेको छ । अभिभावकमा कोरोना संक्रमण पुष्टि भएकाले विद्यार्थी सिकाइ सकजीकरण निर्देशिका, २०७७ अनुरुप वैकल्पिक तथा रचनात्मक विधिमार्फत कक्षा सञ्चालन गरिने जनाइएको छ । 

 

मेलौली नगरपालिकाले यसअघि गत साउनमा नगरक्षेत्रमा कोरोनाका सक्रिय संक्रमित संख्या शून्य रहेकाले विद्यालय सञ्चालनमा ल्याएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि यसअघि सबै स्थानीय तहलाई विद्यालय सञ्चालन नगर्न तथा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न आग्रह गरेको थियो ।