close

वर्षाका कारण सडक अवरुद्ध हुँदा २ अर्ब २५ करोड बराबरको क्षति

वर्षाका कारण सडक अवरुद्ध हुँदा २ अर्ब २५ करोड बराबरको क्षति

Trulli
ADVERTISEMENT

काठमाडौँ– केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न प्रयास भइरहेको जनाएको छ । 

 

पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरामा अवरुद्ध छ । 

 

पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ । भिट्ठामोड–जलेश्वर–वर्दिवास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ । 

 

अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए । पहिराका कारण त्यहाँको डाइभर्सन बगाएको छ । आइतबार र सोमबार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उनले बताए । यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ ।

 

बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ । पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उनको भनाइ छ । केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ । आइतबार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ । वर्षाका कारण गत महिनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महिनादेखि अवरुद्ध छ । 

 

यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो । जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका संघीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो । संघीय  सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ । 

 

यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै २ अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ । निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ । चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ । 

 

विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जनाएको छ । वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन् । अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जनाएको छ ।