close

विराटनगरका विद्यालय खुलाउन छलफल

विराटनगरका विद्यालय खुलाउन छलफल

Trulli
ADVERTISEMENT

मोरङ — विराटनगर महानगरपालिकाले कोरोना महामारीले लामो समयदेखि बन्द रहेका विद्यालय खुलाउनेबारे विषयगत विज्ञ र सरोकारवालाहरूसँग  छलफल गरेको छ । महानगर प्रमुख भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गराउन कसरी सकिन्छ भन्ने विषयमा परामर्श गरेका छन् । 

 

कार्यक्रममा सहभागी महानगरका विद्यालय प्रधानाध्यापक, शिक्षक, निजी विद्यालयका सन्चालक, अभिभावक संघका प्रतिनिधिहरूले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नुपर्नेमा जोड दिएका थिए । कोरोना महामारीले शैक्षिक क्षेत्रमा परेको समस्या र वैकल्पिक शिक्षाको रूपमा सञ्चालन भइरहेका अनलाइन कक्षाहरूले बालबालिकामा पारेको प्रभावका विषयमा समेत छलफल भएको प्रमुख पराजुलीले बताए ।

 

लामो समय मोबाइल, ल्यापटपको स्क्रिनमा हेर्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दीर्घकालीन असर पर्नेतर्फ पनि ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव थियो । महानगरले छलफलमा उठेका कुराहरूलाई सम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समितिसमेत गठन गरेको छ ।

 

समितिमा शिक्षक महासंघका वेदु खतिवडा, हिसानबाट भेषराज पोखरेल, एनप्याब्सन र प्याब्सनका तर्फबाट इन्द्र राई, अभिभावक संघ नेपालबाट देवीपन्थी, सामुदायिक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम छन् । समितिलाई एक हप्ताभित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्न समयसीमा दिएको प्रमुख पराजुलीले बताए । समितिले एक प्रकारको खाका तयार गरेपछि विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्नेबारे निर्णय लिने पराजुलीको भनाइ ।