close

राप्ती सोनारी गाउँपालिका केन्द्र पुग्न सास्ती

राप्ती सोनारी गाउँपालिका केन्द्र पुग्न सास्ती

Trulli
ADVERTISEMENT

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका– ७ का जनतालाई गाउँपालिका केन्द्र पुग्न निकै कठिन छ । वडा नं ७ मा पर्ने फत्तेपुरको लालपुरबाट गाउँपालिकाको कार्यालय वडा नं २ अगैया पुग्नका लागि ४२ किलोमिटरको यात्रा गर्नुपर्दछ । वर्षाको समयमा खहरे खोलामा आउने बाढीले सडक अवरुद्ध हुने गरेको वडा नं ७ का अध्यक्ष रामलखन थारुले बताए ।


उनका अनुसार, राप्ती सोनारी गाउँपालिकाको भूभाग ठूलो भएकाले टाढाका जनतालाई गाउँपालिकामा आउन दुःख भएको भन्दै गाउँसभामै पालिका टुक्राउने प्रस्ताव गरिएको थियो । तर, त्यसमा केही निर्णय हुनसकेको छैन । सडक राम्रो नभएका कारण गाउँपालिकाको केन्द्र पुग्न वडा नं ६ र ७ का बासिन्दालाई वर्षाको समयमा थप सास्ती हुने गरेको स्थानीय अगुवा चमेली बाकवलले बताइन् । 

 

‘आफ्नै निजी साधन भएका मान्छे बिहान गएर साँझ फर्किन सकेपनि सार्वजनिक सवारीसाधन वा साइकलमा यात्रा गर्ने सर्वसाधारण गाउँपालिका पुग्न पूरै एकदिन लाग्ने गर्दछ’, बाकवलले भनिन्, ‘अहिले वर्षायाममा त ठाउँ ठाउँमा सडक बिग्रिएको छ, खोलामा बाढी आएर गाउँपालिका पुग्नै सकस छ ।’

 

वडा नं ७ लालपुरबाट गाउँपालिका कार्यालय पुग्न फत्तेपुरको जङ्गल हुँदै, विनौना, वैजापुर पार गर्नुपर्दछ । सिक्टा सिँचाइको पूर्वी नहर निर्माणले आवतजावतमा केही सहज भए पनि ठाउँ–ठाउँमा सडक बिग्रिएको फत्तेपुरका अगुवा लालबहादुर थापाले जानकारी दिए । 

 

वडा नं ६ र ७ का जनतालाई गाउँपालिकासम्म आउन सहज बनाउनका लागि लालपुर–चिलरिया जोड्ने लिङक सडक बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका अनुसार सडकको डिपिआर शुरु गरिएको छ । यो लिङक सडक बनेपछि लालपुरका जनतालाई गाउँपालिका कार्यालय आउन २६ किलोमिटर कम हुनेछ । सो रोड वडा नं ७ बाट वडा नं ५ को सिमाना चिलरियासम्म आइपुग्छ ।


 
‘अहिले यहाँ गोरेटो बाटो छ । आधासम्म राम्रो भए पनि आधा बिग्रिएको छ । करिब १२ किलोमिटरमा काम गर्नुपर्ने देखिन्छ’, अध्यक्ष थारुले भने,  ‘५० लाखको लागतमा १२ किलोमिटर बनाउन डिपिआर गरिएको छ । यसले जनतालाई पालिका कार्यालयमा पुगेर काम गर्न सहज हुनेछ ।’ ५९ हजार ९४६ जनसङ्ख्या रहेको यो गाउँपालिकाकोे कूल क्षेत्रफल एक हजार ४१ दशमलव ७३ वर्ग किलोमिटर रहेको छ । साविकका खासकुश्मा, कचनापुर, बैजापुर, बिनौना, फत्तेपुर र महादेवपुरी गरी छ गाविस मिलेर निर्माण भएको यो गाउँपालिका ९ वडामा विभाजित छ ।