close

काभ्रेमा खानेपानीका चार बृहत् आयोजना धमाधम निर्माण हुँदै 

काभ्रेमा खानेपानीका चार बृहत् आयोजना धमाधम निर्माण हुँदै 

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– काभ्रेमा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा  ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ ।

 

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६, ७ र ८ सहित भकुण्डे उपत्यकामा सहजरूपमा खानेपानीको सुविधा पुर्‍याउन उक्त बृहत् खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो । वडा नं ६ स्थित रोशीखोलाबाट लिफ्ट गरी एक हजार ६०० भन्दा बढी परिवारका लागि खानेपानीको व्यवस्थापन गर्न आयोजनाले  २९ करोड ७८ लाख २० हजार ३६८ बराबरको लागत अनुमान गरेको छ ।

 

नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरवको आयोजना भएको र यसले ‘एक घर, एक धारा’को अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार आयोजना सञ्चालनार्थ मूलको व्यवस्थापन र उपभोक्ता समिति पनि गठन भइसकेकाले आयोजनाको काम तीव्ररूपमा अघि बढ्नेछ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

 

यस्तै मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा  ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गतसालको चैतमा उक्त खानेपानी आयोजनालाई १ अर्ब रुपैयाँ स्वीकृत भएको थियो । मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको  ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरिकको लगानीसहित १ अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका ९ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।

 

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता १ हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब १  करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरपालिकाले  ५१ लाख ६६ हजार उपलब्ध गराएको छ ।

 

तामाङका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट ९ वडाका ५ हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नंको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, लिफ्टिङ प्रविधिको यस आयोजनाले ५ हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराइनेछ ।

 

करिब एक वर्षअघि पाँचखाल नगरपालिकामा बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम थालिएको थियो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित इन्द्रावती नदीकिनारमा इनार निर्माण गरी लिफ्टिङ प्रविधिमार्फत खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले बताए । उनका अनुसार पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पुर्‍याइनेछ । 

 

खानेपानी आयोजनाअन्तर्गत सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको उक्त खानेपानी आयोजना २ अर्ब २१ करोडको लागतमा अढाइ वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा मानिएको छ ।

 

आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको ५ प्रतिशत अर्थात्  ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । त्यसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा  १८ हजार जम्मा गरेका हुन् । इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्ग तथा वितरण केन्द्रहरुमा भौतिक निर्माणको काम भइरहेको छ ।

 

त्यसो त २ वर्षअघि तेमाल गाउँपालिकामा १ अर्ब ३० करोडभन्दा बढीको लागतमा बृहत् खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए । तेमाल क्षेत्रका ९ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।

 

नेपाल सरकार, खानेपानी विभाग, गाउँपालिका कार्यालय र स्थानीय उपभोक्ताले ९ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको उक्त आयोजना सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ ।