close

नमोबुद्धको पहलमा बृहत् खानेपानी आयोजना निर्माण हुँदै

नमोबुद्धको पहलमा बृहत् खानेपानी आयोजना निर्माण हुँदै

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिकामा झन्डै ३० करोड रुपैयाँ लागतमा बृहत् खानेपानी आयोजना सञ्चालन हुने भएको छ । नमोबुद्ध नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाको वडा नम्बर ६, ७ ८ सहित भकुन्डे उपत्यकामा खानेपानी सुविधाको पहुँच  पुर्‍याउन  भकुन्डेबेँसी, खनालथोक, खाक्सी, दाप्चा क्षेत्र बृहत् खानेपानी आयोजना सञ्चालन प्रक्रिया अघि बढेको हो ।

 

वडा नम्बर ६ स्थित रोशी खोलाबाट लिफ्ट गरी १६ सय बढी घरधुरीका लागि खानेपानीको व्यवस्थापन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २९ करोड ७८ लाख २० हजार ३ सय ६८ रुपैयाँ बराबरको लागत अनुमान गरेको छ ।

नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरवको आयोजना भएको र यसले एक घर एक धाराको अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।


तिमल्सिनाले आयोजना सञ्चालनका लागि मूलको व्यवस्थापन भइसकेको र उपभोक्ता समिति पनि गठन भइसकेको सन्दर्भमा अब आयोजनाको काम अघि बढ्ने जानकारी उनले जानकारी दिए ।

 

खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले आयोजना सम्पन्न भएपछि दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान हुने बताए । बिहीबार आयोजना सञ्चालनबारे नगरपालिका र उपभोक्ता समितिबीच छलफल भएको थियो । छलफलले आयोजना कार्यान्वयनको प्रक्रियालाई तत्कालै अघि बढाउने निर्णय गरेको छ ।

 

आयोजना निर्माण सुरु भएको तीन बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएदेखि नै चुनावी प्रतिबद्धताअनुसार एक घर एक धाराको अभियान सुरु गरेको थियो । अभियानलाई सफल बनाउन नगरभित्र सानाठूला खानेपानी आयोजना सञ्चालन भइरहेका छन् ।