close

चार जलविद्युत् आयोजना बन्द, विद्युत् पूर्वाधारमा  १०  अर्बभन्दा बढीको क्षति 

चार जलविद्युत् आयोजना बन्द, विद्युत् पूर्वाधारमा  १०  अर्बभन्दा बढीको क्षति 

Trulli
ADVERTISEMENT

म्याग्दी– प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् ।  पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक/एक  आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो । 

 

मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको चार नम्बरको टावर गत शुक्रबार राति बाढीपहिराका कारण ढलेको थियो । 

 

१० मेगावाट क्षमताको मोदी–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेशन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका जानकारी दिए । पाँचसय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ । मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो । 

 

नेपाल विद्युत् प्राधिकरणले डाइभर्सन (बैकल्पिक) टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौ मुल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रर्बद्धक रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए । 

 

    
वर्षा सुरु भएयता गण्डकी प्रदेशका विद्युत् पूर्वाधारमा  १०  अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएको छ । बाढीपहिराले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत् आयोजना एवं प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताए ।