close

बागमतीले बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने

बागमतीले बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने

Trulli
ADVERTISEMENT

मकवानपुर - बागमती प्रदेशका सांसद तथा प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य भीमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत् यौनिकता शिक्षाललाई पाठ्यक्रममा समावेश गरिने बताएका छन् । 

 

सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका हरेक समयमा बृहत् यौनिकता शिक्षाका कुरा एकआपसमा जोडिने भएकाले यसको महत्त्वपूर्ण आवश्यकता रहेको बताए । संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९ र १० मा स्वास्थ्य तथा जनसंख्या विषयलाई अनिवार्य विषयबाट ऐच्छिक विषय बनाएकामा आफू खुसी नरहेको उनको भनाइ थियो ।

 

प्रदेश सरकारले बृहत् यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्न छलफल गरिरहेको र आगामी दिनमा प्रदेशभित्रका ११९   पालिकाका विद्यालयमा पठनपाठन गरिने उनले बताए । 

 

हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले औपचारिक कार्यक्रमसँगै अनौपचारिक रूपमा बृहत् यौनिकता शिक्षाका  कार्यक्रमलाई अगाडि बढाएको बताइन् ।

 

उनले विद्यालय तहमा पाठ्यक्रममार्फत र विद्यालयबाहिर स्वास्थ्य संस्थाहरू मार्फत् यस्ता कार्यक्रमहरू सञ्चालन गर्न आवश्यकताअनुसार बजेट विनियोजनसमेत गरिएको बताइन् ।

 

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुबीराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्वस्तरीय प्रचलनका आधारमा कक्षागत रूपमा बृहत् यौनिकता शिक्षालाई समावेश गरिने बताए ।