close

शैक्षिक गुणस्तर सुधार्न वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता

शैक्षिक गुणस्तर सुधार्न वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता

Trulli
ADVERTISEMENT

स्याङ्जा– शैक्षिक गुणस्तर सुधार गर्न स्याङ्जाको वालिङ नगरपालिका र ब्रिटिश काउन्सिलबीच सम्झौता गरिएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरीलाई सुधार गर्दै आधुनिक र व्यवस्थित शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने मुख्य उद्देश्यले सम्झौता गरिएको हो ।

 

सम्झौतापत्रमा नगरप्रमुख दिलीपप्रताप खाँण र ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलबीच हस्ताक्षर गरिएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा लागू हुने गरी शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक परियोजना सञ्चालनका लागि सम्झौता गरिएको नगरप्रमुख खाँणले बताए ।

 

परियोजनाअन्तर्गत विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन र विषयगत शिक्षकबीच शैक्षिक गुणस्तर वृद्धिका लागि आ–आफ्नो भूमिकामा स्पष्टता, एकरुपता बनाउनका लागि परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खाँणले बताए ।

 

‘शिक्षण सिकाइ क्रियाकलापलाई थप व्यवस्थित र समयानुकूल बनाउँदै लगिने छ’, प्रमुख खाँणले भने, ‘विषयवस्तुप्रतिको सिकाइ र सिकाउने कलामा निपूर्णता ल्याउँदै गुणस्तरको मापन गरिने छ ।’

 

असल अभ्यासको स्थानीयकरण र प्राप्त उपलब्धिको संरक्षण जस्ता विषयमा केन्द्रित रहेर उक्त परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुने प्रमुख खाँणले बताए । ब्रिटिश काउन्सिलमार्फत उक्त परियोजना पहिलो चरणमा स्याङ्जाको वालिङ र नवलपरासीको कावासोती नगरपालिकामा नमूनाका रूपमा सञ्चालन गरिएको ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर शाहिदा माकडौगेलले बताए ।

 

परियोजना सञ्चालनका लागि पहिलो वर्ष ब्रिटिश काउन्सिलबाट कूल रकमको ७० प्रतिशत, दोस्रो वर्ष ६० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम उपलब्ध गराइने छ । सो नगरपालिकाले पहिलो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ५० प्रतिशत रकम खर्च गर्ने गरी सम्झौता गरिएको छ ।

 

चालु शैक्षिक सत्रबाट यो परियोजना लागू हुने शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताए । नगरभित्रका ५६ आधारभूत विद्यालय र १६ माध्यमिक गरी कूल ७२ सामुदायिक विद्यालयमा यो परियोजना तीन वर्षसम्म सञ्चालन हुने शाखा प्रमुख सापकोटाले बताए ।

 

पहिलो, दोस्रो र तेस्रो वर्षमा के–कसरी अगाडि बढ्ने भन्ने योजनासहित परियोजना सञ्चालन गरिएको हो । परियोजनाअन्तर्गत विद्यालयको स्पष्ट योजना, पारदर्शी कार्यान्वयन र उपलब्धि मापनयोग्य हुने प्रमुख सापकोटाले जानकारी दिए । विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालालाई आवश्यक तालिम, ज्ञान तथा सीप हस्तान्तरण गर्दै लगिने छ ।