close

४२ अर्बको कारोबार, नेप्से छिनमै उकालो, छिनमै ओरालो 

४२ अर्बको कारोबार, नेप्से छिनमै उकालो, छिनमै ओरालो 

Trulli
ADVERTISEMENT

काठमाडौं– धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै  उतारचढाव देखियो । कहिले  उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखियो । 

 

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरु पनि भेटिए । यस साता पाँच दिन नै शेयर कारोबार भयो ।  नेप्सेमा उतारचढाव देखिँदा कारोबार रकमसमेत असाध्यै कम हुन पुग्यो । कुल २३० कम्पनीको ८ करोड ६७ लाख ८ हजार  ८ कित्ता शेयर  ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार ५१० रुपैयाँ मूल्यमा खरिदबिक्री भयो । 

 

झन्डै २२ अर्ब बराबरको कारोबार हुने बजार ६ अर्ब ६४ करोडको हाराहारीमा सीमित भएको छ । साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो । साताको पहिलो दिन नै कारोबार सुरु भएपछि लगत्तै ओरालो लाग्न थालेको नेप्से बजार बन्द हुने क्रमसम्म पनि ओरालो यात्रामा नै रह्यो । 

 

त्यस दिन कारोबार सुरु भएको एक घण्टामा नै झन्डै १०० अंकले ओरालो लागेको नेप्से ५  प्रतिशतभन्दा बढीले घट्दा करिब ४० मिनेटसम्म बजार नै बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से १०८.२६ ओरालो लागेर दुई हजार ८१८.७२ विन्दुमा ओर्लिएको थियो । 

 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.७६ विन्दुले घटेर ५२२.०१ मा ओर्लियो । कुल २ सय २३ कम्पनीको २ करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता शेयर  ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण  ३९ खर्ब ४४ अर्ब ९५ करोड ३९ लाख १० हजार बराबर पुग्यो । 

 

कारोबार भएका कुल १३ उपसमूहको शेयर नै ओरालो लागे । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रही  ७० करोड ३३ लाख ३० हजार दुई सय आठ बराबरको हिसाब देखियो । त्यस दिन झन्डै डेढ दर्जन कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । साताको दोस्रो दिन सोमबार आइतबारको ठीक विपरीत नेप्सेमा उछाल देखियो । कुल  ४५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार ‘बाउन्स ब्याक’ भयो । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका सम्बन्धमा देखिएको अन्योलतामा समाधान गर्न गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेको समाचार सार्वजनिक भएपछि बजारले पुनः गति समातेको थियो । 

 

त्यस दिन नेप्से १६१.९४ विन्दुले उकालो लागेर २ हजार ९८०.७८ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३१.४१ विन्दुले उकालो लागेर ५५३.४० मा पुग्यो । कुल २ सय २४ कम्पनीको एक करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर १ लाख ९ हजार एक सय ८२ पटक कारोबार भयो । नेप्सेका अनुसार कुल ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८ सय ७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहको शेयर उकालो लाग्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण  ४१ खर्ब ७१ अर्ब ५८ करोड ८० लाख ८२ हजार १ सय १ मूल्यमा खरिद–बिक्री भए । 

 

साताको तेस्रो दिन मंगलबार  नेप्से परिसूचक पनि उच्च अंकले ओरालो लाग्यो । त्यस दिन नेप्सेमा ४४.१८ विन्दुले ओरालो लागेर २ हजार ९३६.६० मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ विन्दुले घटेर ५४८.३५ मा ओर्लियो । कुल २ सय २२ कम्पनीको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर ८६ हजार ५ सय आठ पटक शेयर कारोबार भए । नेप्सेका अनुसार कुल ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ मूल्यमा खरिद बिक्री भए । 

 

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्यो । नेप्सेका अनुसार कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहेको छ । सो कम्पनीको  ६१ करोड ९२ लाख ९१ हजार ६ सय ९२ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार सानिमा लाइफ इन्सुरेन्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । 

 

साताको चौथो दिन बुधबार नेप्से परिसूचक पनि उच्च अंकले  घट्यो । त्यस दिन नेप्से ६०.०२ अंकले ओरालो लागेर २ हजार ८७६.५९ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ विन्दुले ओरालो लागेर ५३६.५१ मा पुग्यो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घट्यो । कुल २ सय २५ कम्पनीको एक करोड ६१ लाख ४८ हजार ६ सय ५२ कित्ता शेयर ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ मूल्यमा खरिद–बिक्री भए । कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो । 

 

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले ओरालो लाग्यो । नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लियो । त्यस दिन ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अंकले ओरालो लागेर ५३५.२९ मा ओर्लियो । कुल दुई सय ३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार आठ सय ५५ कित्ता शेयर ७ अर्ब ५ करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

 

कारोबार भएका कुल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर उकालो लाग्यो भने ९ उपसमूहको शेयर ओरालो लाग्यो । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण  ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार एक सय ७३ रुपैयाँ बराबर पुगेको छ ।