close

६६८ बिघा जग्गा व्यक्तिले कुम्ल्याएपछि अख्तियारले थाल्यो छानबिन

६६८ बिघा जग्गा व्यक्तिले कुम्ल्याएपछि अख्तियारले थाल्यो छानबिन

Trulli
ADVERTISEMENT

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर नगर विकास समितिका तत्कालीन पदाधिकारीले गरेको जग्गा बिक्रीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन सुरु गरेको छ । आयोगको केन्द्रीय टोलीले छानबिन सुरु गरेको हो । 

 

तत्कालीन महेन्द्रनगर नगर विकास समितिको रूपमा रहेको नगर विकास समिति अहिले भीमदत्त नगरपालिका मातहत छ । नगरपालिकाले केही महिनाअघि मात्रै नगर विकासको स्वामित्व लिएको हो । अख्तियारले छानबिन टोली बनाएर नगर विकासको तत्कालीन समितिले गरेको काम–कारबाहीबारे अनुसन्धान गर्न कञ्चनपुरको महेन्द्रनगरमा टोली पठाएको हो ।

 

आयोगका उपसचिव ओमप्रकाश बरालको संयोजकत्वमा गठित ४ सदस्यीय कार्यदलले अनुसन्धान सुरु गरेको छ । नगर विकास समितिले महेन्द्रनगर बजार क्षेत्रमा भएको जमिन बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले अनुसन्धान गर्न लागेको हो । आयोगका केन्द्रीय सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले नगर विकास समितिको जग्गाको व्यापक हिनामिना तथा बिक्री वितरणमा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगको ध्यानार्कण भएको बताए ।  उनका अनुसार नगर विकास समितिको जमिन बिक्री वितरण प्रक्रियालाई आयोगले गम्भीर रूपमा लिएको छ ।

 

आयोगले तत्कालिन नगर विकास समितिले गरेको निर्णयका कागजात र बिक्री वितरण प्रक्रियाबारे अनुसन्धान गर्नेछ । ‘सरकारी जमिन बिक्री वितरण प्रक्रियाबारे अनुसन्धान सुरु भएको छ’ सहायक प्रवक्ता भण्डारीले भने, ‘छिटोभन्दा छिटो यसको अनुसन्धान सक्ने गरी हामीले छानबिन थालेका छौँ । त्यसका लागि सरोकारवालासँग छलफलसहित नापनक्सादेखि सबैको स्थलगत अनुगमन गर्ने योजना छ ।’ छानबिन टोलीले जमिन बिक्री वितरणमा भएको प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुसार भए÷नभएको सबै अध्ययन गर्नेछ ।

 


यसअघि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइ र सहरी विकास मन्त्रालयको छुट्टाछुट्टै छानबिन टोलीले समेत जमिन बिक्री वितरणमा अनियमितता भएको निष्कर्ष निकालेको थियो । २०३५ मा गठित नगर विकास समितिको नाममा ६३८ बिघा जमिन थियो । तर, हाल समितिको नाममा करिब ६० बिघा मात्रै जमिन छ ।

 

नगर विकास समितिले जमिन बिक्री वितरणमा गरेका सबै कामकाज खारेजी माग गर्दै महेन्द्रनगरमा बेला–बेला आन्दोलनसमेत हुँदै आएको छ । २०६७ पछि नियुक्त भएका अध्यक्षहरूले आफू निकटका व्यक्तिलाई तोकादेशका आधारमा जमिन बिक्री वितरण गरेको आरोप छ । २०६७ यता नगर विकास समितिमा ६ अध्यक्ष नियुक्त भएका छन् । समितिका अध्यक्ष पुष्कल चौधरी, मोहन गिरी, पल्टु राना, गोपाल रसाइली र सुरेन्द्र विष्टले आफ्नो पालामा मनपरी ढंगले जमिन बिक्री र लिजमा दिने काम गरेका थिए ।

 

२०५८ मा कान्तु पनेरु नगर विकास समितिका अध्यक्ष हुँदा महेन्द्रनगर बजार क्षेत्रमा सिटी हल निर्माणका लागि नगर विकास मातहतको जमिन बिक्री गर्ने निर्णय भएको थियो ।  सोही निर्णयका आधारमा त्यसपछिका अध्यक्षहरूले धमाधम तोकादेशका भरमा जमिन बिक्री गरेका हुन् ।  २०७५ मा स्थानीय युवा तथा विद्यार्थीको आन्दोलनपछि नगर विकास समिति नै खारेज गरिए पनि संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीले कुनै काम गर्न सकेन । नगर विकास समिति मातहत रहेको जमिन तथा भौतिक संचनालाई २०७७ मा भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।