close

गाउँका दुःख : जेनतेन सडक कोतरिए, गाडी पुगेनन्

गाउँका दुःख : जेनतेन सडक कोतरिए, गाडी पुगेनन्

Trulli
ADVERTISEMENT

जुम्ला– संघीयतापछि स्थानीय तहका पहिलो प्राथमिकतामा सडक नै परेका छन् । त्यसको परिणाम स्थानीय सरकारले भएभरको बजेट खन्याउँदा अहिले जताततै सडक सडक नै देख्न पाइन्छ । तर, कोतरिएका सडकमा भने सवारीसाधन गाडी गुडेको देखिन्न ।  जुम्लाका हरेक गाउँबस्ती सडक पुगे अन्य विकास पनि सहजै लैजान सकिने विश्वास थियो । गाउँ–गाउँमा सडक पुगे । सडक खन्ने क्रममा जमिन धुजाधुजा भए । तर, ती सडक अहिले सञ्चालनमा आएका छैनन् । स्थानीय तहले गाउँमा सडक पुर्‍याउनुलाई ठूलो उपलब्धि ठानेका छन् ।

 

स्थानीय जनक बुढा सडक गाउँमा पुगेर पनि सेवा पाउन नसकेको भन्दै दुःख पोख्छन् । अधिकांश सडक पहिरोसँगै बगेर खहरे खोलामा परिणत भएका छन् । जुम्लाका एक नगरपालिकासहित ८ स्थानीय तहका ६० वटा वडा सडकले जोडिएका छन् । तर, स्थानीयलाई पैदल यात्रा नै गरिरहनु परिरहेको छ । न सडकमा गाडी चल्छन्, न त सडक स्तरोन्नति नै हुन सकेका छन् । बनेका सडक पनि वर्षाका कारण बिग्रँदै जान थालेका छन् ।

 

सिँजा गाउँपालिकामा ३३ गाउँ छन् । सबै गाउँमा सडक पुगेको छ । तर, वर्षायाममा सडक बन्दै हुन्छ । हिलोले सडक जाम गर्छ । ठाउँ–ठाउँमा पहिरो जान्छ । नियमित रूपमा गाउँका सडकमा गाडी गुड्न सक्दैनन् । नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न हिँडेरै नजिकको बजार पुग्नुपर्ने बाध्यता छ । गाउँपालिका प्रवक्ता नवीन शर्माले हरेक गाउँ सडकले जोडिएको बताए । उनले भने, ‘सडकले सुविधा दिन सकेको छैन । हरेक गाउँसँग जोडिएको छ । गाउँका सडक स्तरोन्नतिमा गाउँपालिका जुटेको छ ।’ अधिकांश गाउँमै दैनिक उपभोग्य सामान लिएर ट्रयाक्टर पुगेको उनको दाबी छ । सडकमा एम्बुलेन्स पुगेपछि बिरामी ओसारपसार सहज भएको उनको बुझाइ छ । पहिलो कार्यकाल सडक वर्षका रूपमा मनाएको सिँजाले अहिले हरेक सडक ग्राभेल हुनुपर्ने अवधारणा अघि सारेको छ ।

 

सडक पुगेपछि गाउँमा सरकारी सुविधा वितरणमा पनि सहज भएको छ । कनकासुन्दरी गाउँपालिकाले पनि सडकलाई प्राथमिकता दिएको छ । सडक पुगेको खण्डमा स्थानीय उत्पादन बजारसम्म लैजान र बजारदेखि दैनिक उपभोग्य सामान गाउँ पुर्‍याउन सहज हुने अपेक्षा थियो । तर, अहिले गाउँमा खनिएका सडक प्रयोगमा आउन सकेका छैनन् । सोही कारण स्थानीयले गाउँमा सडक पुगेको अनुभूति गर्नै सकेका छैनन् । चल्ने सडक निकै थोरै भए तर नचल्ने सडक गाउँभरि छन् । यहाँका हरेक धार्मिक पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक खनिएका छन् । प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले गाउँ–गाउँमा सडक पुगेको बताए । ‘गाउँ–गाउँमा ट्रयाक खोलिएका छन् । तर, स्तरोन्नति नहुँदा नियमित सवारीसाधन गुड्न सक्ने अवस्था छैन । त्यसका लागि पहल भइरहेको छ’, उनले भने ।

 

तातोपानी गाउँपालिकाको सुर्की, ताम्ती र थलाले गाउँमा सडक पुग्न सकेको छैन । यहाँका ३६ मध्ये ३ गाउँमा सडक पुग्न सकेको छैन । अहिले सडक खन्ने काम चलिरहेको छ । तिला पालिकाका ४ गाउँमा सडक पुग्न सकेको छैन । जिल्लाको गुठीचौर, पातारासी, चन्दननाथ गाउँपालिकाका सबैजसो वडामा सडक पुगेका छन् । कतै पुल नहुँदा सडक सञ्चालनमा आउन सकेका छैनन् भने कतै सडक भत्किएर सञ्चालन हुन सकेका छैनन् । गाउँ–गाउँमा सडक छन् तर नागरिकले सुविधा पाउन सकेका छैनन् ।

 

स्थानीय तहले पहिलो वर्षलाई सडक वर्षको रूपमा मनाएका थिए । सडकलाई मात्र प्राथमिकता दिनुभन्दा पुलपुलेसा र ग्राभेललाई चासो दिन नसक्दा समस्या भइरहेको छ । गाउँ–गाउँमा सडक भए पनि स्थानीयको उत्पादन बजारसम्म पुग्न सकेको छैन । सडक खन्ने नाममा प्राकृतिक सुन्दरतामाथि हमला भइरहेको छ । जताततै डोजरले सडक खन्ने काम हुँदा जमिन थर्किएर पहिरोको सम्भावना उच्च छ ।

 

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा सडकले सेवा दिन नसकेको बताउँछन् । उनले भने, ‘सडक बनेका छन् । स्तरोन्नति गरिएका छैनन् । पुलपुलेसा निर्माण हुन सकेका छैनन् । कच्ची सडक दिनहुँ  बिग्रिन्छन् । गाउँका सिंहदरबारले गाउँमा सडक पुर्‍याउनुलाई ठूलो उपलब्धि भनेका छन् । तर स्थानीयले सडक पुगेको आभास गरिरहेका छैनन् ।’

 

जिल्लाका दर्जन बढी गाउँमा सडक पुग्न सकेको छैन । उपप्रमुख बुढाले थपे, ‘सडक पुग्नु स्थानीय तहको उपलब्धि हो । तर, पुलपुलेसाको कुनै व्यवस्थापनबिनै गरिएको यो विकास राम्रो पनि देखिँदैन । प्रदेशको रकमले सडक खनिएका छन् । मापदण्डअनुसारको सडक खनिएका छैनन् ।’