close

विकासमा फड्किँदै देवदह 

विकासमा फड्किँदै देवदह 

Trulli
ADVERTISEMENT

रुपन्देही- रुपन्देहीको देवदह नगरपालिका पूर्वाधार निर्माणदेखि आर्थिक, शैक्षिक, कृषि, पर्यटन, स्वास्थ्य, खानेपानी सबै क्षेत्रमा फड्को मार्दै गएको छ । घरदैलोका जनताका समस्या बुझ्ने स्थानीय सरकारको प्रतिनिधि देवदहले जनताका आधारभूत आवश्यकताअनुसार पानीपँधेरो, कुलो, स्कुल, स्वास्थ्यचौकीलगायत संरचना निर्माणलाई अगाडि बढाउँदै गएको नगरप्रमुख हिरा केसी सुनाउँछन् ।


नगरले जनतासँग साझेदारी र छलफलमै विकासे कार्यक्रम चलाइरहेको नगरप्रमुख हिराबहादुर केसी सुनाउँछन् । ‘चुनावी नारा मात्र होइन, नगरको विकासका लागि जनतासँग हातेमालो गरिरहेकै छौं । हामीले यस क्षेत्रको विकासलाई संघ, प्रदेश, नगरकै पूर्वजनप्रतिनिधि एवं कर्मचारी र स्थानीयको साथ लिएर अघि बढेका छौं’, केसीले भने ।


२० वर्षसम्म कर्मचारीको भरमा काम गर्दाको अनुभव र जनप्रतिनिधि आएपछिको अवस्था बेग्लै भएको स्थानीयको बुझाइ छ । ‘हामीलाई आवश्यक भनेकै स्थानीय सरकार रहेको बल्ल बुझियो । मेरो घरअगाडि बाटोको समस्या थियो । कहाँ जाने, कसो गर्ने भन्ने हुन्थ्यो । नगरपालिकामा जाँदा कर्मचारीबाट समस्या समाधान हुँदैनथ्यो । तर, अहिले जनप्रतिनिधि आएपछि कुलो, बाटो, खानेपानीलगायतका सबै काम गर्न सजिलो भएको छ’, एक स्थानीय भन्छन् । देवदहबासी जनप्रतिनिधि आएपछि र कर्मचारीले चलाएको स्थानीय निकायमा आकाश–जमिनको फरक रहेको औंल्याउँछन् ।


उमेरले ६० वर्ष छोएका झिल्लु चापागाईं स्याङ्जाबाट बसाइँ सरेर देवदह नगरपलिकामा आएका हुन् । उनी भन्छन्, ‘नगरपालिकाको नेतृत्व नगरप्रमुख हिरा केसीले सम्हालेपछि पहिलेदेखि अड्किएका काम भएका छन् । बाटोघाटो, खानेपानी, सिँचाइ तटबन्धलगायतका काम अहिले धमाधम हुँदै छन् । जनप्रतिनिधि आएपछि विकासले गति लिएको छ ।’


वडा नम्बर ७ का स्थानीय विजय चौधरी नगरमा विकास निर्माणका काम भए पनि देवदहमा ठूलो समस्या भनेको लालपुर्जाविहीन जग्गावाल रहेकाले निर्वाचनका बेला गरेको वाचा पूरा गर्नुपर्नेमा जोड दिन्छन् । ‘हामी यहाँका रैथाने हौं । लामो समयदेखि सुकुम्बासी छौं । जग्गाधनी पुर्जा पाएका छैनौं । अरु नगरले वितरण गरेका खबर आइरहेका छन् । हाम्रोमा अहिलेसम्म काम अघि बढेन’, चौधरी गुनासो गर्छन् । 


पाल्पाबाट देवदह बसाइँ आएका टकबहादुर घर्ती राजमार्गसँगै जोडिएको नगरपालिका भए पनि यहाँ सुकुम्बासीको समस्या ठूलो रहेको बताउँछन् । ‘सुकुम्बासी समस्या समाधानका लागि नगरप्रमुख–उपप्रमुखलाई ध्यान दिन आग्रह गरेका छौं । बास बनाएका छांै तर जग्गाधनी पुर्जाका  लागि नगरपालिका प्रतिनिधिले चासो दिनैपर्छ,’ घर्ती भन्छन् ।


देवदह नगरपालिका वडा–१ का हरि खनाल पहिलेको कर्मचारीतन्त्रले चलाएको स्थानीय तहभन्दा अहिले जनप्रतिनिधिको डाडुपन्यूले काम गरेको ठान्छन् । ‘नगरका समस्याबारे व्यक्तिगतभन्दा सामूहिक सौदाबाजी उपयुक्त हुन सक्छ । कुनै काम तत्काल गर्न सकिन्छ भने कुनैलाई नगरपालिकाले विनियोजन गरेको बजेट पुन अपुग हुन सक्छ । त्यसका लागि दीर्घकालीन योजना बुन्न नगरलाई नागरिकले सघाउ पुर्‍याउनुपर्छ’, खनाल भन्छन् ।


देवदहमा अहिले पनि ६५ प्रतिशत बस्ती अव्यवस्थित छ । जग्गा नापजाँच गर्न बजेट विनियोजन भएकाले यो वर्षबाट नापी अगाडि बढाइने नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ बताउँछिन् । ‘देवदहको मुख्य समस्या अहिले पनि अव्यवस्थित बसोबास नै हो । यसलाई दीर्घकालीन रुपमा समाधान खोज्ने काम भइरहेको छ’, गुरुङले भनिन् ।