close

सीपकाे कमालः गाउँका सबै महिला खेतीमा

सीपकाे कमालः गाउँका सबै महिला खेतीमा

Trulli
ADVERTISEMENT

मकवानपुर - महिलालाई स्वरोजगार बनाउन देशका सबै निकायले तालिम दिँदै आएका छन् । अधिकांश तालिमबाट महिलाले विषयगत ज्ञान मात्रै लिएका छन् । सरकारी निकायले महिलालाई सबल बनाउन दिँदै आएको तालिम कमै उपयोग भएको पाइन्छ ।


तर, मकवानपुरगढी गाउँपालिकाले दिएको एउटा तालिमले सिंगो गाउँकै महिलाको दैनिकी फेरिएको छ । श्रीमानको ज्याला मजदुर गरेर कमाएको पैसाले पेट पाल्दै आएका परिवार तालिम दिएपछि तरकारी उत्पादनदेखि सामूहिक नर्सरीसम्म जोडिएर स्वरोजगार भएका छन् ।


मकवानपुरगढी गाउँपालिकाको एउटा महिला समूहले सामूहिक वन नर्सरी चलाएर उदाहरणीय काम गरेको छ । मकवानपुरगढी–४ मनकामना चोकभन्ज्याङमा बन्दडाँडा कृषक समूह दर्ता गरी महिलाले नर्सरी चलाएका हुन् ।


समूहमा आबद्ध स्थानीय २६ महिलाको समूहले नर्सरीबाट बिरुवा उत्पादन गर्दै बिक्री पनि गरिरहेको छ । नर्सरीमा वनजन्य बिरुवा, घाँस र मौसमी तरकारीको बिरुवा उत्पादन गरिरहेको समूहकी अध्यक्ष जानुकामाया हमालले जानकारी दिइन् ।


गाउँपालिकाको कृषि विकास शाखाको सहयोगले २०७५ मा समूह दर्ता भएको हो । गाउँपालिकाले भन्ज्याङका महिलालाई करेला खेतीसम्बन्धी तालिम दिएको थियो । तालिमलाई व्यवहारमा उतार्न कृषि विकास शाखाको पहल सार्थक भएको छ ।


‘गाउँपालिकाको तालिम लिएपछि हामीले आफैं नर्सरी चलाउने र तरकारी खेती गरेर आम्दानी गर्ने अठोटले अघि बढेका हौं । अहिले दैनिक ३ सय रुपैयाँ कमाउन सक्ने भएका छौं’, समूहकी अध्यक्ष हमाल भन्छिन् ।


समूहिक वन नर्सरी मात्र होइन, समूहमै आबद्ध भएका महिलाहरूले व्यक्तिगत रुपमा तरकारी खेती पनि गर्दै आएका छन् । समूहमा आबद्ध २६ मध्ये करिब १२ देखि १४ जनासम्म महिलाले आफ्नो बारीमा तरकारी खेती गर्दै आएको समूहकी सचिव सरिता नेगीले बताइन् ।
 
मनकामनाका महिलालाई तरकारी खरिद गर्न हेटौंडा बजार आउनुपर्ने बाध्यता हटेको उनी सुनाउँछिन् । ‘तरकारी किनेर खानुपर्ने बाध्यता थियो । अब यहाँका महिलाले तरकारी किन्नकै लागि बजार गइराख्नु पर्दैन । धेरैले तरकारी खेती गर्दै आएका छ’, उनले भनिन् ।

 

अध्यक्ष हमालका अनुसार तरकारी खेती गर्दै आएका महिलाले दैनिक ३ सय रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उत्पादित तरकारी हेटौंडा बजारमा बिक्री हुने गरेको हमाल बताउँछिन् ।‘सबै बेरोजगार महिला अहिले स्वरोजगार भएका छन् । घर खर्च र बचत गर्न पुगेको छ । पुरुषको भरमा बस्नुपर्ने स्थिति छैन’, उनले सुनाइन् ।


नर्सरी र तरकारी खेतीको लागि पानीको भने दुःख छ । महिलाहरूले १ लाख ४० हजार रुपैयाँ लागतमा खोल्सीबाट मोटरको सहायताले बारीसम्म पानी ल्याई पुर्‍याएका छन् । समूहले सञ्चालनमा ल्याएको नर्सरीमा अमला, तेजपता, अशोक इपिलइपिललगायतका करिब ४० हजार वनजन्य बिरुवा रहेको हमालले बताइन् । उक्त बिरुवा प्रतिगोटा १० रुपैयाँले दरले बिक्री भइरहेको उनको भनाइ छ ।


समूहले हालसम्म करिब ६ बजार बराबरको बिरुवा बिक्री गरिसकेको छ । उत्पादित बिरुवा समूहका सदस्यलाई भने निःशुल्क दिइने हमालले बताइन् । नर्सरी रेखदेख गर्न १ महिलाले रोजगार पनि पाएकी छन् । रेखदेख गर्नेलाई वार्षिक ३० हजार र जग्गा भाडाबापत ३० हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता समूहलाई रहेको अध्यक्ष हमाल बताउँछिन् ।


समूहले बन्दडाँडामै १० कठ्ठा क्षेत्रफलमा अदुवा खेती पनि गरेको छ । करिब दुई महिनापछि अदुवा बिक्रीका लागि तयार हुने हमालले सुनाइन् । ‘नर्सरी मात्र होइन, आम्दानीका लागि समूहले अदुवा पनि लगाएको छ । आयस्रोत बढाउन हामी कृषिमा अझै योजना ल्याइरहेका छौं’, हमालले भनिन् । वन विभागले आर्थिक सहयोग गरेपछि महिलाहरूले गत आर्थिक वर्ष ०७६/७७ देखि नर्सरी चलाएका हुन् ।


गाउँपालिकाले महिलाहरूको मिहिनेत देखेर समूहलाई हाते ट्याक्टर, कोदो झार्ने थ्रेसर, घाँस काट्ने र मकै पिस्ने मेसिन दिएको छ । कृषिलाई यान्त्रिकीकरण गर्न गाउँपालिकाले मिहिनेती महिलालाई सहयोग गरेको गाउँपालिका कृषि अधिकृत चन्द्रकान्त चौधरीले बताए । गाउँपालिकाले कृषि उत्पादनमा लाग्ने कृषकलाई आर्थिकदेखि प्राविधिक सहयोग गर्दै आइरहेको उनले जानकारी दिए ।