close

३ वटै सरकार मिलेर बनाए सडक, हलेसी–रसुवाघाट खण्डमा गुड्यो गाडी

३ वटै सरकार मिलेर बनाए सडक, हलेसी–रसुवाघाट खण्डमा गुड्यो गाडी

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार–रसुवाघाट सडक निर्माण गरिएको छ । एक दशकअघि निर्माण सुरु गरिएको २७ किलोमिटर लम्बाई भएको सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा पूरा गरिएको हो ।


हलेसी तुवाचुङ नगरपालिकाबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिका जोड्ने सडक संघीय सरकारको ५० लाख, प्रदेश सरकारको ५५ लाख र नगरपालिकाको गरी करिब डेढ करोडमा निर्माण पुरा गरिएको हो ।


आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण सुरु गरिएको सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको आर्थिक लगानीमा पूरा गरेर यातायात सेवा सुरु गरिएको हो ।

 
हलेसी– धितुङ–भाटबेँसी–रेग्मीटार सडक गाईघाट–दिक्तेल सडक खण्डको रेग्मीटारमा जोडिएको छ । गाईघाट–दिक्तेल सडकमा जोडिने भएकाले सो सडकमार्फत उदयपुर हुँदै अन्यत्र जान आउनका लागि छोटो बाटो खुलेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।


 हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक बन्नुअघि हलेसीबाट महुरे–बुईपा–बिजयखर्क हुँदै रेग्मीटार पुग्ने घुमाउरो बाटो प्रयोग हुँदैआएको थियो । महुरे–बुईपा–बिजयखर्कभन्दा धितुङ–भाटबेँसी सडक झण्डै दोब्बरले छोटो पर्ने बताइएको छ ।

 
स्थानीय सरकार आउनुअघि हलेसीबाट धितुङको हात्ती आहालसम्मको ट्र्याक खोलिसकिएको थियो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटले हात्ती आहालबाट रेग्मीटारसम्मको बाँकी खण्डको काम पुरा गरिएको मेयर राईले बताए ।


सडक निर्माणका लागि तत्कालिन धितुङ गाबिसले प्रत्येक वर्ष बजेट बिनियोजन गर्दै आएको थियो । सो सडकलाई पुरा गर्न  नगरपालिकाले सुरुका वर्ष २७ लाख बजेट विनियोजन गरेको जनाएको छ ।


स्थानीय तह आएपछि नगरपालिकाले पनि हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडकलाई गौरवको योजनाको सूचीमा राखेको थियो । एक दशक बढी समय लगाएर निर्माण गरिएको सडक मेयर इवन राई र उपमेयर बिमला राईको उपस्थितिमा ९९ वर्षीय वृद्धा तुलसा बुढाथोकीले उद्घाटन गरेकी छन् ।

 
हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार–रसुवाघाट सडक निर्माण भएसँगै हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–रसुवाघाट यातायात सेवा सुरु गरिएको छ ।


दशैं तिहार नजिकिदै गर्दा हाललाई दैनिक दुर्छिमबाट रसुवाघाटका लागि बस छुट्ने यातायात व्यवसायीले बताएका छन् । फोक्सिङटारस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि हलेसीबाट सिधै गाईघाटसम्म यातायात सञ्चालन गर्ने बाटो खुल्ने छ ।


सडक बनाउँदा कुलोमा क्षति


हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक निर्माणका क्रममा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा सञ्चालित कुलोमा क्षति पुगेको छ ।


सडक निर्माणका क्रममा झरेको ढुंगामाटो खस्दा धितुङको कटहरेपट्टिको खेततिर जाने कुलो र राजापानी भाडबेँसीपट्टिको खेततिर जाने कुलोमा क्षति पुगेको हो ।


सडक खन्नेक्रममा पल्टिएको ढुंगामाटोले कुलो भत्किइएपछि भाडबेँसीपट्टीको खेत बाँझिएको छ । कुलोमा क्षति पुग्दा कटहरेपट्टीको खेत पनि बाँझिने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।


यद्यपी कटहरेपट्टीको खेततिर जाने कुलो मर्मत गरिसकिएको मेयर राईले बताए । नगरपालिकाका अनुसार भाडबेँसीपट्टीको खेततिर जाने कुलो पनि मर्मतको तयारी गरिएको छ ।