close

कुन विद्यालयले पाउला एक लाख पुरस्कार ? कुन शिक्षकका हात पर्ला ३० हजार ?

कुन विद्यालयले पाउला एक लाख पुरस्कार ? कुन शिक्षकका हात पर्ला ३० हजार ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ -  माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जिल्ला प्रथम भएमा सिदिङ्वा गाउँपालिकाका विद्यालयलाई गाउँपालिकाले जनही नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । 


गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत नै यो नीतिगत व्यवस्था गर्दै एसईई परीक्षामा जिल्ला प्रथम हुने विद्यालयलाई एक लाख रुपैैयाँ प्रोत्साहन रकम दिने भएको छ । गाउँपालिकाले आधारभूत तह कक्षा ८ र एसईई परीक्षामा गाउँपालिका प्रथम हुने एक÷एक जना छात्र-छात्रालाई जनही २५ हजार रुपैँयाका दरले पुरस्कृत गर्नेछ । 


गाउँपालिकाले पठनपाठनमा मिहिनेत गराउने, गुणस्तरीय सिकाइलाई ध्यान दिने र गाउँपालिकाको शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण योगदान दिने पालिकाभित्र कार्यरत एक जना शिक्षकलाई वर्ष उत्कृष्ट शिक्षक घोषणा गरी नगद ३० हजार रुपैयाँका साथ सम्मानसमेत गर्ने भएको छ । 


गाउँपालिकाले कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थतिलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी पठपाठन गर्ने-गराउने व्यवस्थाको सहजीकरण गरिरहेको जनाएको छ । शिक्षा क्षेत्रमा विनियोजन भएको सशर्त तथा समानीकरण अनुदानको बजेट कन्टिजेन्सी कट्टा नगरी सम्पूर्ण आर्थिक दायित्व तथा जिम्मेवारी सम्वन्धित विद्यालयमा नै रहने गरी विद्यालयको खातामा सोझै अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले जानकारी दिए ।


गाउँपालिकाले पालिकाभित्रका विद्यालयको कक्षाकोठा, शौचालय, खेलमैदान र सपोर्टवाललगायतका अन्य भौतिक संरचनालाई विशेष प्राथमिकताका साथ पूरा गर्ने भएको छ । विद्यालयमा कार्यरत बाल शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न सकेमा बालबालिकाहरूमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने ठहर गाउँपालिकाले गरेको छ । 

 

त्यसका लागि बालमैत्री शिक्षण सिकाइसहितका दक्षता विकास तालिममा बाल शिक्षकहरूलाई बढीभन्दा बढी सहभागिताको अवसर सिर्जना गरिने गाउँपालिकाले जनाएको छ ।