close

वणिक मण्डलबाट जन्मिएको चेम्बरको ७ दशक

वणिक मण्डलबाट जन्मिएको चेम्बरको ७ दशक

Trulli
ADVERTISEMENT

काठमाडौं-  नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन नेपाल चेम्बर अफ कमर्स ७० पुगेको छ । २००७ मा स्थापित नेपाल चेम्बर अफ कमर्सले २०१२ मा उद्योग र वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।


चेम्बर स्थापनादेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ । चेम्बरले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गर्दै आएको बताएको छ ।


साथै, चेम्बर आन्दोलनलाई अभियानको रुपमा  विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि विभिन्न गतिविधि गरिँदै आएको उसको भनाइ छ । निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको चेम्बरले हाल प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघलगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघको प्रतिनिधित्व गर्छ ।

 


रजिस्टर्ड फर्म, व्यापार र उद्योग क्षेत्रका संघसंस्था, द्विपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आबद्ध छन् । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरिसकेको छ ।


२००७ मा वणिक मण्डल गठन भई चेम्बरको पहिलो सुरुआत भएको थियो भने २७ असोज २००९ मा अखिल नेपाल व्यापार संघको नामबाट दर्ता भएको थियो ।


२०१० कात्तिकमा प्रथम साधारणसभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स कायम गरेको थियो । चेम्बरले पहिलो पटक २०१२ तथा २०१६ मा क्रमशः मित्रराष्ट्र चीनका प्रधानमन्त्री  चाउ एन लाई तथा भारतका प्रधानमन्त्री  जवाहरलाल नेहरूको सम्मानमा स्वागत समारोह आयोजना गर्ने अवसरसमेत पाएको थियो ।


चेम्बर १९ जेठ २०१९ मा राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत राष्ट्रिय निर्देशन मन्त्रालयमा व्यावसायिक संगठनको रुपमा सोही नाममा दर्ता भएको हो । यस्तै, चेम्बरकै पहलमा २०२२ मा उद्योग वाणिज्य संघ (हाल नेपाल उद्योग वाणिज्य महासंघ) स्थापना भएको थियो ।


हाल नेपाल चेम्बर अफ कमर्सको संघीय प्रणालीबमोजिम महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आबद्ध संघ तथा द्विराष्ट्रिय संघसंस्थासम्म सदस्य विस्तार भएका छन् । ७ वटै प्रदेश, ६७ जिल्ला र ४६ वटा नगर चेम्बर गठन भइसकेको छ ।